पर्यटन वोर्डका प्रमुख रेग्मीको अभिव्यक्तिप्रति व्यवसायीको आपत्ति, माफी नमागे विकल्प सोच्न बाध्य हुने चेतावनी

लामो समयदेखि कोरोना भाइरसका कारण थला परेको पर्यटन व्यवसाय शून्यमा झरेर पर्यटनकर्मीहरू मर्माहत भएका बेला एउटा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्ज रेग्मीको अभिव्यक्तिले  पर्यटन व्यवसायी र पर्यटन मजदूरहरूलाई होच्याएको भन्दै ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) सहित पर्यटन वयवसायीले त्यसको चर्को विरोध गरेका छन्। 

रेग्मीले पर्यटन व्यवसायी तथा मजदुरहरुलाई लक्षित गरेर बिबिसीमा दिएको एक अन्तवार्तामा ‘झोलामा कम्पनी बोक्ने, एकाघरकाले कम्पनी चलाएर रोजगारी सिर्जना नगर्ने कर नतिर्ने र राज्यलाई नगन्य मात्र योगदान दिएको क्षेत्र’ भन्ने अभिव्यक्तिमाथि व्यवसायी रूष्ट बनेका हुन्।

टानका अध्यक्ष खुमबहादुर सुवेदीले एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमणबाट तहसनहस भएको पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी राहत तथा पुनरुत्थानका कार्यक्रम ल्याउनुपर्ने समयमा जिम्मेवार निकायका पदाधिकारीबाट यस प्रकारका भनाई सार्वजनिक हुनु दुःखद् विषय भएको उल्लेख गरेका छन्।

रेग्मीलाई तत्कालै सार्वजनिक अभिव्यक्ति सच्याएर माफी माग्नसमेत विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

बोर्डका प्रमुखको भनाइले नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रले पुर्‍याएको योगदानको अवमूल्यांकन भएको टानको ठहर छ। रेग्मीले सार्वजनिक रुपमा माफी मागी गल्ति नसच्याए कठोर विकल्पहरु सोच्न बाध्य हुने चेतावनी टानले विज्ञप्तिमार्फत दिएको छ ।

कोभिड–१९ का कारण थलिएको पर्यटनलाई उकास्न, पर्यटन मजदूरहरूका लागि राहत दिलाउन पहल गर्नुपर्ने बेलामा उल्टै पर्यटनकर्मीलाई होच्याउने काम गरेको भन्दै सामाजिक सञ्जालमासमेत सिइओ रेग्मीको चर्को आलोचना भइरहेको छ। 

प्रकाशित मिति: : 2020-08-31 17:01:20

प्रतिकृया दिनुहोस्