तापसीपछि रियाको पक्षमा विद्या बालन, भने– घटिया कुराहरुले मेरो मन दुखेको छ

नायक सुशान्त सिंह राजपुतको निधनपछि उनकी प्रेमिका रिया चक्रवर्तीलाई शंकाको घेरामा राखेर सीबीआइले सोधपुछ गरिरहेको छ। 

सुशान्त मुद्दामा अभियुक्त बनाइएकी प्रेमिका रिया चक्रवर्तीमाथि सीबीआईसहित तीन वटा निकायले छानविन गरिरहेका बेला बलिउड अभिनेत्री विद्या बालन उनको पक्षमा उभिएकी हुन्।

बलिउडमा सुरुमा कलाकार लक्ष्मी मान्चूले रियाको पक्षमा ट्वीट गर्दै मिडिया ट्रायलमाथि प्रश्न उठाएकी थिइन्। विद्याले लक्ष्मीको कुरामा समर्थन जनाउँदै रियाको पक्षमा बोलेकी हुन्।

तर, केही मिडियाले भने रियालाई हत्यारा प्रमाणित गरिसकेका छन्। यसले, रियालाई मानसिव तनाव भोग्नु परिरहेको छ। तर, अब भने केही नायिकाहरु रियाको समर्थनमा उत्रिएका छन्। नायिका विद्याले रियाको समर्थन गर्दै मिडियामा भैरहेको प्रचारवाजी गलत भएको उल्लेख गरेकी छिन्।

उनले ट्वीटरमा लेखेकी छन्, ‘यो निकै दुर्भाग्यपूर्ण हो कि हाम्रो प्रिय युवा स्टार सुशान्तसिंह राजपूतको निधन अब मिडिया सर्कस बनिसकेको छ। एक महिला हुनुको नाताले रिया चक्रवर्तीका बारेमा भइरहेका घटिया कुराहरुले मेरो मन दुखेको छ। के उनी तबसम्म निर्दोष हैनन् र जबसम्म दोषी साबित हुँदैनन्रु वा फेरि उनी निर्दोष साबित नहुँदासम्म दोषी हुन्? आउनुस् कुनै नागरिकका लागि संवैधानिक अधिकारको लागि केही सम्मान देखाउनुस् र कानूनलाई आफ्नो काम गर्न दिनुस्।’

यसअघि अभिनेत्री तापसी पन्नूले पनि लक्ष्मीको ट्वीटमा समर्थन जनाउँदै अदालतभन्दा अगाडि बढेर कसैलाई दोषी ठहर गर्नु कति सहि हो भनेर प्रश्न गरेकी थिइन्। उनले कानुनमाथि भरोसा राख्न पनि अपिल गरेकी थिइन्।

जुन १४ गते आफ्नै निवासमा मृत अवस्थामा फेला परेका सुशान्तको मुद्दामा सीबीआई, ईडी र एनसीबीले जाँच गरिरहेको छ। यो मुद्दामा सुशान्तका पिताले पटनामा रियासहित ६ जनाविरुद्ध उजुरी दर्ता गराएका थिए।

प्रकाशित मिति: : 2020-09-02 12:13:31

प्रतिकृया दिनुहोस्