किशोर श्रेष्ठलाई हटाउँदै प्रेस काउन्सिलको कावा अध्यक्षमा दुर्गा भण्डारी

सरकारले प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाउँदै दुर्गा भण्डारीलाई कार्यबाहक अध्यक्ष तोकेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई कार्यबाहक अध्यक्ष तोकेको एक मन्त्रीले जानकारी दिए । भण्डारी केही दिनअघि मात्र काउन्सिलको सदस्य नियुक्त भएकी थिइन्।

अध्यक्ष नभएपछि श्रेष्ठलाई कार्यबाहकको जिम्मेवारी तोकिएको थियो। उनी लामो सयमदेखि काउन्सिलको कार्यबाहक अध्यक्षमा थिए । अहिले सरकारले श्रेष्ठलाई दिएको जिम्मेवारी खोसेर भण्डारीलाई दिएको हो । श्रेष्ठ काउन्सिलको सदस्य कायम छन्।

काउन्सिलको नियमावली संशोधन गरेर केही दिनअघि मात्र  भण्डारी सदस्यमा नियुक्त भएकी थिइन्।

यसैबिच प्रेस काउन्सिल नेपालको सदस्य नियुक्तप्रति विरोध जनाउँदै तत्कालिन कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मन्त्रीस्तरीय निर्णयबाट वरिष्ठ पत्रकार दीपक पाण्डे र अधिवक्ता दुर्गा भण्डारी सदस्य नियुक्त गरेका थिए। 

तर, प्रक्रिया मिचेर सदस्य नियुक्त गरेको भन्दै कार्यबाहक अध्यक्ष श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका हुन्। उनले दायर गरेको रिटको सुनुवाई पर्सी (बिहीबार) हुने बताइएको छ।

प्रकाशित मिति: : 2020-08-17 22:22:32

प्रतिकृया दिनुहोस्