मेलम्ची खानेपानी आयोजना–४

मेलम्ची खानेपानीले सडक संरचनामा क्षति, खर्चिलो मर्मत

काठमाडौं उपत्यकामा भत्किएका संरचनाको पुनः निर्माण भइरहेकाे छ। सडक डिभिजन कार्यालय काठमाडौंले आइतबारदेखि काठमाडौंका विभिन्न स्थानका सडक निर्माणको थालनी गरेको हो।

पछिल्लो समय राजधानीमा मेलम्चीको पानीले सडक भत्किएकोले नयाँ बानेश्वर, थापागाउँ, पुरानाे बानेश्वरलगायतका क्षेत्रमा मर्मतकाे काम गर्न थालिएकाे सडक विभागका सुपरिवेक्षक दिलभक्तले बताए।

मेलम्चीको पानी काठमाडौं ल्याउँदा राजधानीवासी खुसी भएपनि सडक विभागका कर्मचारीहरूले भने दुख पाएकाे उनी बताउँछन्।

‘सिन्धुपाल्चोकको पानी काठमाडौं आइपुग्दा सबैजना खुसी छन् तर हामीहरूले दुख खेप्नुपरिरहेकाे छ’, बिएल नेपाली सेवासंग उनले भने, ‘मेलम्चीको पानी पिउन पाउँदा धेरै जना खुसी छन्, त्यसैले हामी पनि त्यही कुरामा रमाइरहेका छाैँ।’

मेलम्चीकाे पानी ल्याएर राजधानीवासीकाे प्यास मेटाएपनि व्यवस्थित बनाउनुपर्ने उनकाे उनको भनाई छ। ‘मेलम्चीको पानी अव्यवस्थित बनाएर काठमाडाैं भित्र्याइयाे।’

‘जोखिमको काम हो, सडक निर्माण’

काठमाडाैं जस्ताे अत्यधिक सवारीकाे चाप रहने सडकमा काम गर्नु जाेखिमपूर्ण रहेकाे सडक विभागका सुपरिवेक्षक बताउँछन्।

‘काठमाडौंको सडक अस्तव्यस्त छन्, त्यसैले यहाँको सडक बनाउनु रिश्कीकाे काम हाे’, केही महिनाअघि बसले कर्मचारीलाई ठक्कर दिएको कुरा सम्झँदै उनले भने, ‘भत्किएकाे सडक बनाउन हाम्रा कर्मचारी काम गरिरहेका थिए, त्यसैबेला टाढाबाट नेपाल यातायात बस आएर ती कर्मचारीलाई ठक्कर दियाे। जसकारण उनकाे घटनास्थलमै निधन भयो।’

राजधानीकाे संरचनाले थेगेन मेलम्चीकाे खानेपानी

त्यसैगरी सडक निर्माण गरिरहेकाे समयमा सवारी साधनको ठक्करबाट आफ्नो विभागका पाँच जना कर्मचारी घाइते भएकाे उनले सुनाए। ‘अहिले ती सबै कर्मचारी बेट रेस्टमा बसिरहेका छन्’, उनले भने।

पाँच दशकदेखि सुपरिवेक्षक बनेर सडक विभागमा काम गरिरहेका दिलभक्त पछिल्लाे समय झनै व्यस्त भएको सुनाउँछन्। दिन प्रतिदिन भत्किरहेकाे सडक बनाउन व्यस्त हुनु परेकाे उनी बताउँछन्।

उनका अनुसार राजधानीमा मेलम्चीको पानी वितरण भएपछि कामकाे चाप पनि बढ्दै गएकाे हाे। ‘सडक बनाउनु हाम्राे कामै हाे तर दिनहुँ सडक भत्किनु राम्राे हाेइन’, उनले भने, ‘सडक भत्किन लागि समय लाग्दैन तर त्यसलाई मर्मत गर्न लामाे समय लाग्छ।’

सडक विभागकाे काम खाल्डो पुर्ने र माटो हाल्ने भएकाे सुनाउँदै उनले भने, ‘बिग्रिएकाे सडकलाई सोलिङ गरेर पिच गरेपछि सडक निर्माणकाे काम सकिन्छ, जसलाई पहिलेकै अवस्थामा ल्याउन ५ दिनै लाग्छ।’

किन भत्किरहन्छ काठमाडाैं उपत्यकाका सडक?

