आफ्नो पहिलो कार खोज्दै सचिन

पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आफ्नो पहिलो कार खोज्न सहयोग गरिदिन आफ्ना प्रशंसकहरुलाई अपिल गरेका छन्। कारका सोखिन सचिनले आफ्नो पहिलो कार ‘मारुति ८००’ रहेको जानकारी गराए। यो मोडलको कार सन् १९९० को दशकमा भारतमा खुब लोकप्रिय थियो।

सचिनले आफ्नो कारको बारेमा धेरै जानकारी त दिएका छैनन् तर उनले आफ्ना फ्यानहरुसँग कसैलाई उक्त कारको बारेमा जानकारी प्राप्त भएमा आफूसँग सम्पर्क गर्न आग्रह गरेका छन्।

उनले उक्त कार व्यवसायीक क्रिकेटर बनेपछि किनेका थिए। उनले एक वेब च्याट शोमा यसको खुलासा गरेका हुन्।

तेन्दुलकरले सन् २०१३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। उनी आज पनि उत्तिकै लोकप्रिय छन्।

त्यतिबेला यो कार किन्ने सचिन एक्ला थिएनन्। एक समय थियो मारुति ८०० केवल कार मात्रै थिएन। मानिसहरुको लागि एउटा सपना र चाहनाको प्रतिक थियो।

सन् २०१४ मा कम्पनीले उक्त कारको उत्पादन बन्द गर्ने निर्णय गरेपछि कैयौँ मानिसहरुले दुःख व्यक्त गरेका थिए। धेरै मानिसहरुले आफ्नो मारुति ८०० सँग जोडिएका सम्झनाहरु शेयर गरेका थिए। यसबाट पनि थाहा हुन्छ त्यतिबेला उक्त कारको लोकप्रियता कति थियो भन्ने।

सचिनका अनुसार जब जब उनी अन्तर्राष्ट्रिय क्रिकेटमा सफल हुँदै गए, उनको घरमा नयाँ कार थपिँदै गए। अन्ततः उनले आफ्नो पुरानो कार बेच्नु पर्‍यो।

उनले आफ्नो कारप्रतिको आकर्षण कसरी पैदा भयो भन्ने पनि बताए, ‘मेरो घर नजिकै एउटा फिल्म हल थियो, जहाँ मानिसरु आफ्नो कारमा बसेर चलचित्र हेर्न आउँथे। म आफ्नो भाइसँग बालकोनीमा बसेर घण्टौँसम्म ती कार हेरिरहन्थ्यौँ।’

सचिन विश्वभर एक सर्वकालीन महान क्रिकेटरको रुपमा सम्मानित छन्। उनले भारतका लागि २०० टेष्ट खेलमा १५ हजार ८ सय ३७ रन र ४ सय ६३ एकदिवसीय खेलमा १८ हजार ४ सय २६ रन बनाएका छन्।

भारतीय क्रिकेट टीमको कप्तानीसमेत गरिसकेका सचिनले सन् १९८९ मा १६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। उनी एक सय अन्तर्राष्ट्रिय शतक बनाउने विश्वका एकमात्र क्रिकेटर हुन्।

–बीबीसी हिन्दीबाट

प्रकाशित मिति: : 2020-08-20 14:28:11

प्रतिकृया दिनुहोस्