ब्यथा र एम्बुलेन्स

२०७७ भदौ ९, वीरगन्ज।

बिहान जिल्ला समन्वय समितिबाट कोभिड एक्सन टिम (CAT) को बैठक सकेर घर फर्किएँ। घरमा बाइक पार्क गर्दै थिएँ श्रीमतीजी पहिलेदेखि नै बरण्डामा उभिएर खाना कुरेर बसिरहेकी रहिछन्। उनलाई देखेर मेरो सातो उडेको थियो, जुन आजभोलि मेरो दैनिकीमा सामेल छ।

मन्द मुस्कान दिएर उनलाई फकाउने प्रयास गर्न लागेको थिएँ, मोबाईलमा एकोहोरि घण्टी बज्न थाल्यो। रामनारायण प्रसाद कुर्मी अंकलको फोन फोन थियो।

उहाँ नेपाली कांग्रेस पर्साका परिचीत नाम तथा नेपाली कांग्रेस तराई मधेस समन्वय विभागको केन्द्रीय सचिव हुनुहुन्थ्यो। फोन उठ्नासाथ आफ्नो साथी (मेरो बुबा) को साथै हाम्रो सम्पूर्ण परिवारको हालचाल सोध्नुभयो। मैले पनि केही विशेष काम थियो कि अंकल भनेर सोधेँ।

बुवाको साथीको नाताले उहाँलाई सानैदेखि म अंकल भन्दै आएको थिएँ। ‘बाबु तिमीहरूको कोभिड एक्सन टिमको सम्पर्कमा कुनै एम्बुलेन्स छ र?’, उहाँले भन्नुभयो। त्यसपछि मैले सोधेँ, ‘के भयो अंकल सबैजना सन्चै त हुनुहुन्छ नि?’ ‘हो हामीलाई ठिकै छ। तर जनार्धन सिंह क्षेत्री नारायणीको अस्थायी कोभिड अस्पताल गन्डकमा हुनुहुन्छ, उहाँलाई काठमाडौं लानुछ त्यसैले,’ उहाँले भन्नुभयो। के उहाँ सिरियस हुनुहुन्छ? मैले प्रति प्रश्न गरेँ। ‘धेरै सिरियस त होइन। तर काठमाडौं लानुपर्ने भयो।’ हुन्छ भनेर फोन राखेँ।

क्षेत्री पर्सा नेपाली कांग्रेसमा चर्चित नाम हो। प्रखर वक्तासमेत रहेका उनी एक असल छवी भएको नेता गनिन्छन्। बि.स २०५४ सालमा जिल्ला सभापति भएर पाँच वर्षे सफल कार्यकाल बिताएका एक नेता अस्पतालको बेडमा एम्बुलेन्सको प्रतीक्षारत छन्।

यदि म गलत छैन भने उहाँले आफ्नो कार्यकालमा धेरै शिक्षक, कर्मचारी, ड्राइभरदेखि अन्य नियुक्ति आफ्नै कलमले गरेका छन्। जुन अहिले पनि आम पर्सावासी र  राजनीतिको वृत्तमा सधै चर्चाको विषय रहन्छ। र शायद यो सधैनै रहिरहने छ।

चर्चा पनि किन नहोस् हालको जस्तो पंगु इकाइ त्यो बेलाको जिल्ला विकास समिति थिएन। जिल्लाको सर्बे अभिभावक भन्दा पनि कम हुने छुट्टै सान र शक्ति थियो त्यो बेला।

एकछिन यी सबै कुरा दिमागमा तरङ्गीत भइरहँदा अविश्वास र अपत्यारिलो पनि थियो। हाम्रो यो सानो ग्रुपको लागि यसो हुनुमा उहाँको आफ्नो सक्रियता र पर्सामा उहाँले गरेको योगदान नै कारक थियो।

जे होस उहाँको लागि एम्बुलेन्स खोज्ने मनग्य प्रतिवद्धताका साथ सबैभन्दा पहिले क्याटको म्यासेन्जेर ग्रुपमा एउटा सन्देश छोडे। त्यसपछि पर्साको लागि महामारीको नायक बिशाल हृदय भएका एम्बुलेन्स चालक मुमताज भाइलाई फोन गरेँ।

बिरामीको परिचय सुन्नासाथ उसले ‘दाइ १० मिनेटमा तपाईँलाई खबर गर्छु’ भनेर बिचमै फोन राख्यो।  केही मिनेट पछि उनको कल ब्याक गर्‍यो। ‘दाइ अस्ती राति तपाईँलाई नम्बर दिएको थिएँ नि?’, अरे यार कति नम्बर दिएछौ कुन हो?’ मैले यसो भन्न नपाउँदै उसले ९८५५०....’ भनेर खरर भन्यो।

