कथा

पान बेच्ने केटी

जीवन आचार्य

म्यान्मार

देशमा राजनैतिक र लोकतान्त्रिक अनुशासन लागू भएको दश वर्षपछि म्यान्मार सेनाले लोकप्रिय नेत्री आङ सान सुकीलाई गिरफ्तार गरेर सत्ता कब्जा गर्याे।

सुकीसँगै राष्ट्रपति यू विन मिंटलगायत अन्य सत्ताधारी दलका शीर्ष नेताहरू पनि गिरफ्तारमा परे। मिन आङ ह्लाइंग नेतृत्वकाे म्यान्मार सेनाकाे प्रमुख उद्देश्य भनेकाे सत्ता आफ्नै नियन्त्रण र निगरानी चलाेस् भन्ने हाे।

एकाबिहानै 'बीबीसी म्यान्मार' रेडियोले सुनाएको खबरले मलाई स्तब्ध बनायो। देशभरमा इन्टरनेट र फोनकाे 'कनेक्टिभिटी' दुवै डाउन भएको छ। शहरको सडक र गल्लीभरी सैनिकहरु हातम बन्दुक बोकेर हिँडिरहेका छन्।

सैन्य-शासनविरुद्ध आवाज उठाउँदै देशभरका जनता सडकमा उत्रिए। सुरुमा सेनाद्वारा जनतालाई रोक्नका लागि फगत पानीको 'बौछार' प्रयोग गरियो। विस्तारै रबरको गोली र अन्त्यमा वास्तविक गोलीको प्रहार हुनलाग्यो। सडकहरू रगतले पोतिन थाले।

यस आन्दोलनमा हजारभन्दा बढी नागरिकको मृत्यु र सात हजारभन्दा बढी गिरफ्तार भएका छन्। गिरफ्तार हुनेहरूमा अधिकांश लेखक, पत्रकार, डाक्टर, इन्जिनियर, कलाकार र केही विद्वानहरू छन्।

सैनिकले शासन आफ्नो हातमा लिएपछि देशभरी लाखौं जनता बेरोजगार भएका छन्। बेराेजगार हुनेहरूमा पनि सबैभन्दा बढी सरकारी कर्मचारीहरु पर्छन्।

त्यतिबेला म म्यानमारको चौथो टेलिकम अप्रेटर 'माइटेल'मा काम गदर्थें। जसको स्वामित्व ४९ प्रतिशत भियतनामी सेनाको र बाँकी ५१ प्रतिशत स्वामित्व म्यान्मार सेनासँग सम्बन्धित 'स्टार हाई पब्लिक कम्पनी' अर्थात् म्यान्मार आर्थिक निगम (एमईसी) र म्यानमार नेशनल टेलिकम होल्डिंग पब्लिक कम्पनी लिमिटेडको हो।

अन्ततः म्यान्मार सेनासँग सम्बन्धित कम्पनीको व्यवसायप्रति विरोध तथा बहिष्कारको आह्वान गर्दै मैले पनि आफ्नो जागिर छोड्ने निर्णय लिएँ। देशभरमा 'माइटेल'का लागि काम गरिरहेका लगभग हजारभन्दा बढीले एकैसाथ राजीनामा दिइसकेका थिए।

वास्तवमा यो कथा मेरो हैन उसको हो!

कम्पनीले दिएको ल्यापटप र आइडी कार्ड बुझाएपछि सबै 'क्लियरेन्स' सकाएर म गाउँ फर्किएँ। अनि उसको आगमन भएको थियो मेरो जिन्दगीमा।

अँ साच्ची, सायद मेरो आगमन भयो उसको जिन्दगीमा।

उसको नाम, सीता। उ मन्दिरको अपार्टमेन्टमा एउटा कोठा लिएर विगत केही महिनादेखि बसिरहेकी छे। त्यो पनि एक्लै।

'आमा, त्यो मन्दिर अगाडिको पानको गुमटी कसको हो?' भन्दै मैले सोध्दा आमाले उसको बारेमा केही बताउनुभएको थियो। र, उसको बारेमा आफ्नो राय थप्दै भन्नुभएको थियो, 'केटी मिजासिली छे, अनि राम्री पनि।'

