पर्सामा लगाइएका दुई जातका धानबालीकाे गाभा सुक्न थाल्याे

वर्षेवाली धानमा विभिन्न रोगको प्रकोप बढेपछि पर्साका किसानहरु चिन्तित भएका छन्। ग्रामीण भेगमा लगाइएका दुई जातका धानबालीमा रोग देखा परेको छ।

१ सय १० दिनमा तयार हुने सोना सारो, भदैया मंसुली, लगायतका भदैया जातका धानको बाला निस्किने बेला गान्ही किरा (अमिरकन फौजी किरा) तथा गाभा सुक्ने रोग लागेको छ।

अहिले बाला काट्ने समयमा गान्ही किराले दान लाग्ने दुध खाने हुँदा उत्पादनमा निकै ह्रास आउने चिन्ता रहेका जिराभवानी गाउँपालिका २ सेढवाका किसान जयद्रत चौधरीले बताए।

‘धानमा गाभा सुक्ने रोगबाट छुटकारा पाउन दुईपल्ट किटनाशक औषधी छर्की सकेँ तर नियन्त्रणमा आउन सकेको छैन, ‘उनले भने । 

अहिले यो रोगबाट ठोरी, जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी लगाउतका गाउँपालिकाका किसानहरु हैरान भएका छन । त्यस्तै सोना मंसुली अर्थात अगहनी जातको धानबालीमा सरलहवा (ब्लाष्ट) रोग लागेको छ।

जगरनाथपुर गाउँपालिकाका कृषि संयोजक शत्रुघन चौरसियाले फन्गल किटाणुले बिरुवाको जरालाई खाने गर्दा कुहिने गरेको बताए ।

यता ठोरी गाउँपालिकाका कृषि संयोजक कृष्ण कार्कीले किराले गाभाको सतहमा गएर फूल पार्ने सोही फूल लार्भामा परिवर्तन भई गाभालाई खाने गर्दा गाभा सुक्ने गरेको बताए ।

उनले यसका लागि साप्ताहिक रुपले किटनाशक औषथी छर्नुपर्ने बताए।

‘किसानहरुलाई किटनाशक औषथी बाड्ने योजना राखे पनि निषेधाज्ञाका कारण सफल हुन सकेका छैनौं। रोग नियन्त्रणका लागि जनस्तरबाट प्रयास भइरहेको छ। पालिकाले प्रबिधिक सल्लाह दिइरहेको पनि छ,’ संयोजक कार्कीले भने ।
 

प्रकाशित मिति: : 2020-08-12 14:29:23

प्रतिकृया दिनुहोस्