श्रमिक भोकाएको सहर

नेपाल लाइभ

काठमाडौँ

निमेष जंग राई/ऋग्वेद शर्मा

 

धन्न यो सहरमा श्रमिकको भोक देख्ने केही मनकारी छन्, र जसोतसो एक छाक जोहो भइरहेको छ। होइन भने 'कोही भोको रहनुपर्दैन' भन्ने प्रधानमन्त्रीको भाषणले मात्रै त पेट कसरी भरिँदो हो!

रोगको डरभन्दा भोकको पीडा बढी हुँदा केही खान पाउने आशमा श्रमिकहरु निषेधाज्ञा तोडेर सहरका कुना चियाउन बाध्य छन्। उनीहरु हात थापेर खानेहरु होइनन्। पसिना सिञ्चेर नै बाँचिरहेका हुन्। तर परिस्थिति यस्तो परिदियो कि श्रम बेच्नसमेत नपाएर आश गर्नु परिरहेको छ।

चैतदेखिको लकडाउनले १ सय १० दिन अति मुस्किलले बित्यो। अब काम पाइएला कि भन्ने आश बढिरहँदा फेरि अहिले निषेधाज्ञा लागेको पनि २२ दिन पुगिसक्यो। कोठाभित्र थुनिएर खाइरहन पुग्ने जोहो श्रमिकको छैन। पसिना बगाउन पाएको दिन खान पाइन्छ। हात र मुख जोड्ने एउटै धागो हो, पसिना। तर पसिना बगाउने अवस्था नै कहाँ रह्यो र?

पहिलो लकडाउनका बेला पाएका केही राहत पनि कतिञ्जेल पुगोस्। यसैले परिवारको अनुहार हेरेर अहिले श्रमिकहरु खानाको खोजीमा निस्कन्छन्। उपत्यकामा रत्नपार्क, पशुपति क्षेत्र, स्वयम्भू, बौद्ध, गोंगबु लगायत केही स्थानमा मनकारीहरुले श्रमिकका लागि बिहान र बेलुका खाना बाँडिरहेका देखिन्छन्। त्यहाँ सयौँ श्रमिकहरु लामबद्ध भएर खाना पर्खिरहेका हुन्छन्।

सहरमा भोकको यो श्रृङ्खला चलेको लामै समय भयो। तर उनीहरु पनि छन् भन्ने सरकारलाई थाहा छैन। थाहा हुनलाई कुनै चुनाव नामको 'सर्कस' पनि त नजिकिएको छैन।

प्रकाशित मिति: : 2020-09-09 13:55:41

प्रतिकृया दिनुहोस्