वीरगञ्जमा २५ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा

वीरगञ्ज महानगरमा भदौ २५ गते राति १२ बजेसम्मका लागि पुनः निषेधाज्ञा लम्ब्याइएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङकाे अध्यक्षतामा बिहीवार बसेको जिल्ला सुरक्षा समितिका बैठकले निषेधाज्ञाको मोडालिटीमा परिवर्तन गर्दै निषेधाज्ञा लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए।

वीरगञ्ज महानगर क्षेत्रका पसल,तरकारी तथा फलफुल पसल खोल्ने निर्णय अनुसार निषेधाज्ञा पाचौ चरण अन्तर्गत थप ७ दिन लम्ब्याइएको हो। जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गर्दै तरकारी तथा फलफुल पसलहरु विहान ५ बजेदेखि ८ बजेसम्म दैनिक रुपमा खोल्न एवं विक्री वितरणको लागि वतावरण बनाउन जनाएको छ।

वीरगञ्ज रेलवे रोड घण्टाघर, स्कूलदेखि २ सय मिटर उत्तर तर्फ एकतर्फी रुपमा १५ फिटको दुरीमा पसल राख्न र तरकारी तथा फुलफुल बेच्न मापदण्ड तोकिएको छ।

त्यसैगरी अन्य पसलहरुको हकमा पुर्व र दक्षिण तर्फ मोहडा भएका पसलहरु सोमवार,बुधवार,शुक्रवार गरी सातामा तीन दिन विहान ११ बजेदेखि ४ बजेसम्म खोल्न पाइन्छ भने पश्चिम र उत्तर तर्फ फर्केका पसलहरु आइतवार ,मंगलवर र बिहीवार खोल्न पाइने बताइएको छ।

पसल सञ्चालन गर्दा कुनै किसिमको भीडभाड हुन नदिने र समाजिक दुरी कायम नभए ऐन बमोजिक पसलेलाई कारवाही गरिने जनाइएको छ।जिल्ला सुरक्षा समितिको बैठकले निजि तथा सार्वजनिक यातायातका गाडीहरु सञ्चालनमा रोक लगाएको छ भने सैलुन, ब्यूटिपार्लर, शैक्षिक संस्था, सामुहिक धार्मिक सांस्कृति काम, होटल, रेस्टुरेन्ट, चिया पसल, खाजा पसललगायतमा हाल पनि प्रतिबन्ध लगाएको छ।

साथै,कुनै पनि घरपरिवारका १२ वर्ष मुनिका र ६० वर्ष माथिका गम्भीर प्रकृतिका विरामीलाई आफनै घर परिसरमा राख्न वातावरण मिलाउने र स्वास्थयमा समस्या आए अस्पताको तथा स्वस्थ्यकर्मीको  सम्पर्कमा जाने बताइएको छ।

भदौ २५ गते सम्म निषेधाज्ञा लागु भयो भने कुल ४७ दिन सम्म वीरुगंजमा निषेधाज्ञा जारी हुनेछ। साउन १० मा साउन २० गतेसम्म पहिलो चरण,साउन २० देखि साउन ३२ सम्म दोस्रो,साउन ३२देखि भदौ १३ गते तेस्रो,भदौ १३ देखि १८ सम्म चौथो चरण र भदौ १८देखि २५ सम्म पाँचौ चरणको निषेधाज्ञा जारी भएको हो।  बैंकहरुले अतिआवश्यक सेवा बाहेक अन्य सेवा बन्द नै रहेको जनाइएको छ।

प्रकाशित मिति: : 2020-09-03 17:32:31

प्रतिकृया दिनुहोस्