रुसको लगातार दोस्रो जित

एजेन्सी

काठमाडौं

युईएफए नेसनस लिगअन्तर्गत समूह चरणको दोस्रो खेलमा रुसले हंगेरीमाथि कठिन जित निकालेको छ। आइतबार राति भएको खेलमा रुसले हंगेरीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । 

हंगेरीको घरेलु मैदानमा भएको खेलमा रुसलाई जिताउन एन्टोन मिरान्चुक, मागोमेद ओजडोयभ र मारियो फर्नान्डेसले एक–एक गोल गरेका हुन् । उता हंगेरीका लागि रोनाल्ड र नेमान्ज निकोलोसले एक–एक गोल फर्काए। 

खेलको १५ औँ मिनेटमा एन्टोनले गोल गर्दै रुसलाई अग्रता दिलाएका थिए। ३३ औं मिनेटमा मागोमेदले गोल गर्दै रुसको अग्रता दोब्बर पारे। पहिलो हाफमा दुई गोल गरेको रुसले दोस्रो हाफमा थप एक गोल गरेको थियो । 

रुसका लागि खेलको ४६ औं मिनेटमा फर्नान्डेजले गोल गर्दै ३–० गोलको अग्रता दिलाए। उता हंगेरीले पनि दोस्रो हाफमा दुई गोल गर्न सफल भएको थियो।  खेलको ६२ औँ मिनेटमा रोनाल्डले गोल गर्दै हंगेरीका लागि केही राहात दिलाए । ७० औँ मिनेटमा निकोलसले हंगेरीका लागि गोल गर्दा पनि टिमको हारलाई टार्न भने सकेनन् । 

जितसँगै समूह जीको रुसले दुई खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा आफूलाई स्थापित गरेको छ । दोस्रो स्थानमा रहेको हंगेरीको ३ अंक छ।

प्रकाशित मिति: : 2020-09-07 00:05:34

प्रतिकृया दिनुहोस्