ऋण काढेर टिकट काटे तर स्वदेश फर्कन पाएनन् श्रमिकहरु

नेपाल लाइभ

काठमाडौँ

निर्मला घिमिरे

जाजरकोटका वीरसिंह खत्री रोजगारीका लागि साउदी पुगेको ६ वर्ष बित्यो  उनी त्यहाँकाे जेद्धास्थित अल हाइदर सप्लाई कम्पनीमा कार्यरत छन्। 

लकडाउनका कारण कम्पनीको काम ठप्प छ। ६ महिनादेखि उनको रोजगारी गुमेको छ। ६ महिनादेखि पारिश्रमिक पनि पाएका छैनन्।कहिले साथी तथा आफन्तसँग मागेर त, कहिले ऋण काढेर छाक टारिरहेका छन्। 

‘सयकडा ५ का दरले ऋण काढेर घर जान टिकट काटेको। यही २० तरिखको फ्लाईट भन्यो। फेरि २३ लाई सर्‍याे भन्यो। अहिले त अब टुंगो छैन भन्न थाल्यो। टिकटको पैसा पनि बुझाइसकेँ अब के गर्ने होला ?’ सामाजिक सञ्जालमार्फत साउदीबाट खत्रीले गुनासो गरे। 

उनले स्वदेश फर्कनका लागि २ सय ३० साउदी रियाल तिरेर पिसीआर परीक्षणसमेत गराएका थिए । स्वदेश फर्कन ७२ घण्टाको पिसीआर रिपोर्ट बुझाउनुपर्छ। अब त त्याे रिपोर्टको म्याद पनि गुज्रिसकेको छ। फेरि पिसीआर परीक्षण गराउने पैसासमेत उनीसँग छैन।

प्रकाशित मिति: : 2020-08-26 07:40:37

प्रतिकृया दिनुहोस्