दुर्गेशले ल्याए ‘आलुजस्तो गायक’

मोडल तथा गायक दुर्गेश थापाले नयाँ गीत सार्वजनिक गरेका छन् । हालै एक अन्तर्वार्ताका क्रममा गीत गुनगुनाउँदा ट्रोलको शिकार भएका दुर्गेशले सोही घटनामा आधारित गीत प्रस्तुत गरेका हुन् ।

केही समयअघि ऋषि धमलालाई अन्तर्वार्ता दिने क्रममा दुर्गेशले नारायणगोपालको गीत भन्दै भक्तराज आचार्यको गीत गाएका थिए ।

त्यसपघि दुर्गेश सामाजिक सञ्जालमा ट्रोल बनेका थिए । कतिले उनलाई ‘अटो ट्युनर’ गायक भएको भन्दै आलोचना गरे ।

यसबाट ट्रोलको शिकार भएका दुर्गेशले ‘आलुजस्तो गायक’ बोलको गीत बजारमा ल्याएका हुन् । उनले गीतमा आफू कसरी गायक बने भन्ने कथा प्रस्तुत गरेका छन् । गीतका शब्द र संगीत सिर्जना बसन्त थापाले गरेका हुन् ।

गीतसँगै सार्वजनिक गरिएको भिडियोमा शिव विकको निर्देशन रहेको छ भने अर्जुन तिवारीको छायांकन रहेको छ ।

भिडियोमा दुर्गेशका साथै पल शाह, सरिता केसी र पुष्प खड्कालाई पनि देख्न सकिन्छ ।

प्रकाशित मिति: : 2020-08-21 11:34:50

प्रतिकृया दिनुहोस्