ब्यांक तथा वित्तीय संस्थामा आलोपालो लागू गर्न निर्देशन

नेपाल राष्ट्र ब्यांकले ५० प्रतिशत मात्र कर्मचारी कार्यालयमा उपस्थित हुनेगरी आलोपालो प्रणाली लागू गर्न ब्यांक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

राष्ट्र ब्यांकले बिहीबार सम्पूर्ण ब्यांक तथा वित्तीय संस्थालाई सूचना जारी गर्दै सम्भव भएसम्म विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न र कार्यालयमैं उपस्थित हुनुपर्ने अवस्थामा कुल मध्ये आधा कर्मचारीले मात्र काम गर्ने वातावरण बनाउन निर्देशन दिएको हो। बाँकी कर्मचारीलाई घरैबाट काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

ब्यांक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी र तथा सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी न्यूनतम ब्यांकिङ सेवा प्रदान गर्न यस्तो निर्देशन जारी गरिएको केन्द्रीय ब्यांकले जनाएको छ।

राष्ट्र ब्यांकले कर्मचारीलाई आवश्यक परेमा आइसोलेसनमा राख्न र सो को सम्पूर्ण खर्च ब्यांक तथा वित्तीय संस्थाले नै बेहोर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ। समुदायस्तरमा कोरोना फैलिएर महामारीको विशेष अवस्था आउनसक्ने सम्भावना हेर्दै केन्द्रीय ब्यांकले सम्पूर्ण ब्यांक तथा वित्तीय संस्थासँग अत्यावश्यकीय सेवा सुचारु राख्न विस्तृत कार्ययोजनासहितको विशेष अवस्थाको योजना पनि माग गरेको छ।

मन्त्रिपरिषद्को २६ साउनको बैठकले कोरोना भाइरस फैलिएका जिल्लामा रहेका सम्पूर्ण कार्यालयले आधा कर्मचारीले मात्र काम गर्ने गरी व्यवस्था मिलाउन निर्देशन दिएको थियो।

प्रकाशित मिति: : 2020-08-13 19:17:43

प्रतिकृया दिनुहोस्