सोनिया गान्धी नै अन्तरिम अध्यक्ष

एजेन्सी

नयाँ दिल्ली

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेस अझै केही समय अन्तरिम अध्यक्षकै नेतृत्वमा रहने भएको छ । 

पार्टीमा पूर्णकालिन र देखिने नेतृत्वको आवश्यकता रहेको आवाज उठेपछि बोलाइएको केन्द्र्रीय समितिको बैठकले त्यस्तो नेतृत्वको बारेमा निर्णय गर्न नसकेकाले अझै करिब एक वर्षका लागि अन्तरिम अध्यक्षकै नेतृत्वमा रहने भएको हो । 

तत्कालिन अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएपछि काँग्रेस अहिले अन्तरिम अध्यक्ष सोनिया गान्धीको नेतृत्वमा चल्दै आएको छ । 

तर अन्तरिम अध्यक्ष गान्धीसहितका धेरै नेताहरुले नयाँ अध्यक्ष चयन गर्नुपर्नेमा जोड दिएपनि पार्टीले निर्णय गर्न असक्षम देखिएको छ । 

सोमबार बसेको केन्द्र्रीय समितिको बैठकमा नयाँ नेतृत्वका बारेमा छलफल भएपनि चयन गर्न नसकेकाले अर्को अध्यक्ष चयन नहुन्जेलसम्मका लागि गान्धीले नै अन्तरिम अध्यक्षको रुपमा पार्टीको नेतृत्व गर्ने भएकी छन् । 

बैठकले जतिसक्दो चाडो नयाँ अध्यक्ष चयन गर्ने निर्णय गरेको पार्टीका नेता के एच मुनियाप्पाले जानकारी दिए । 

अन्तरिम अध्यक्ष गान्धीले नै अझै केही समय पार्टीको नेतृत्व गर्नुहुने भएको छ, ठोस निर्णय गर्न बैठक असमर्थ भएको छ, उनले भने । 

नयाँ अध्यक्ष चयन हुनका लागि छ महिनादेखि एक बर्षसम्म लाग्न सक्ने नेताहरुले बैठकमा बताएका थिए । 

काँग्रेसमा अझै पनि धेरै नेता तथा कार्यकर्ताहरुले राहुल गान्धीलाई नै अध्यक्ष बनाउनु पर्नेमा जोड दिएका छन् भने उनले अस्वीकार गर्दै आएका छन् । 

गएको आम निर्वाचनमा पार्टीलाई सवैभन्दा धेरै निर्वाचन क्षेत्रबाट जिताउन नसकेपछि नैतिक जिम्मेवारी लिदै उनले अध्यक्ष पदबाट राजीनामा दिएका थिए । 

उनले दिएको राजीनामा केही समय अस्वीकृत हुदै उनलाई नै अध्यक्षमा कायम गर्नुपर्ने माग उठिरहेपनि उनले अस्वीकार गरेपछि पार्टीकी अर्की पूर्व अध्यक्ष सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष बनाइएको हो । 

उनलाई सन् २०१९ को अगस्ट १० तारिखका दिन केही समयका लागि भनेर अन्तरिम अध्यक्ष बनाइएको हो । तर नयाँ अध्यक्ष चयन हुन नसक्दा अझै केही समय उनले नै पार्टीको नेतृत्व गर्नेछिन् ।  

प्रकाशित मिति: : 2020-08-24 23:38:12

प्रतिकृया दिनुहोस्