विश्वका सबै आमाहरुलाई बचपनमा आफ्नो छोरो सबैभन्दा राम्रो नै लाग्छ। जब त्यहीँ छोरो जवान हुन्छ, उ अर्काकी छोरीलाई राम्राे लाग्न थाल्छ। तर उ पहिलाे युवती थिई, जसलाई मेरी आमाले पहिलोपटक मेरैसामु 'राम्री' भन्नुभएको थियो। मतलब उसमा केही खास बात हुनुपर्छ।

उप्रतिको मेरो उत्सुकताले भनौं या मेरै भाग्यले भनौं, केही न केहीले मलाई डोर्‍याएर त्यो गुमटीअगाडि लगेर छोडिदियो।

त्यतिबेला गाउँका जवान केटाहरूको फौज थियो। मलाई दुई सयको चुरोट किन्न करिब पन्ध्र मिनेट पर्खिनु पर्यो। मेरो पालो आएपछि म केही बोल्न खोज्दै थिएँ। तर बाेल्न नपाउँदै विपरीत दिशाबाट युवतीकाे आवाज सुनियाे, 'कसरी खानुहुन्छ?'

'कसरी खानुहुन्छ रे! म चुरोट कसरी खान्छु?', यो प्रश्न मेरो मस्तिष्कमा दोहोरियो। सायद उसले पान कसरी खानुहुन्छ भनेर सोधेको हुनुपर्छ।

'हैन मलाई चुरोट, पिजी', मैले जवाफ फर्काउँदा हाम्रा दुई-दुई आँखा जुधेर चार भए। जहाँसम्म म आफैंलाई चिनेजानेको छु, युवती आमने-सामने हुँदा मेरा आँखा सबैभन्दा पहिले केशमा जान्छन्। खै ! किन हो? आज पहिलोपटक मेरा आँखाले सबैभन्दा पहिले उसका आँखामा प्रवेश गरे।

माछाका जस्ता थिए उसका आँखा। तर मृगनयनी हेराइ थियाे। पूर्णिमाको चन्द्रमा जस्तो चम्किलो अनुहार। धनुष आकारको आँखी भौँ। जिराफका जस्ता परेला। तिलको फूलजस्तो सलक्क परेको स-साना पोहरा भएको नाक। 'कफी कलर'को ओठ तातो घामले पग्लिएको चक्लेटजस्तै रसिलो थियो। 'स्ट्रेट' गरेको कालो-बाक्लो कपाल सबै समेटर दायाँपट्टिको गर्धनदेखि अगाडि झारेकी थिई।

उसको कपाल छातीभन्दा अलिक तलसम्म पुगेको थियो। शरीरकाे सन्तुलित बनावटले उसकाे सुन्दरता झन् बढाएकाे थियाे। म उसको सुन्दरताप्रति मन्त्रमुग्ध थिएँ। एक्कासी उसको चर्को स्वरले झसङ्ग ब्यूँझिएँ।

'ओ, हेल्लो!', उसले निधार खुम्च्याउँदै बोलेकी थिई।

'हजुर?', म थोरै नम्र हुँदै बोलेँ।

'कति को?', उसको मीठो आवाजमा छोटो प्रश्न। 

'दुई सयको !', प्रश्न कै शैलीमा फर्काएको मेरो जवाफ।

खल्तीबाट दुईसयको नोट झिकेर उसको हातमा थम्याइदिएँ। उसले तीन खिली चुरोट मेरो हातमा थमाइदिई।

उसको देब्रे हातमा ट्याटु थियो, जो 'रोमेनियन फन्ट'मा लेखिएको थियो। मैले टाढाबाट ठ्याक्कै यही हो भनेर ठम्याउन सकिनँ।

सायद 'Freedom' हुनुपर्छ। मेरा आँखाले यहीँ अनुमान गरे। कमलको फूलको नालजस्ता पातला र लामा थिए उसका औँला। नङमा हरियाे रङको 'नङपालिस' पोतेकी थिई।

अन्तिम पटक उसका आँखामा हेरेर म थोरै मुस्कुराइदिएँ। उसले नजर झुकाउँदै मन्द मुस्कान फ्याँकी। कुनै जुवा खेलमा पल्टिएको चौकाजस्तै मिलेका सेता दाँतसँगै उसका दुवै पट्टिका गालामा गहिरा खोपिल्टा देखिए।

