अर्थतन्त्र शिथिल हुँदा पनि सेयर कारोबार बढ्नुको प्रमुख कारण लगानीकर्ताको मनोबल

बाह्रखरी

काठमाडौं

पछिल्लो केही सातायता सेयर बजार लगातार बढिरहेको छ । बजार परिसूचक नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बजार बढिरहे पनि नेप्सेको अनलाईन कारोबार व्यवस्थापन प्रणालीमा आएको समस्याले गर्दा लगानीकर्ताले हैरानी भने व्यहोरिरहेका छन् । टीएमएसकै समस्याले गर्दा गत बहिबार भएको सेयर कारोबारको राफसाफ अझै हुन सकेको छैन ।

नियामक नेपाल धितोपत्र बोर्ड र बजार सञ्चालक नेप्से टीएमएसमा समस्या आउनुमा एक-अर्कालाई दोषारोपण गरिरहेका छन् । टीएमएसमा देखिएको समस्या समाधानका लागि अर्थ मन्त्रालयले दुवै संस्थालाई राखेर तत्काल समस्या समाधान गर्न निर्देशन दियो । यस्तै मंगलबार अर्थ मन्त्रालयको टोली नेप्से कार्यालयमै पुगेर समस्या समाधान गर्न निर्देशन दियो ।

कोभिड १९ ले अर्थतन्त्र शिथिल छ । तर अर्थतन्त्रको ऐनाको रुपमा रहेको सेयर बजार भने लगातार बढिरहेको छ । अहिलेको बेलामा बजार बढ्ने कारण के हुन सक्छ त ? यस्तो परिस्थितिमा पनि बजार बढ्नुलाई सेयर बजारका विश्लेषकले भने नेपालको बजार ‘इकोनोमिक फन्डामेन्टल’ भन्दा पनि अन्य कारणले चलेको बताउँछन् ।

तर, धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढङ्गाना भने सेयर बजार बढ्नुमा बाह्य कारण नरहेको दाबी गर्छन् । अर्थतन्त्र ठप्प हुँदा व्यापार व्यवसायलगायत अन्य लगानीको क्षेत्र नभएको र एकमात्रै लगानीको विकल्प पुँजीबजार हुँदा बजारमा उत्साह देखिएको उनको दाबी छ । कतिपयले अर्थतन्त्र शिथिल हुँदा कर्जाको माग नभएको र बैंकहरूमा अधिक तरलता हुँदा कर्जाको ब्याजदर घटेको तथा सेयर बजारमा लगानीको लागि पुँजी उपलब्ध भएकाले पनि प्रतिकूल अवस्थामा पनि सेयर बजार बढेको बताउँछन् । 

प्रकाशित मिति: : 2020-09-16 13:32:06

प्रतिकृया दिनुहोस्