क्रिकेटर ललितको उपचारमा राखेपले सहयोग गर्ने, उपचार सुधारोन्मुख

मोटरसाइकल दुर्घटनामा घाइते भएका क्रिकेटर ललित भण्डारीको उपचारमा  राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सहयोग गर्ने भएको छ ।

राखेपका सदस्य सचिव रमेश कुमार सिलवालसहित राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल, निवर्तमान कप्तान पारस खड्का, नेपाल क्रिकेट संघ (क्यान)का सदस्य छुम्मबी लामा लगायत मंगलबार ललितको स्वास्थ्य अवस्था बुझ्न टोखास्थित ग्रान्डी अस्पताल पुगेका थिए ।

सदस्य सचिव सिलवालले ललिती श्रीमतीसँग कुरा गर्दै निजको अमूल्य योगदानलाई उच्च कदर गर्ने र उपचार प्रकियामा संलग्न खर्चमा राखेपले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको क्यान सदस्य लामाले जनाएका छन् ।

आइतबार कञ्चनपुरमा ट्रकको ठक्करबाट घाइते भएका भण्डारीलाई स्थानीय अस्पतालमा उपचारपछि सोमबार बाँकेको कोहलपुर मेडिकल कलेजमा लगिएको थियो । त्यहाँबाट हेलिकप्टरमा उनलाई सोमबार काठमाडौंको ग्राण्डी अस्पतालमा थप उपचारका लागि ल्याइएको छ।

खतरामुक्त भएका भण्डारीको दायाँ खुट्टा र हात भाँचिएको छ कलेजोमा पनि चोट देखिएको छ।

यसअघि क्रिकेट खेलाडी संघ सिप्यानले पनि ललितको उपचारमा सहयोग गर्ने भन्दै रकम संकलनका लागि पनि आह्वान गरेको थियो ।

उनलाई सोमबार र मंगलवार आइसियूमा राखिएको थियो । उनको अप्रेसन बुधबार गर्ने सम्भावना छ।

धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको मिनिट्रकले आइतबार साँझ कञ्चनपुरको झलारी बजारमा भण्डारीले चलाएको म २ प ४७०५ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० का बासिन्दा भण्डारी महेन्द्रनगरबाट घर फर्किदा दुर्घटनामा परेका हुन् । उनको पछाडि सवार करन ठगुन्ना भने सामान्य घाइते भएका छन् ।

भण्डारी राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका बायाँ हाते तीव्र गतिका बलर हुन्। पछिल्लो समय उनी नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्दै आएका छन् ।

भण्डारी फ्रेन्चाइज लिगका पनि नियमित खेलाडी हुन्। उनले सन् २०१७ मा आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप  अन्तर्गत संयुक्त अरव इमिरेटस् (यूएई) विरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।

भण्डारीले सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध एकदिवसीय खेल खेलेका थिए । त्यसअघि उनले नपालका लागि विभिन्न उमेर समूहका प्रतियोगिता खेलिसकेका छन् ।

प्रकाशित मिति: : 2020-09-16 07:18:26

प्रतिकृया दिनुहोस्