मनास्लु हिमाल चढ्न बहराइनको राजपरिवारका सदस्य बुधबार काठमाडौंमा उत्रिँदै

कोरोना महामारीका बीच विश्वको आठौं उच्च हिमाल मनास्लुको आरोहणका लागि बहराइनको राजपरिवारका सदस्यसहित १८ जनाको आरोहण टोली बुधबार काठमाडौंंमा उत्रिँदैछ। 

आरोहण टोलीमा बहराइन शाही सेनाका १५ सदस्य र बेलायतका ३ जना सहभागी छन्। यिनीहरू विशेष विमानद्धारा बुधबार दिउँसो ३ बजेर १५ मिनेट जाँदा त्रिभुवन विमानस्थलमा उत्रिने छन्। 

बहराइन सरकारको विशेष आग्रहमा नेपाल सरकारले कोरोनाको महामारी बीच बहराइनको हिमाल आरोही टोलीलाई स्वीकृति प्रदान गरेको थियो। कोरोनाका कारण नेपालमा हिमाल आरोहण गत मार्चदेखि बन्द छ।  

मनास्लु हिमाल आरोहणका लागि आउन लागेका बहराइनी टोलीमा अल–खलिफा परिवार (राजपरिवार) का सदस्य मोहम्मद हमद मोहम्मद अल–खलिफा छन्। उनकै नेतृत्वमा टोलीले ८ हजार १ सय ६३ मिटरको उचाईंमा रहेको मनास्लु हिमालको आरोहण गर्नेछ।  

यो पुरै अभियानलाई युवराज तथा शाही सेनाका कमाण्डर शेख नासेर बिन हमद अल–खलिफाले प्रायोजन गरेका छन्। उनी राजा हमद बिन इसा अल–खलिफाका चौथो सन्तान हुन्। 

बुधबार नेपाल उत्रिने आरोही टोली ६ दिन गोकर्णस्थित रिसोर्टमा क्वारेन्टाइनमा बस्नेछ। र, २२ सेप्टेम्बरमा चार्टर विमानमार्फत लुक्ला विमानस्थल हुँदै नाम्चेबजार लाग्ने नेपाल उड्डयन प्राधिकरण श्रोतले बिएल नेपाली सेवालाई जानकारी दियो।  

मनास्लु आरोहण गर्नुपूर्व चिसो मौसममा घुलमिल हुन तथा ‘वार्म–अप’ का लागि १ अक्टुबरमा ६ हजार १ सय १९ मिटर उचाईंमा रहेको लोबुचे हिमालको आरोहण गर्नेछ। फेरि काठमाडौं फर्किएर यो टोली ४ अक्टुबरमा सामा गाउँ हुँदै मनास्लुतर्फ लाग्नेछ। बहराइनको आरोही टोलीले १७ अक्टुबरमा मनास्लु हिमाल चढ्ने कार्यक्रम रहेको छ। 

करिब डेढ महिना लामो कार्यक्रम समाप्त गरेर यो टोली ३१ अक्टुबरमा बहराइन फर्किने छ।

प्रकाशित मिति: : 2020-09-15 22:21:25

प्रतिकृया दिनुहोस्