धोनीलाई मोदीको भावुक चिठीः तपाईले भारतीय क्रिकेटका लागि जे दिनुभयो, त्यसका लागि कृतज्ञ छौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका पूर्व क्रिकेट कप्तान महेन्द्र सिंह धोनीलाई भावुक चिठी लेखेका छन्।

भारतको स्वतन्त्रता दिवस अगष्ट १५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका धाेनीलाई मोदीले चिठीमा भनेका छन् ‘तपाईंको संन्यासबाट १३० करोड भारतीयलाई निराशा भयो, तर तपाईले भारतीय क्रिकेटका लागि जे दिनुभयो, त्यसका लागि कृतज्ञ पनि छाैँ।’

धोनीले बिहीबार प्रधानमन्त्री मोदीले आफूलाई पठाएको चिठी ट्वीटरमार्फत सार्वजनिक गरेका छन्।

धोनीले मोदीलाई धन्यवाद दिँदै लेखेका छन्, ‘एक कलाकार, फौजी र खेलाडी आफूलाई हौसला मिलोस् र उसको कडा मेहनत र बलिदानको कदर होस् भन्ने चाहन्छ। तपाईको प्रशंसा र शुभकामनाका लागि धन्यवाद प्रधानमन्त्री नरेन्द्र मोदी।’

धोनी अन्तर्राष्ट्रिय क्रिकेटमा टीट्वेन्टी विश्वकप, एकदिवशीय विश्वकप र च्याम्पियन्स ट्रफिको उपाधि जित्ने एकमात्र कप्तान हुन्। भारतले उनको कप्तानीमा सन् २००७ मा टीट्वेन्टी विश्वकप र सन् २०११ मा एकदिवसीय विश्वकपको उपाधि जितेको थियो।

धोनीले सन् २००४ मा सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। धोनीले अन्तिम पटक सन् २०१९ को एकदिवशीय विश्वकप खेलेका थिए जसमा भारत सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित हुँदा धोनीले ५० रन बनाएका थिए।

धोनीले तीन सय ५० एकदिवशीय अन्तर्राष्ट्रिय, ९० टेस्ट र ९८ टीट्वेन्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन्। यसबीचमा १५ हजार बढी अन्तर्राष्ट्रिय रन बनाएका धोनीले विकेटकिपरका रुपमा ८ सय बढीपटक ब्याट्सम्यानलाई आउट गरेका थिए।

प्रकाशित मिति: : 2020-08-20 15:26:45

प्रतिकृया दिनुहोस्