पार्टी फुट्दैन, फुटाउन चाहने आफैँ सकिन्छन् : पूर्वमन्त्री तामाङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले अहिले चलिरहेको बहसले पार्टी नफुट्ने बताएका छन् । सिन्धुपाल्चोक चौतारामा आज आयोजित कार्यक्रममा उनले पार्टीभित्रको विवादका विषयमा छलफल र बहस भइरहेको छ, यस्तो बहस हुँदैमा पार्टी विभाजन भइहाल्छ भन्ने प्रचार गर्नु गलत हो भने ।

“कम्युनिष्ट पार्टीको एकता भङ्ग गराउन अन्यत्रबाट षड्यन्त्र भइरहेको छ, त्यो सफल हुँदैन”, उनले भने, “पार्टी एकता विभाजन गराउन खोज्नेहरू आफैँ सकिन्छन् ।” कार्यक्रममा नेपाली काँग्रेस र राप्रपा नेपाल परित्याग गरी जिल्लाका दुई स्थानीय तहका करीब ७० स्थानीय नेताकार्यकर्ताले नेकपा प्रवेश गरेको घोषणा गरेका छन् ।

 नेकपा जिल्ला पार्टी कार्यालयमा इन्द्रावती गाउँपालिका–३ का पञ्चलाल तामाङसहित झण्डै ३५  स्थानीय नेताकार्यकर्ता नेकपा प्रवेश गरेका हुन् । 

नवप्रवेशीलाई नेकपा केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा, सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं २ का सांसद  तामाङ, वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल र नेकपा जिल्ला अध्यक्ष झम्क नेपालले स्वागत गरेका थिए ।

त्यस्तै आज नै बलेफी–८ कागुनेमा पनि स्थानीयवासी राजेश तामाङ र इन्द्र श्रेष्ठको नेतृत्वमा करीब ५०  युवा नेकपा प्रवेश गरेको बलेफी–८ का अध्यक्ष चरीबहादुर तामाङले जानकारी दिए ।

नवप्रवेशीलाई बलेफी गाउँपालिका अध्यक्ष तथा नेकपा प्रदेश कमिटी सदस्य केदार क्षेत्री, नेकपा बाह्रबीसेका अध्यक्ष ज्ञानेन्द्र राउत, जिल्ला कमिटी सदस्य प्रदीप पौडेल, कार्केल लामा र बलेफी–८ का अध्यक्ष तथा पालिका कार्यालय कमिटीका तामाङले स्वागत गरे । रासस

प्रकाशित मिति: : 2020-08-08 23:45:47

प्रतिकृया दिनुहोस्