बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, जुन नेपालमा पर्छ: भारतीय विदेश मन्त्रालय

भारतीय विदेश मन्त्रालयले गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको प्रष्ट पारेको छ। 

मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तावले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, 'बुद्ध लुम्बिनीमा जन्मिएका हुन् भन्नेमा कुनै शंका छैन, जुन नेपालमा पर्छ ।'

शनिबार भारतीय विदेश मन्त्री एस. जयशंकरले नयाँ दिल्लीमा भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इन्डिया इन्डष्ट्रिद्धारा आयोजित इन्डिया एट ७६ भर्चुअल सम्मेलनमा सम्बोधन गर्ने क्रममा संसारले सम्झिने दुई महान् भारतीयमा गौतम बुद्ध र महात्मा गान्धी रहेको बताएका थिए।

 उनले यो कार्यक्रममा दिएको अभिव्यक्तिबारे मिडियाबाट राखिएका जिज्ञासाको जवाफ भनेर जारी गरिएको विज्ञप्तिमा विदेशमन्त्री जयशंकरले नेपाल र भारतबीच रहेको संयुक्त बौद्ध परम्परा र सम्पदालाई इंगित गरेको प्रष्टीकरण पनि दिए।

परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै बुद्ध नेपालमा जन्मिएकोमा कुनै दुविधा नभएको र यसको यथेष्ट प्रमाण पनि भएको बताएको थियो ।

मन्त्रलायले गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै कुनै विवाद र बहसको विषय नभएको पनि बताएको छ।

प्रकाशित मिति: : 2020-08-09 19:02:17

प्रतिकृया दिनुहोस्