नम्बर पनि कति कन्ठ हुने उसलाई भन्दै मेरोबाइल चेक गरेको यो नम्बरमा मैले ‘एम्बुलेन्स’ मात्र भनेर सेभ गरेको रहेछु।

त्यसपछि मैले त्यो एम्बुलेन्सलाई फोन गरेर आफ्नो परिचय दिँदै थिएँ, ‘दाइ चिनेँ कतिचोटी कुरा भएको छ हाम्रो हाम्रो, अस्ति मात्र मैले नै लगिएको होइन जितपुरको एउटा बिरामीलाई काठमाडौं भन्नु न के थियो,’ उनले भने।

‘ओके ओके सुन, फेरि पनि काठमाडौं जानूपर्ने भयो’, यति भन्ने वित्तिकै उनले ‘सरी दाइ मेरो घरमा एक जना बित्नु भा’को छ, बरू म आफ्नो गाडी दिन्छु तपाईँ ड्राइभर खोज्नू।’

फसाद यहिँबाट सुरू भयो। उत्साहित मनमा एकाएक निराशको बादल देखिन सुरू भयो। तर अन्त्यसम्म हिम्मत नहार्ने बानीले फेरि मुम्ताजलाई सम्झिएँ। उसको पहिलाकै जस्तो जवाफ दिँदै एउटा ९८१४.... नम्बर दिएर समसुललाई फोन गर्नू भन्यो। ‘समसुल भाइ सलामलेकुम् काठमाडौं जायेके बा केतेरे होइ?’ उनले मलाई पहिलेदेखि नै चिन्दा रहेछन्, ‘अहिले त म घरमा छु वीरगन्ज पुगेर थाहा हुन्छ दाइ, सायद दुई दिनदेखि करोनाले मृत्यु भएको लास त्यतिकै छ आज वहाँहरुको अन्तिम बिदाइ गर्नुछ, एक जना भारतीय, अर्को चाहिँ जिराभवानी गाउँपालिकाको हुनुहुन्छ,’  अनि मर्ने मरिसके जिउँदोलाई पो बचाउने हो त भाइ आजको काम भोलि गर्दा हुन्न भनेर सम्झाएँ। उनले प्रतीप्रश्न गरिहाले, ‘दाइ ४ बजेभन्दा पहिला मेरो जाने अवस्था छैन र यो मेरो बसको कुरा पनि होइन, मेजर सा’बलाई वीरगन्ज आयेर भन्छु अनि मात्र तपाईँलाई भन्छु।’

यी सबै घटना रामनारायण अंकल र मेरो क्याका साथीलाई अवगत गराउँदै थिएँ।

मैले अंकललाई वीरगन्ज सेनाप्रमुख मदन राणा सरको नम्बर दिएर उहाँसँग कुरा गर्नुहोस् केही उपाय निक्लिएला कि भन्दै श्रीमतीजीसँग फेस गर्न नसकेर बाहिर निस्किएँ।

त्यसपछि अरू केही उपाय निस्कन्छ कि भन्दै सोच्न थालेँ। कोभिड महामारीमा भरोसा र सहायताको प्रतीकको रुपमा रहनुभएको एउटा सारथी नेपाल प्रहरी पर्साको प्रमुख गंगा पन्त म्यामलाई सम्झिएँ। तर उहाँसँग कुरा गर्न भनेर जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव सरलाई भने।

म यी कुरा घर छेउको किराना पसल नजिक गर्दै थिए। पसले पनि के कम, रूकि?  तुरुन्तै आफ्नो घरमा छोरालाई फोन गरेर आफ्नो ब्याग मगाए। फोन राख्न नपाउँदै छोराले ब्याग ल्याइदियो। कुनैबेला एउटा एम्बुलेन्स मालिकले भिजिटिङ कार्ड दिएका रहेछन्, कार्ड दिएको नम्बरमा फोन त लाग्यो। तर त्यही रेडिमेट उत्तर आयो। ‘कोभिड बिरामी त कहाँ लग्ने र?’ आखिरमा बिगत केही महिनादेखि यस्तै उत्तर सुन्ने मेरो बानी परिसकेको थियो।

