‘ज्यूँदो हुँदा अस्पतालले भर्ना नगर्ने, मरेपछि स्वाव संकलन गर्न शव चाहिने?’

वीरगञ्जमा एक युवकको कोरोना परीक्षण बिना शव व्यवस्थापन गरिएको छ।

वीरगञ्ज रामटोल ७ निवासी १७ वर्षीय अनिसकुमार गुप्ताको स्वास्थ्यमा अचानक गडबडी आएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएकाे थियाे।  

वीरगञ्ज पब्लिक कलेजमा कक्षा ११ मा अध्ययनरत गुप्तामा कोरोनाको कुनै लक्षण थिएन। उनको अचानक श्वासप्रश्वासमा समस्या आएपछि नारायणीदेखि अन्य निजी अस्पतालमा भर्ना गराउन लैजाँदा कोरोनो भाइरसको डरले लिन नमानेको मृतकका छिमेकीहरु बताउँछन्।

अस्पतालहरुको लापरवाहीले अकालमै ज्यान गुमेको भन्दै मृतकका आफन्तजन तथा टोलवासीले प्रहरी प्रशासनलाई चुनौती दिँदै शनिबार साँझ सामाजिक दुरी कायमै नगरि सामुहिक रुपमा गुप्ताको अन्तिम संस्कार गरेका छन्।

गुप्ताको स्वास्थ्यमा समस्या भएपछि उनलाई शुरुमा नारायणी अस्पताल लगिएको थियो। तर पछि नेशनल मेडिकल कलेज रेफर गरिएको थियाे। उनलाई लैजाँदै गर्दाबीच बाटोमै ज्यान गएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुले बताए।

तर, परिवाजनले भने यहाँका कुनै अस्पतालले भर्ना गर्न नमानेकै कारण उनकाे मृत्यु भएकाे आरोप लगाएका छन्। 

यता चिकित्सकहरुले भने वीरगञ्जमा बढेको कोरोनाको त्रासका कारण उनको ह्दयघातबाट मृत्यु भएको हुन सक्ने बताएका छन्। कोरोना भए/नभएको परीक्षण नगरि शव व्यवस्थापन गर्न नमिल्ने उनीहरुले मृतकका परिवारलाई सूचना दिएका थिए।

तर मृतकका परिवारले ‘ज्यूँदो हुँदा अस्पतालले भर्ना नगर्ने र मरेपछि स्वाव संकलन गर्न प्रहरीलाई शव चहियो’ भन्दै परीक्षण नगरि शव व्यवस्थापन गरेका छन्।

उनीहरुले पर्साका प्रहरी प्रशासनको लाचारीपनको विरोध गर्दै सामुहिक रुपमा अन्तिम संस्कार गरिसकेकाे जानकारी दिए।

यो पनि

प्रकाशित मिति: : 2020-08-09 15:56:49

प्रतिकृया दिनुहोस्