अर्को दिन बिहान म 'मर्निङ वाक'बाट फर्केर आउँदै थिएँ। विपरीत दिशाबाट उ मेरैतर्फ लम्किँदै आइरहेकीप थिई। सायद उ पनि 'मर्निङ वाक'का लागि हिँडेकी हुनुपर्छ। उ मेरो करिब चार मिटरको दूरीमा आइपुगेपछि म टक्क अडिएँ। मानौं, उ कुनै ट्राफिक सिंग्नलको 'रेड लाइट' हो।

गुलाफी टाइट टिसर्ट र निलो जिन्स पाइन्टमा थिई, उ। कपाल समेटेर पछाडि बाँधेकी। दाइने हातमा मोबाइल। र, दुवै कानमा कालाे रङकाे 'ब्लूटूथ इयरफोन' ठोसेकी थिई।

राजहंशको जस्तो लचक्दार हिँडाइ थियो उसको। सिंहको जस्तो खिरिलो कम्मर, कुनै बगैंचाको फूलझैं ढपक्क फुलेको वक्षस्थल, हात्तीको सूँडजस्ता सुँडौला तिघ्रा, वृक्षको हाँगामा लत्रिएको सर्पको शरीरजस्ताे डुँडुला। र, सावित्रीका जस्ता पैताला थिए उसका।

मैले उ सँग नजर जुधाउन सक्दो प्रयास गरेँ। तर उसले मलाई यसरी नजर अन्दाज गरेर गई, मानौं म उसको अगाडि हैन, यो दुनियाँ मै छैन।

म आफ्ना कदम अगाडि बढाउन के खोज्दै थिएँ, उसको शरीरबाट आएको पसिना र पर्फ्युमको मीठो सुगन्धले मलाई पछाडि मोड्न बाध्य बनायो। उ टाढा पुग्दासम्म पनि मैले पछाडिबाट उसको नितम्बलाई नियालिरहें।

चार खिली चुरोट मात्र खान्थँ। आजकाल दिनको आठ खिली खान थालेको छु। मलाई चुरोटको हैन, उसका आँखाको लत बढेको छ।

चाहे आज जेसुकै होस्, उसको बारेमा सोधेरै छोड्छु भन्ने अठोट बोकेर उसको गुमटी अगाडि पुगेँ। उ मलाई देख्नसाथ मुसुक्क हाँसी। मैले औपचारिक मुस्कान फ्याँकेँ।

'एउटा कुरा सोध्न मन थियो', यसपटक हिम्मत जुटाएरै मुख फोरेँ।

'भन्नुस्', अनुहार छोप्न आएका कपालका रेशाहरू पछाडी सार्न हातका औलाहरूलाई निधारतिर चलमलाउँदै बोली।

'तिम्रो नाम?', मलाई उसको नाम थाहा नभएको हैन। तर म उसको नाम उसकै मुखारबाट सुन्न चाहन्थेँ।

'तीडा', उसले नजर चुडाँलेर अन्यत्र लाँदै बोली। यो बर्मा नाम उसको 'पान दोकान'को नाम पनि हो। नामलाई नेपालीमा 'सीता' भनेर बुझ्न सकिन्छ।

'नेपाली?' जानी-जानी दोस्रो प्रश्न फ्याँकेँ।

'सीता', अलग्गिएका हाम्रा नजर पुनः मिलाउँदै उ बोली।

'यो कस्तो संयोग! मेरी आमाको नाम पनि सीता नै हो', यस्तो बोलिरहँदा म आफैंलाई गर्व महसुस गरिरहेको थिएँ। मलाई थाहा छैन, किन हो।

'लौ! बधाई छ', आँखी भौं नचाउँदै उसले भनी।

- 'कसलाई ? तिमीलाई या मलाई ?'
- 'हामी दुवैलाई।'

मैले खित्का छोडिदिएँ। उ थोरै लजाउँदै हाँसी। मलाई उसको जवाफ सुनेर हाँस्न मन लागेको थियो। सायद उसलाई म हाँसेको देखेर हाँस्न मन लागेको होला!

