के हुन्छ यो वर्षको शैक्षिक सत्र ?

हिमाल खबर

काठमाडौं

नुनुता राई

गएको ११ चैतमा बन्दाबन्दी घोषणा नभएको भए नयाँ शैक्षिक सत्र शुरू भएको साढे तीन महीना भइसक्थ्यो। अहिले शिक्षण संस्थाहरूले विभिन्न पद्घतिबाट विद्यार्थीलाई सिकाइसँग जोडिरहे पनि त्यसलाई शैक्षिक सत्र कायम नगर्न सरकारले निर्देशन दिएको छ।

एउटा शैक्षिक सत्रमा न्यूनतम १८० दिन अर्थात् एक हजार घन्टा पढाउनुपर्छ। सामान्यतयाः वैशाखदेखि शुरू भएर चैतमा शैक्षिक सत्र सकिन्छ। सार्वजनिक विदा, साप्ताहिक विदाबाहेक करीब २०० दिन विद्यालय सञ्चालन हुन्छन्। त्यसमा खेलकुद र अतिरिक्त क्रियाकलाप पनि समावेश हुन्छ।

शिक्षकहरूले अहिले भइरहेको सिकाइलाई खेर जान नदिन शैक्षिक सत्रमा राख्न माग गरेका छन्। अन्यथा सार्वजनिक र साप्ताहिक विदाका कारण शैक्षिक सत्रका लागि एक हजार घन्टा पूरा हुँदैन। सरकारका प्रवक्ता, अर्थ र सञ्चार तथा सूचनाप्रविधि मन्त्री युवराज खतिवडाले भर्ना शुरू हुनुअघि नै मन्त्रिपरिषद्को बैठक बसी नयाँ शैक्षिक सत्रबारे निर्णय गर्ने बताएका छन्।

प्रकाशित मिति: : 2020-07-31 11:05:57

प्रतिकृया दिनुहोस्