पछिल्लो समय काठमाडाैं उपत्यकामा सडक भत्किनुको कारण मेलम्ची खानेपानी आयोजना, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र विद्युत प्राधिकरण रहेको सडक विभागका प्रमुख इन्जिनियर नारायण प्रसाद निहुरे बताउँछन्।

‘मेलम्ची आयोजना र केयुकेएलले मेलम्चीको पानी व्यवस्थापनबिना नै राजधानी ल्याएको कारण सडक भत्कियो’, उनले भने, ‘त्यतिमात्र हाेइन, सडक बिग्रिनुकाे अर्काे कारण प्राधिकरण पनि हाे। बिजुली मर्मत गर्ने बहानामा प्राधिकरणले सडक खनेर बाटाे भत्काइदिन्छ।’

महंगो मेलम्ची खानेपानी आयोजना : खर्च कति?

त्यही तीनै कारणले गर्दा सडक भत्किएकाे प्रमुख निहुरेको भनाई छ। प्राधिकरणले बाटोकाे बिजुलीकाे काम गर्नका लागि सडक विभागसँग अनुमति मागे पनि बिनास्वीकृत सडक खन्दिने गरेकाे उनकाे गुनासाे छ।

‘कहिलेकाहीँ प्राधिकरणले हाम्रो अनुमतिबिना नै ठुलो घरै पस्ने खाल्डो बनाइदिन्छ, जसकारण सडक भत्किन्छ’, उनले भने, ‘प्राधिकरणले चाहिने खाल्डो बनाएर काम गरे त हामीलाई पनि त दुख हुँदैन थियो नि!’

सडक भत्काउनुमा प्राधिकरणको दोष रहेपनि हाल मेलम्ची खानेपानी जटिलताको विषय बनेको उनले बताए।

‘मेलम्चीको खानेपानी पुरानै पाइपबाट राजधानी ल्याएर वितरण सुरु हुन थालेपछि सडकमा पानी जम्न थालेको हो’, उनले भने, ‘पानी ल्याउनु राम्रो कुरा हो तर अव्यवस्थित बाटो बनाउनु गलत हो।’

सडक भत्काउनमा मुख्य भूमिका प्राधिकरण, मेलम्ची आयोजना र केयुकेएलको भएपनि दाेषी भने सडक विभाग देखिएकाे उनकाे गुनासाे छ।

सपना मेलम्चीको, भर ढुङ्गेधाराकाे

‘सडकमा धुलो उड्यो सडक विभागको दोष? सडकमा पानी जम्यो सडक विभागकै दोष, सडक भत्कियो सडक विभागै दोषी?’, उनी प्रश्न गर्दै भन्छन्, ‘काम अरुले बिगार्छन् अनि सडकले काम गरेन भनेर जनताहरु गुनासो गर्नुहुन्छ। सबैभन्दा मर्कामा हामी सडक विभागका कर्मचारी परिरहेका छौँ।’

मेलम्चीको पानीले भत्काएको सडक बनाउन कति लाग्छ खर्च?

मेलम्चीको पानीले भत्काएको सडक पुन: निर्माण गर्न कति खर्च लाग्छ भनेर हालसम्म यकिन नभएको निहरे बताउँछन्।

मेलम्चीको पानी राजधानीकाे सरंचनाले थेग्न नसक्ने कुरा नसोचेको बताउँदै उनी भन्छन्, ‘हामीले सोचेका थिएनौँ, मेलम्चीको पानी राजधानीमा वितरण सुरु गरेपछि पुरानो पाइप फुटेर पानी बग्छ र यसरी सडक भत्किन्छ भनेर। त्यसैले हामीले यस समस्याको समाधान गर्नका लागि कुनै तयारी नै गरेका थिएनौँ।’

पानीले सडक भत्काउँछ भनेर नसोचेको कारण कुनै बजेट नछुट्याएको उनको भनाई छ। ‘दिन प्रतिदिनै बाटो भत्किरहेको छ, त्यसैले यसकाे निर्माण गर्न कति खर्च लाग्छ यकिन छैन तर करोडौं रुपैयाँ चाहिँ खर्च हुनेछ’, उनले भने, ‘पानी वितरण गर्दा ध्यान नपुर्याएको कारण करोडौं रुपैयाँ फजुल खर्च हुने भयो।’

प्रकाशित मिति: : 2023-01-13 22:20:00

प्रतिकृया दिनुहोस्