अभावै अभावबाट उदाउदै गरेका एक सिद्धहस्त

चित्र कोर्दै, पढ्दै [फोटो फिचर]

Breaknlinks
Breaknlinks

न त राम्रो जग्गा जमिन। न त गाउँमै गरि खाने अरु विकल्प।

शहरमा काम खोजेर परिवार पाल्न साविक खुमेल गाविस ९ खेवासेबाट सदरमुकाम झरे, नरेन्द्रको परिवार।

नरेन्द्र सानै थिए। दुई छाक खानकै लागि बुबाआमाले गर्दै आएको संघर्ष उनको बालापनले वुझ्ने कुरै भएन। यस्तै दुखै-दुखमा हुर्किए उनी।

नरेन्द्र विक अर्थात रोल्पाका नवोदित सिद्धहस्त कलाकार। गरिब दलित परिवारबाट उदाउदै गरेका उनलाई सानैदेखि चित्र बनाउने, साईनवोर्ड लेख्ने चासो थियो। उनले फुर्सद भयो कि चित्र कोरीहाल्थे। घरमा होस् या कक्षा कोठामा, फुर्सद भयो कि चित्रमा ध्यान जान्थ्यो।

उनलाई एसईइ परिक्षाको तयारीका लागी ५ महिने होस्टेल बसाई कोसेढुंगा भयो। होस्टेल बसाईमा सबै समय पढाईमा लगाउनु पर्ने अर्थात् घरमा जस्तो घरायसी काम गर्नुपर्ने कुरा भएन। पढेर बचेको समय उनले कलालाई परिस्कृत गर्न सदुपयोग गरे।

साथीहरुलाई बीचमा राखेर उनीहरुको चित्र कोर्थे। आफ्नो दुरुस्त फोटो उतारेकोमा साथीहरुले हौसला दिन्थे। हुनेखानेहरुले त नरेन्द्रले तयार गरेका आफ्ना फोटा किन्ने पनि गर्थे।

साथीहरुको हौसलाले उनलाई थप उर्जा मिल्दै गयो। एसईइ परिक्षासँगै उनको पाँच महिने होस्टेल बसाई सकियो। परिक्षाको रिजल्ट नआउँदासम्म उनी फुर्सद भए। उनका अधिकांश समकक्षीहरु 'ब्रिजकोर्ष' पढ्न काठमाण्डौ, पोखरा जस्ता ठूल्ठूला शहरमा गए पनि उनलाई घरको आर्थिक अवस्थाले त्यसो गर्न दिएन।

उनले फुर्सदको सदुपयोग गर्दै आफ्नो कलालाई थप तिखार्ने सोच बनाए। रोल्पाका सिद्धहस्त र प्रतिष्ठित कलाकार रामचन्द्र श्रेष्ठसंँग थप सीप सिक्न गुरुकोमा गए।

'गुरुले मेरो कलाप्रतिको तृष्णालाई बुझ्नुभएछ,अनुरोध स्वीकार्नु भयो', नरेन्द्र भन्छन्। गुरु रामचन्द्रबाट आफूले धेरै कुरा सिकेको नरेन्द्रको भनाई छ। 'गुरुको कलासाधनाले मलाई थप आकर्षित गर्‍यो', नरेन्द्रले भने।

चित्रकलामा चासो भएका नरेन्द्रले गुरु रामचन्द्रबाट साईनवोर्ड लेखन, व्यानर  लेखन र भित्ते लेखनको समेत सीप सिके। धेरै काम कोठामै बसेर गरे पनि कहिलेकाहीँ भित्तेलेखन गर्नुपर्दा भने बाहिरै जानुपर्छ।

कला मात्र हैन पढाई पनि साथसाथै लैजाने चूनौती छ, उनलाई। दुखजीलो गरेर छोरालाई ठूलो मान्छे बनाउने बुबाआमाको सदिच्छा पुरा गर्नुछ, उनलाई।

त्यसो त उनको छिमेकमा एसएलसीभन्दा माथि पढेकाहरु पाउनै मुस्किल छ। ७/८ कक्षा पढ्यो, ईन्डिया वा खाडी गयो। यस्तै वातावरणमा हुर्के  पनि नरेन्द्रमा भने पढ्नुपर्छ भन्ने भावना सानैदेखि गढेको थियो।

त्यसैले सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माविमा कक्षा ११ मा पढ्छन्, उनी।

कलासाधनामा लागेका नरेन्द्रलाई विज्ञान वा ईन्जिनियरिङ पढ्ने धोको नभएको हैन। त्यसका लागि उनले एसइइमा आवश्यक अंक पनि ल्याए तर कला नै उनको पहिलो रोजाई। साथसाथै ती विषय पढ्दा घरको आर्थिक अवस्थाले नभ्याउने, त्यसैले 'आट्स' रोजे उनले।

बिहान कलेज जाने, दिउँसो कलासाधनामा लाग्ने। यसैगरि दैनिकी बित्ने गर्छ, उनको।

ज्याला-मजदुरी गरेको पैसाले घरभाडा तिर्नु, साँझ-बिहानको खाना जोहो गर्नु नरेन्द्रका बुबाआमाका लागि ठूलै चूनौती रहेकाबेला छोरालाई कापी-कलम, झोला, विद्यालय पोशाक तथा खाजाका लागि पैसा जुटाईदिनु कम्ती चूनौती थिएन।

नरेन्द्रले तल्ला कक्षाहरु जसोतसो पार गरे। एसइइपछिको पढाई झन् खर्चिलो भए पनि उनी अब आफ्नै कमाईले ती समस्या हल गर्न सक्ने भएका छन्। 'व्यानर, साईनवोर्ड तथा वालपेन्टीङको काम आईरहन्छन्, त्यसैबाट आउने पैसाले अध्ययन गर्न सहज भएको छ,' नरेन्द्रले भने।

विद्यालयहरुको शिशु कक्षाको भित्तामा लेखिने चित्रले पनि उनको कलालाई प्रवर्धन गर्न सहयोग गरेको छ। उनले ती भित्तामा आफ्नो चित्रकला उपयोग गरेका छन्।

कलासाधनाको छोटाे समयमै उनले त्यस क्षेत्रका केही समस्यासमेत अनुभूती गरेका छन्। पछिल्लो पटक भित्रिएको डिजिटल प्रिन्टले हस्तलेखनलाई विस्थापन गरेकोमा उनी चिन्तित छन्। छिटो र सस्तोको नाममा अहिले डिजिटल प्लेक्स प्रीन्टले हस्तकलालाई विस्थापित गर्दा नेपालको कलासंस्कृतीको संरक्षण नहुने हो कि भन्ने चिन्ता छ, उनलाई।

'डिजिटल फलेक्स प्रीन्टको प्रयोग पर्यावरणीय हिसाबले पनि वातावरणमैत्री छैन,' नरेन्द्रले भने। 'सरकारी कार्यालयहरुले प्रयोग गर्ने व्यानरहरु हस्तलिखित व्यानर प्रयोग गर्न सके मात्रै पनि वातावरण संरक्षणमा टेवा पुग्ने मात्र नभई नेपालको  मौलिकता जोगाउन सकिन्थ्यो' नरेन्द्रकाे भनाइ छ।

प्रकाशित मिति: : 2021-06-18 11:09:00

प्रतिकृया दिनुहोस्

ट्रेन्डिङ