युरोपेली देशलाई डब्ल्यूएचओको चेतावनी– ‘लकडाउन’ कडा बनाऊ (भिडियाेसहित)

कोरोना भाइरसविरूद्धको अभियानमा ‘लकडाउन’ को नियमलाई सशक्त रूपमा पालना नगर्दा युरोपमा महामारीको सम्भावना फेरि बढेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बताएको छ।

डब्ल्यूएचओका युरोपेली निर्देशक हन्स क्लुजले पत्रकार सम्मेलनमा अगस्टको पहिलो साता युरोपमा ४० हजारभन्दा बढी संक्रमित फेला परेको जानकारी दिएका छन्। 

उनले युरोपेली देशलाई चेतावनी दिँदै कोरोनाविरूद्धको ‘गाइड–लाइन’ सशक्त रूपमा पालना गर्न सबै देशलाई आग्रह गरेका छन्। 

‘युरोपमा हरेक दिन २६ हजार नयाँ संक्रमित देखिन थालेका छन्। यो निकै चुनौतिपूर्ण बन्दै गइरहेको छ। त्यसैले लकडाउनको नियमलाई पालना गर्न हामी आग्रह गर्दछौं,’ बुधबार पत्रकार सम्मेलनमा हन्सले भनेका छन्। 

विश्वमा हालसम्म कोरोना भाइरसको २ करोड २७ लाखभन्दा बढी संक्रमित फेला परिसकेका छन्। जसमा युरोपमा मात्र करिब ३९ लाख संक्रमित छन्। कूल संक्रमितको यो १७ प्रतिशत तथ्यांक हो। 

युरोपमा ‘लकडाउन’ का कारण बीचको केही महिना कोरोना नियन्त्रणमा देखिएको थियो। तर, लकडाउनको नियममा केही फेरबदल गरिएपछि पुनः समस्या बढ्न थालेको हो। 

युरोपमा गर्मीका कारण अहिले मानिसहरू छुट्टि बिताउन समुन्द्री क्षेत्रमा जाने गरेका छन्। यस्तै, पार्टी र विभिन्न कार्यक्रममा भीडभाड गर्दा संक्रमणको संख्या पनि उत्तिकै बढेको छ। 

कोरोनाका कारण विश्वभरि मर्नेको संख्या ७ लाख ९३ हजारभन्दा बढी हुँदा युरोपमा मात्र २ लाखभन्दा बढी मानिसको निधन भइसकेको छ। 

युरोपेली देशमध्ये पछिल्लो समय सबैभन्दा बढी रुसमा संक्रमणको संख्या बढेको छ। रुसमा ९ लाख ४२ हजारको हाराहारीमा संक्रमितको संख्या पुगेको छ। जसमा १६ हजार बढी मानिसको ज्यान गइसकेको छ। 

अमेरिका, ब्राजिल र भारतपछि रुस संक्रमणको हिसाबले विश्वको चौथो प्रभावित देश हो।

 

प्रकाशित मिति: : 2020-08-21 06:34:03

प्रतिकृया दिनुहोस्