नेपाल सरकारलाई उदाहरण बन्न सक्छ युएईको कोभिड–१९ विरूद्ध लडाइँ

खाडीको शक्तिशाली मानिएको देश संयुक्त अरब इमिरेट्स (युएई) ले विश्व समुदायका लागि टाउको दुखाई बनिरहेको कोरोनाविरूद्धको लडाईमा कसरी सफलता प्राप्त गर्‍यो? यो सबै देशका लागि उदाहरणको विषय बन्न थालेको छ। 

यसमा पनि नेपालमा बढ्दो कोरोनाको प्रभावका बीच युएईको मोडल प्रभावकारी बन्ने देखिन्छ। युएईमा १ लाख २५ हजारभन्दा बढी नेपाली विभिन्न रोजगारीमा सक्रिय छन्। अरबका अन्य देशको तुलनामा स्वतन्त्रता भएका कारण नेपाली कामदारका लागि युएई जहिले पनि आकर्षणको केन्द्र बन्दै आइरहेको छ। 

यो देशले पछिल्लो केही महिनायता कोरोनालाई नियन्त्रणमा राख्न सफल भएको छ। युएईमा हाल ९८ लाख ९ हजार मानिस बसोबास गर्छन। यो देशमा कोरोनाको पहिलो संक्रमण २९ जनवरीमा देखिएको थियो। कोरोनाको पहिलो संक्रमण देखिने वित्तिकै सावधानी अपनाएको युएईमा ९० प्रतिशत व्यक्तिले स्वास्थ्य लाभ गरिसकेका छन्। यो आफैमा लोभलाग्दो तथ्यांक हो। 

युएई विश्वभरिका मानिसहरूका लागि लोभलाग्दो पर्यटकीय क्षेत्र पनि हो। यहाँ वर्षमा करौडौंको संख्यामा मानिसहरू घुम्न आउँछन्। यस्तै, विदेशबाट व्यापार गर्न बसेका मानिसहरूको उपस्थिति पनि बाक्लो छ। यस्तो अवस्थामा कोरोनाको जोखिम अन्य देशको तुलनामा युएईमा ठूलो थियो। तर, युएई सरकारले कोरोनाले महामारीको रूप लिनुअघि नै सावधानी अपनायो। यसै कारण अहिले यहाँ बसोबास गरिरहेका मानिसहरू आफूलाई सुरक्षित मान्छन्। 

सरकारले अहिलेसम्म ५७ लाख ७० हजार मानिसमा कोरोना परीक्षण गराइसकेको छ। यसको अर्थ युएई सरकारले हरेक दोस्रो व्यक्तिमा कारोनाको परीक्षण गरिसकेको छ। 

सरकारले कोरोनाको प्रभाव बढ्ने आशंकाका बीच पहिले नै ‘लकडाउन’ गरेको थियो। राती कर्फ्युको आदेश पनि दिएको थियो।

यस्तै, विदेशी उडानमा रोक लगाउनुका साथै स्कुल र कलेज बन्द गर्ने नीति अगाडि सार्दै अन–लाइन कक्षालाई सुचारु गरेको थियो। सार्वजनिक स्थानलाई सेनिटाइज गराउनेदेखि सार्वजनिक सूचनालाई व्यापक बनाउने काम पनि सरकारले गरेको थियो। 

युएईमा हालसम्म ६३ हजारभन्दा बढी संक्रमित फेला परेका छन्, जसमा ३ सय ५८ जनाको निधन भएको छ। 

युएई मध्यपूर्वमा पर्छ। यो क्षेत्रमा सबैभन्दा बढी संक्रमण इरानमा फैलिएको छ। तर, युएईले ८ करोड ३८ लाख जनसंख्या भएको आफूभन्दा ठूलो देशको तुलनामा सबैभन्दा बढी कोरोनाको परीक्षण गराएको छ। इरानमा हालसम्म २७ लाख ८८ हजार मानिसमा मात्र परीक्षण भएको सरकारी तथ्यांकले बताउँछ। 

युएईले कोरोनाबाट आफ्नो देश सुरक्षित रहेका सन्देश विश्व समुदायलाई दिन पर्यटन क्षेत्र खुला गरिसकेको छ। कोरोनाको रिपोर्ट नेगेटिभ आएका मानिसहरू देशको कुनै पनि ठाउँमा बिना रोकटोक घुम्न सक्छन्। सरकारले १ सय ५० वटा होटललाई कोभिडबाट सुरक्षित स्थानको दर्जा दिइसकेको छ। 

यहाँको एयरलाइन्सले आफ्नो विमानद्धारा यात्रा गर्ने कुनै व्यक्तिलाई कोरोना संक्रमण देखिएको खण्डमा निःशुल्क उपचार गर्ने घोषणा गरिसकेको छ। अन्य देशले विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रम धमाधम स्थगित गरिरहेको बेला सरकारले यही नोभेम्बरमा दुबईमा ‘सिटी स्क्याप ग्लोबल प्रोपर्टी’ सोको आयोजना गर्दैछ। युएईमा पर्यटन क्षेत्रको जीडीपीमा ११ दशमलव १ प्रतिशत योगदान छ। तर, कोरोनाका कारण यस देशले ठूलो घाटा बेहोर्नु परेको थियो। यस वर्ष सरकारले २ करोड पर्यटक आफ्नो देश आउने अनुमान गरेको थियो। 

तर, पर्यटनलाई पुनः लिकमा फर्काउन अगाडि नै भिषा लागेका २ लाख विदेशीलाई घुम्न आउन दिने भइसकेको छ।

प्रकाशित मिति: : 2020-08-14 11:47:00

प्रतिकृया दिनुहोस्