पोर्चुगलका ७१ वर्षीय राष्ट्रपति पुन: चर्चामा, बचाए समुन्द्रमा डुब्न लागेका दुई महिलालाई (भिडियाे)

पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबलो डि सोसाको व्यक्तित्वको विषयमा सायदै कोही जानकार नहोलान्। देशभित्र राष्ट्रपिताको छवी बनाएका ७१ वर्षीय मार्सेलो समाजप्रति उनको उत्तरदायित्वलाई लिएर निकै लोकप्रिय छन्। 

पोर्चुगलका प्रतिपक्षी पनि उनको व्यक्तित्वप्रति कायल छन्। उनी कहिल्यै सार्वजनिक स्थलमा युवाहरूलाई सहयोग गरिरहेको भेटिन्छन्, कहिल्यै सरसफाई त कहिल्यै पर्यटकहरूको समस्या निराकरण गरिरहेको देखिन्छन्। 

हालै एउटा घटनाले फेरि उनीतर्फ सारा विश्वको ध्यान मोडिएको छ। पाँच दिनअघि अल्ग्रेभको पारिया दो समुन्द्रमा दुई महिला डुंगामा खेलिरहेका थिए। उनीहरू पानीको अत्याधिक चापका कारण डुब्नेस्थितिमा रहेका बेला राष्ट्रपति मार्सेलोले ज्यान जोगाए। 

राष्ट्रपति मार्सेलोको यो साहसको सर्वत्र प्रसंसा भइरहेको छ। १५ अगस्टमा दुबै महिला सानो डुंगामा खेलिरहेको अवस्थामा एक्कासी पल्टिन पुगेका थिए। ज्यान जोगाउन पानीमा संघर्ष गरिरहेका दुबैलाई राष्ट्रपतिले पौडी खेल्दै बचाए। 

राष्ट्रपति मार्सेलो केही दिनदेखि पोर्चुगलको पर्यटन क्षेत्रलाई पुनः ‘ट्रयाक’मा ल्याउन समुन्द्री क्षेत्रमा छुट्टि मनाइरहेका छन्।

 उनी त्यसदिन पनि समुन्द्रमा थिए। कोरोनालाई केही नियन्त्रणमा ल्याएपछि पोर्चुगलले पर्यटन क्षेत्रलाई पुरानो अवस्थामा फर्काउन कम्मर कसेको छ। 

राष्ट्रपति मार्सेलोले घटनाको विषयमा जानकारी दिँदै स्थानीय पत्रिकामा भनेका छन्, ‘समुन्द्रमा ठूलो छाल आइरहेको थियो। मैले हेर्दा हेर्दै उनीहरू बसेको डुंगा पल्टियो। अधिक मात्रामा समुन्द्रको पानी मुखभित्र पसेका कारण उनीहरू पौडिन सकिरहेका थिएनन्। उनीहरू कराउन थालेपछि म त्यहाँ पुगे।’ राष्ट्रपतिलाई सघाउँन अरू पनि घटनास्थल पुगेका थिए। 

यो घटना भिडियोमा समेत कैद भएको छ। राष्ट्रपति मार्सेलोलाई सहयोग गर्न ‘जेट स्की’ बाट एकजना व्यक्ति घटनास्थल पुगेका थिए। मार्सेलोले ती व्यक्तिलाई देशभक्त घोषित गरेका छन्। 

मार्सेलो आफै मुटुको रोगी हुन्। तर, उनको यो कार्यले फेरि पोर्चुगाली जनताको मन जितेको छ।

 

प्रकाशित मिति: : 2020-08-20 11:59:55

प्रतिकृया दिनुहोस्