विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन शुरु

काठमाडौँ महानगरपालिकाले विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन शुरु गरेको छ । महानगरपालिकाको राजश्व विभागले पछिल्लो समय कोभिड–१९ को महामारी बढ्दै गएपछि सेवाग्राहीले घरमै बसेर प्रविधिको प्रयोगमार्फत राजश्व दाखिला गर्ने व्यवस्था मिलाएको हो । 

काठमाडौँ महानगरपालिका–२६ वडा कार्यालय लैनचौरमा आज महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत एकनारायण अर्यालले उक्त सेवाको शुभारम्भ गरे। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत अर्यालले महानगरपालिकाको सातौँ अधिवेशनले कर प्रणालीलाई विद्युतीय प्रणालीमार्फत थालनी गर्ने निर्णय गरेअनुसार आजदेखि महानगरका वडामा विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन शुरु गरिएको जानकारी दिए।

“विश्वको बदलिँदो परिस्थिति र कर प्रणाली झन्झटिलो भयो भन्ने महानगरवासीको गुनासोलाई सम्बोधन गर्न विद्युतीय प्रणालीमार्फत सेवा प्रदान गर्न लागेका हौँ,” उनले भने । विद्युतीय प्रणालीमार्फत सेवा दिएसँगै विदेशमा बसेरसमेत कर तिर्न सकिने उनको भनाइ छ । 

काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले विद्युतीय प्रणालीमार्फत सेवा प्रदान गरेसँगै जनताले घरमै बसेर सेवा लिनसक्ने भएकाले वडा कार्यालयमा भीडभाडसमेत कम हुने उल्लेख गरे। काठमाडौँ महानगरपालिकाले शुरु गरेको उक्त सेवा देशभरका स्थानीय तहलाई काम लाग्ने उनको भनाइ थियो । 

काठमाडौँ महानगरपालिका राजश्व विभागका प्रमुख गुणनिधि न्यौपानेले करदातालाई थप सेवा पुर्याउने उद्देश्यले उक्त प्रविधिको शुरुआत गरिएको जानकारी दिए। असोजभित्र काठमाडौँका ३२ वटै वडामा उक्त प्रविधि जडान गरिसक्ने उनको भनाइ थियो ।

साङ्ग्रिला इन्फरमेटिक्स प्रालिले उक्त सफ्टवेयर निर्माण गरेको हो । प्रालिका अध्यक्ष वसन्त वनले घरमै बसेर विभिन्न माध्यमबाट कर तिर्नसकिने भएकाले सानो कामका लागि वडा कार्यालय धाउन नपर्ने बताए।

महानगरपालिकाले आजदेखि महानगरपालिकाका १, २, ३, ४, १०, ११, १५, २६, ३० र ३१ वडा कार्यालयबाट विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन शुरु गरेको छ । रासस

प्रकाशित मिति: : 2020-09-17 17:26:47

प्रतिकृया दिनुहोस्