उ कम बोल्छे। नेपालीमा बोल्नुपर्दा थोरै अकमकाउछे। र, बीचबीचमा अंग्रेजी मिसाउँछे। उसलाई नेपाली बोल्न दुःख लाग्छ। त्यसैले म उसँग प्रायःजसो बर्मा भाषामै बोल्छु। तर उसको 'अंग्रेजी उचारण' मेरोभन्दा राम्रो छ।

उसलाई सोधेको थिएँ, उसको एजुकेशन बारे। उसले 'जानेर के गर्छौ?' भनी।

म नाजवाफ भएँ।

म प्रश्न धेरै गर्छु रे! एकदिन उसले भनेकी थिई, 'हजुर वकील हुनुपर्थ्यो, गल्ती भएर इन्जिनियर हुनुभएछ।'

मलाई पनि सोध्न मन थियो, 'तिमी डाक्टर हुनुपर्थ्यो। किन पान बेचिरहेकी छौ?' तर हिम्मत गरिनँ।

गाउँमा मेरो साथी उ बाहेक अरु कोही थिएनन्। म सानैदेखि शहरमै बसेर पढेँ। र, उतै जागिर गर्न लागें। गाउँका सबै केटाहरूसँग राम्रो चिनजान छ, मेरो। तर म कसैसँग पनि त्यति खुलेर कुरा गर्दिनँ।

म केटाहरूसँग खुलेर कुरा गर्न भने अवश्य चाहन्थेँ। तर हाम्रा कुराहरू मिल्दैनन्। उनीहरू एकआपसमा प्रायःजसो खेतबारी र गाई-बाच्छाका बारेमा कुरा गर्छन्। न त मेरो खेतबारी छ, न गाई-बाच्छा नै। उनीहरू माझ म एक्लै बोर हुन्छु।

हुन त उसँग पनि मेरा कुरा त्यति मिल्दैनन्। तर मलाई उसको सामीप्यता नै आत्मीय लाग्छ। उ प्रायःजसो मौन रहन्छे। जब केही बोल्छे एकदम गम्भीर हुन्छे। मानौं उसको गम्भीरताको असल दर्शक म हुँ। हुन त, यो कुरा उसले मलाई कहिल्यै बताइन तर मैले उसका आँखामा देखेको छु। उ मेरो सामीप्यतामा आफूलाई आफै सुरक्षित महसुस गर्छे।

हिजो केही गम्भीरतापूर्वक गुनासो पोख्दै थिई, 'तपाईंलाई थाहा छ! हाम्रो देश केही महिनाभित्रै तीन साल पछाडि पुगिसकेको छ। हामी बसी-बसी हाम्रो जायदातको २५ प्रतिशत गरिब भैसकेका छौं।'

आज देशमा डलर र सुनको भाउ दिनप्रतिदिन आगोझैं बढिरहेको छ। रासन पानीको कुरा छोडौं, मैले धुवाँमा उडाउने चुरोटसमेत पहिले दुई सयको चार खिली मिल्थ्यो। आजकाल दुई खिलीमात्र मिल्छ।

आज मेरो देशले वेश्याले नपाउने दुःख पाएको छ। एकातिर कोरोनाले थिचिरहेको छ। अर्कोतिर देशकै सैनिकले देश लुटिरहेका छन्।

जब म आफ्नो भविष्य र देशको बारेमा सोच्छु, मलाई चारैतर्फ अन्धकार मात्र देखाइदिन्छ। जहाँ म र धुवाँका केही मुस्लोहरुमा मात्र सिमित छु। उनीहरू एकपछि अर्को आउँदै मलाई गिज्याइरहेका हुन्छन्। म कान बन्द गरेर चिच्याउँदै-कराउँदै रोइरहेको हुन्छु। अफसोस! कसैले मेरो आवाज सुन्दैनन्।

हिजो मामा सोध्दै हुनुहुन्थ्यो, 'अब के गर्ने हो, भान्जा?' 

