केरलाको कोझिकोडमा एयर इन्डियाको विमान दुर्घटना, पाइलटसहित ३ जनाकाे मृत्यु

एयर इन्डियाको एक विमान केरलाको कोझिकोड विमानस्थलमा चिप्लिएको छ। दुर्घटनामा पाइलटसहित ३ जनाको मृत्यु भएको छ। 

विमानस्थल अधिकारीहरुका अनुसार दुबईबाट करीपुर एयरपोर्ट आउँदै गरेको एयर इन्डिया एक्सप्रेसको फ्लाइट नम्बर आईएक्स १३४४ विमान रनवेमा ओभरट्याक गर्नेक्रममा दुर्घटना हो। भारी वर्षाका कारण विमान चिप्लिएकाे प्रारम्भिक अनुसन्धानले देखाएकाे छ।

चिप्लिएपछि विमान ध्वस्त भएर करिव ३० फिटकाे खाल्डोमा खसेको बताइएको छ।

विमानको अगाडि भागमा ठूलो क्षति भएको छ। एयरलाइन्सको अनुसार दुई जना पाइलटगायत ७ जना चालक दलका सदस्यहरू उडानमा थिए। यो विमानमा १७४ यात्री सवार थिए। जसमा १२८ पुरुष, ४६ महिला र १० बालबालिका थिए।

विमान दुर्घटनामा परी घाइते भएका धेरै यात्रुलाई बाहिर निकालिएको छ। गम्भिर घाइते भएका  ३० जनालाई स्थानिय अस्पतालमा भर्ना गरिएकाे छ। दुर्घटनाकाे पूर्ण विवरण नआसकेकाले मृतककाे संख्या बढ्ने अनुमान गरिएकाे छ।

भारतीय गृहमन्त्री अमित शाहले घटनाले आफूलाई विछिप्त बनाएकाे बताएका छन्। उनले घाइतेहरुकाे उपचारमा कुनै कमि हुन नदिन आदेश दिएका छन्। यस्तै उनले घटनाको विस्तृत छानबिन गर्न आदेश पनि दिएका छन्।

प्रकाशित मिति: : 2020-08-07 21:58:20

प्रतिकृया दिनुहोस्