म सभ्य मान्छे

म कस्तो मान्छे
नसोध मलाई 
म तिमीभन्दा धेरै सभ्य मान्छे।
म मेरा गल्ती लुकाउन 
सिपालु मान्छे
तिम्रा गल्ती देखाउन खप्पीस 
हो तिमी भन्दा म सभ्य मान्छे।
तिमी मंदिर पस्दा 
म खिसी गर्ने मान्छे
म संधै डिस्को छिर्ने मान्छे
देख्यौ! म कति सभ्य मान्छे।
तिमी नांगो पाउ लिई
हातमा ठेला उठाई 
शरीर भर पसीनाको गन्ध बोकी
खेतीपाती गर्ने मान्छे
म शहरको आलीशान महलमा 
अत्तर वास्नामा सजिएर
तिम्रा हर एक उब्जनीको
मोल तोक्ने म सभ्य मान्छे।
तिमी कुनै बिहे भतेरमा
प्लेटभरी पस्केर सबै खाने मान्छे
म उही भतेरमा अलिकति पस्की 
जुठो मात्र पारेर
आधा खाना भुईमा छोड़ने मान्छे
देख्यौ म कति सभ्य मान्छे।


प्रेम नेउपाने प्रहर 
रुम्तेक सिक्किम

प्रकाशित मिति: : 2020-08-15 19:05:45

प्रतिकृया दिनुहोस्