रुसमा कोरोना भाइरसको भ्याक्सिन सर्वसाधारणका लागि उपलब्ध

रुसले दावी गरेको कोरोना भाइरसको भ्याक्सिन ‘स्पुटिनिक भी’ लाई सर्वसाधारणका लागि सार्वजनिक गरिएको छ। स्वास्थ्य मन्त्रालयले यसको जानकारी दिँदै भ्याक्सिन सर्वसाधारणको पहुँचमा पु¥याउन सार्वजनिक गरेको बताएको छ। 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को विरोधका बाबजुद ११ अगस्टमा रुसले ‘स्पुटिनिक भी’ भ्याक्सिनलाई स्विकृति प्रदान गरेको थियो। डब्ल्यूएचओले तेस्रो चरणको परीक्षण नगरि स्विकृति प्रदान गरिएको ‘स्पुटिनिक भी’ ले मानवजातिको स्वास्थ्यमा गम्भीर असर पर्ने दावी गरेको थियो। 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो छोरीलाई भ्याक्सिनको पहिलो खोप लगाएको जानकारी दिँदै केही महिनाभित्र सर्वसाधारणका लागि उपलब्ध हुने बताएका थिए। उनले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप उपलब्ध गराउने बताएका थिए। 

सर्वसाधारणका लागि खुला गरिएको ‘स्पुटिनिक भी’ खोप कार्यक्रमको आयोजना सरकारले गर्ने हो कि बजारमा सिधै उपलब्ध हुने हो, यसको जानकारी बाहिर आएको छैन।

स्वास्थ्य मन्त्रालयले औषधीको जाँच गरिरहेको रोजद्रावनजोर ल्याबले गुणात्मक परीक्षण पास भएपछि जनतामाझ भ्याक्सिन उपलब्ध गराउने बताएको छ। यो भ्याक्सिनलाई रुसको गामलेया नेशनल रिसर्च सेन्टर अफ इपिडेमियोलोजी तथा रुसी डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले मिलेर तयार पारेको हो। 

मस्कोका मेयर सर्गेई सोब्यानिनले पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘केही महिनाभित्रै धेरै मानिसलाई खोप लगाउने काम सम्पन्न भइसक्छ।’

रुसमा हाल १० लाख बढी संक्रमित छन्। १७ हजारभन्दा बढीको ज्यान गइसकेको छ।

प्रकाशित मिति: : 2020-09-09 08:33:21

प्रतिकृया दिनुहोस्