बिहान ९ बजेर १९ मिनेटमा उहाँको पहिलोपटक फोन आएपछि यति गर्दासम्म दिउँसोको साढे १२ भइसकेको थियो। श्रीमतिजी रिसाएर हैरान्। खाना खादै फेरि अंकललाई फलोअप फोन गरे। सिडियो सा’ब र सेना प्रमुख दुबै जनासँग कुरा भइसक्यो। उहाँहरू सकारात्मक हुनुहुन्छ। तिमी ड्राइभरलाई यो कुरा गर भन्नु भयो। मैले पनि हजुरले एकचोटि कुरा गर्नु हाम्रो मुमताज हो तपाईंलाई राम्रो सँग चिनेको छ भनेर फोन राखेँ। त्यसपछि म आफ्नो घरायसी काममा लागेँ।

यो ब्लग लेख्नुको पछाडि केही बेतिथिहरू छन्, जुन तपाईहरूमाझ ल्याउने प्रयास गरेको छु।

एउटा एम्बुलेन्सका लागि कम्तीमा मैले चार जना गरि ३८ पट्कसम्म फोन गरेको छु। गर्नु पनि किन नपरोस यस्तो महामारिको बेला करीब ६ लाख जनसंख्या भएको पर्साभरिको बिरामी जम्मा ३ वटा एम्बुलेन्सले धानिरहेको छ। त्यसमध्ये पनि एउटा त पर्सा प्रहरी प्रमुखको नितान्त ब्यक्तिगत पहलमा चलिरहेको छ। यो कस्तो बिडम्बना! हामी पर्साबासीको लागि।

हिजोका दिनमा अस्पताल परिसरभित्र च्याउझै पाइने अस्पतालको दलाली र कमिसनमा चल्ने एम्बुलेन्स आज कुन दुलोमा पसे? यिनीको लाइसेन्स खारेज गरि मानवताको प्रतीकको रूपमा ज्यानको बाजी राखेर अहोरात्र खटिने मुम्ताज जस्तालाई लाइसेन्सको सहजता गर्ने।

मुस्ताज जसले केही वर्षदेखि एम्बुलेन्सको लाइसेन्स लिनलाई जनस्वास्थ्य कार्यालय जस्तो कति कार्यालय धाए। तर कही बाट सिप नलागेपछि अन्त्यमा हरेस खाएर नेपाल रेड्क्रसमा केही हजारको तलब खान बाध्य हुने सोझा र कर्तव्यपरायणलाई लाइसेन्स दिने कि नदिने? राज्यको यस्तो निरिहता प्रति नागरिक समाजले कहिले आवाज उठाउने?

पर्साका एक नेता जसले कति ड्राइभर नियुक्त गरे तर आफ्नो पालामा उनलाई नारायणी अस्थायी गण्डक कोभिड अस्पतालको बेडबाट कम्तीमा १० घन्टा प्रतीक्षा गर्नुपर्‍यो चालक नभएको एम्बुलेन्सको लागि। आम नागरिकको कस्तो हालत हुँदो हो, जे जति भनिए पनि उहाँले एम्बुलेन्स नपाउनु अर्को विकल्प नहुनू नै हो। यसको लागि नागरिक समाज बोलिदिने कि न बोलिदिने, सबै दोष जति नेताको टाउकामा हालेर वाञ्छनीय हुन्छ त?

नेपालको मुख्य औद्योगिक नगरी प्रदेश न २ कै एक मात्र महानगरपालिका वीरगन्ज जसले कुल राजश्ववको ५४ प्रतिशत हिस्सा दिन्छ त्यो महानगर केन्द्रीय सत्ताको शिकार भएकै हो।

विश्वकै उत्कृष्ट संविधान २०७२ ले तीन वटा सरकारको परिकल्पना गरेको छ । सबै सरकारको हक र अधिकारको सुनिश्चितता संविधानलेनै गरेको छ। आफ्ना लागि करोडौंको गाडी चढ्ने हामी जनप्रतिनिधि भनाउँदाहरू आम नागरिकको लागि उचित एम्बुलेन्स र शवबाहनको लागि प्रदेश र केन्द्रको मुख ताकिरहने हो? जनताको अपार संघर्ष र बलिदानीले प्राप्त संघीयताको अवमूल्यन भएन र!

अन्त्यमा यी यस्तै घटनाले सानो उद्धेश्य लिएर गठन गरिएको कोभिड एक्सन टिम (CAT) को परिकल्पनाले सार्थकता पाएको छ। म स्वयं यस्को सदस्य भएकोमा गर्वको अनुभूति भएको छ। आगामी दिनमा पनि आम जनता र सुबेच्छुकको अपार सहयोगको अपेक्षा गर्दछु।

लेखक तत्कालीन समाजवादी पार्टी पर्साको जिल्ला सचिव एवं क्याट्को सदस्य हुन्।

प्रकाशित मिति: : 2020-08-26 17:28:51

प्रतिकृया दिनुहोस्