'खै मामा, अलिक दिन हेरौं', भनेँ। हेर्दा-हेर्दै कैयौं महिना बितिसक्यो म बेरोजगार भएको पनि। कक्षा दशसम्म मात्र पढेर मैले एक हाँच गाई स्याहारेको हुन्थे भने पनि आजसम्म लाटो हिसाबले पनि कम्तीमा मेरा साठी पुच्छर गाई भैसक्थे होला। मैले त्यस दिन जिन्दगीमा पहिलोपटक पढेर गल्ती गरेको महसुस गरें।

गाउँलेहरू उ र मबीच बढिरहेको सम्बन्धलाई लिएर कुरा काट्न थालेका थिए।

कृष्ण जन्माष्टमीको दिन थियो, त्यो। म भगवानकाे दर्शन गर्न मन्दिर गएको थिएँ। संयोगवश्, मन्दिरमा उसँग मेरो भेट भयो। हामीले भगवान सँगै ढोग्यौं। भगवान ढोक्दा उ मेरो बायाँ भागमा उभिएकी थिई।

'सायद भगवानलाई पनि हाम्रो जोडी मन्जुर हुनुपर्छ', उसलाई हैन, मैले आफैलाई भनें।

कृष्णजीको मूर्तिसमक्ष हात जोडेर म आफ्नी सीतालाई हेरिरहेको थिएँ। मेरी सीता एकचित्त भएर राधाका कृष्णलाई सम्झिरहेकी थिई।

उसले आँखा खोलेपछि मतिर पुलुक्क हेरेर धनुष आकारको आँखी भौं उचाली।

'तिमीलाई केही भन्नू छ', उसकाे आँखाले सोधेको प्रश्नको जवाफ मैले मुखैले दिएँ।

'उम्,,, भनुस् न!', उ थोरै नजर झुकाउँदै बोली।

मैले उसका दुवै हात समाएर आँखामा आँखा जुधाउँदै भनें, 'म तिमीलाई प्रेम गर्छु।'

पुर्णिमाको चन्द्रमा जस्तो चम्किलो उसको अनुहारमा एक्कासी बर्खे बादल मडारियो। उ केही नबोली आफ्ना कदम मन्दिरको द्वारतर्फ बढाई। म पछाडिबाट उसले सुन्नेगरी साविकभन्दा आवाज बढाएर बोलें, 'म तिम्रो जवाफ पर्खिरहनेछु।'

मेरो आवाज कुनै वीर योद्धाले युद्ध प्रारम्भपश्चात् फुकेको सङ्खको ध्वनिझैं चारौं दिशामा गुन्जियो।

उसलाई 'म पर्खिरहनेछु' भनेको थिएँ, उसले मलाई पर्खाइमै छोडेर गई। उसलाई 'प्रपोज' गरेको ठीक अर्को दिन उ गाउँबाट बेखबर फरार भएकी थिई।

उसको खोजीमा त्यसै दिन दुई जना पुलिस गाउँमा आएका थिए। तर उनीहरूले उसलाई भेटाउन सकेनन्।

मेरो जीवनमा पान बेच्ने केटी बनेर आएकी उ वास्तवमा एक डाक्टर थिई। देशमा सेनाले शासन आफ्नो नियन्त्रणमा लिएपछि नाजायज सरकारको विरोध तथा बहिष्कार गर्दै देशभरका ३० शहरमा ७० अस्पतालका कर्मचारीहरुले काम गर्न बन्द गरेका थिए। र, उसको शहरको अस्पतालमा यस हडतालको सुरुवात उबाटै भएको थियो।

नयाँ सरकारले उप्रति देशद्रोहीको आरोप लगाएको छ। यसकारण उसको शहरका पुलिसहरु उसको पछाडि परेका छन्।

उ एकपछि अर्को गाउँमा आफ्नो अस्तित्व लुकाउँदै भागिरहेकी छे। कम्तीमा उ मलाई आफ्नो बारेमा बताउन सक्थी। खैर ! उसको नजरमा म भरोसाको लायक थिइनँ सायद!

आज आकाशमा म एउटा तारा देख्दिनँ। राति निकै ठूलो पानी पर्लाजस्तो छ। मलाई थाहा छैन, उ कहाँ के गर्दै छे ? कुन हालतमा छे ?

उसँग किनेको अन्तिम चुरोट खल्तीमै थियो। मैले चुरोट सल्काएर उसलाई सम्झिदै चुरोटको पहिलो सर्को लिएँ। आधा धुवाँ मेरो फोक्सोमा गयो, आधा हावामा फालें।

के मैले हावामा फालेको आधा धुवाँले आफ्नो गन्तव्य भेटाउला ? के उ आकाशसम्मै पुग्ला ? मलाई थाहा छैन।



डायरी

सहयात्री

प्रकाशित मिति: : 2021-09-25 09:31:00

प्रतिकृया दिनुहोस्

ट्रेन्डिङ