उमेरले पैंसठ्ठी काटिसकेको भाइसँग उतिबेलादेखि नै छुट्टिएर अलग्गै बसेका थिए। भाइसँग झगडा त धेरै टाढाको कुरा हो, कहिल्यै मनमुटाव समेत भएन। दुबैले आ-आफ्नो तरिकाले परिवार चलाए। घरमा बिहे व्रतबन्ध होस् या चाडपर्व मनाउँदा भाइको पुरै परिवार टुप्लुक्कै उनकै दैलोमा आइपुग्थ्यो।

अँ भाइले आफ्नो छोराहरुलाई नपढाएकोले उसका छोराले खासै प्रगती केही गर्न सकेनन्। उसको घरको आर्थिक अवस्था भने उनको भन्दा निकै कमजोर भएकोमा दया पनि मान्थे र आफूले सक्ने सहयोग बेला बेला गरेकै थिए।

खड्कप्रसाद भाइले किन मुद्दा हाल्यो भनेर सोच्न थाले। खासै कुनै कुरो थाहा पाउन सकेनन्। तर भाइले उतिबेलादेखि नै जग्गा बाँड्दा खोलापारिकोमा आफ्नो भाग परेन भन्दै बेला बेला दुखेसो पोख्थ्यो। कतै त्यहीँ कुराले पो हो कि? कतै आमाको भाग लागेको जिउनीको खेतबारी अहिलेसम्म सबै आफैले खेति गरेँ भनेर पो हो कि?

अहिले त उनलाई आफूले भाइलाई जिउनीको भाग   नदिएकोमा पछुतो पनि लाग्न थाल्यो। फेरि सोच्न थालेँ यदि भाइलाई जिउनी चाहिएकै भए पनि आएर एकपटक मसँग नभए छोरासँग सोध्नुपर्ने। सिधै अदालततमा मुद्दा हालेको भनेर भित्रभित्रै आक्रोशित पनि बने। रात भरी नै यस्तै यस्तै सोच्न थाले फिट्टिक्कै निदाउन सकेनन्।

हिजोराति निदाउन नसकेकोले बिहान जिउ भारी भएको महसुस गर्दै थिएँ। तर पनि सकिनसकी आमाको सेवा गर्न सुरूगरिहाले। ‘अहिले खाना खाएर अदालतमा हाजिर हुन जानू छ हौ बा!,’ जेठो छोराले भने। अदालत भन्ने सुन्ने बित्तिकै फेरि मनमा अनेकौं कुरा खेल्न थाले। किन रहेछ जान्ने कौतुहल्ता लाग्यो? साथै डर पनि लाग्न्न थाल्यो।

जेठो छोराको कोट समाएर बल्ल बल्ल मोटरसाइकलमाथि उक्लन सके। जेठो छोराले घुर्रररर मोटरसाइकल कुदाए। करिब एक घण्टा जति कुदेपछि उनीहरु झर्ने ठाउँ आइपुगेछ। छोराले अलि टाढा लगेर मोटरसाइकल राखे र बाबुछोरा अदालतको ढोका भित्र पसे।

अलि परको बेन्चमा ठाउँठाउँमा च्यातिएको पुरानो लुगा लगाएको एक बूढो मान्छे भएको ठाउँमा उनको नजर टक्क अडियो। कतै चिनेको जस्तै लाग्यो नजिकै गएपछि चिनिहाले। तिनी त आफ्नै भाइ भिमप्रसाद पो रहेछन्। ‘दाजु ढोग गरेँ’ भन्दै ती बुढा मान्छेले पाउ छोइहाले।

जय होस् बाबू भन्दै भन्न नपाउँदै ‘दाई, आमा आइनन् त?’ भिमप्रसादल बोलिहाले।

‘किन मलाई मात्रै जेल हालेर हुँदैन, बुढी आमालाई पनि जेल हाल्न लागिस् र?’ बुढाले कड्किएर बोले!

भाइले निन्याउरो मुख लगाए। तर केही बोल्न सकेनन्।

दुबै भाइको फेरि बोलचाल भएन। एकै बेन्चमा एकै आमाको दुई सन्तान दुई तिर फर्केर बसे। सायद अदालत भन्ने ठाउँ नै यहीँ हो यहाँ कहिल्यै पनि दुई पक्ष एक हुनै सक्दैनन्। हारजित त अदालतले फैसला गरिदिन्छ तर त्यस्तो कुनै अदालत छैन जहाँ दुबै पक्षको हारजीत भन्दा पनि मन मिलेर फर्किउन्।  

केही समय पछि खड्कप्रसादको जेठा छोराले खवर ल्याएर आए, ‘बा, हाम्रो काम आज नहुने भयो। भोलि बज्यैलाई पनि साथमा ल्याएर आउनुपर्ने भयो अनि मात्रै फैसला हुने रहेछ। मैले भर्खरै वकिलसँग बुझेर आएँ।’

नजिकै रहेका कान्छा बालाई नदेखे जस्तै गरेर आफ्नो बाको पाखुरो समाएर हिँडाएर लगे।

‘जेठा त्यसले मुद्दा चाहीँ किन हालेको रहेछ?’ भनेर धेरै पटक सोध्ने हिम्मत गरे तर सकेनन्। छोराले किन चाहियो हजुरलाई? हजुर बुझ्नु हुन्न। हजुरकै कारणले गर्दा पो हो भन्देला कि भन्ने सोचिरहे।

भोलिपल्ट बिहान नौ बजे तिर घर अगाडि आएर एउटा सेतो जिप रोकियो खड्कप्रसाद र उनको छोरो लागेर आमालाई गाडीको सिटमा बसाले। खड्कप्रसाद आमा सँगै गाडीमा बसे। जेठो आफ्नो मोटरसाइकलममै जाने भएछन्।

ठाउँठाउँमा गाडीले उफार्दा उनी आमालाई जोड्ले अंठ्याउथे र गाडी बिस्तारै चलाउन भन्दै ड्राइभरलाई अनुरोध गर्थे। अदालत नजिकैकोको एउटा चौतारोमा भाइ र उनको छोरो बसेर रोटी खादै गरेको झ्याप्पै देखे। आमालाई देखाउन नपाउँदै गाडी धेरै अगाडि आइपुग्यो।

‘दिउँसो २ बजे फैसला हुने भयो हजुरहरू यहीँ बस्नुस् म चाहिँ बजार गएर आउछु,’ जेठो छोरा निस्किहाले।

एकैछिन पछि कान्छा आफ्नो कान्छो छोरो सुरेशसँगै अदालत भित्र आए। उनीहरू दुबैले पालैपालो आमा र दाइलाई ढोग गरे र आमासँग कुराकानी गर्दै बसे। जेठाले सुनिरहे मात्र।

दिउँसो २ बज्यो। दुबै पक्ष अदालत भित्र गएर आ-आफ्नो बस्ने ठाउँमा बसे।

न्यायाधीशको आगमन हुने बित्तिकै सबै आ-आफ्नो सिटबाट उठेर सम्मान व्यक्त गरे र न्यायधीशको आदेश अनुसार बादी पक्षका वकिलले बोल्न सुरू गरे।

‘मेरो क्लाइन्टले मुद्दा हाल्नुको कारण यो छ कि श्रीमान्, उहाँको आमा अहिलेसम्म (प्रतिवादी) उहाँको सहोदर दाजु श्री खड्कप्रसादज्यूसँगै बसिरहनु भएको छ। अब दाजुको उमेर पनि सत्तरी भन्दा बढी भइसकेकोले उहाँले अब आफ्नै काम पूरा गर्न पनि अरूको आवश्यकता पर्न थालिसक्यो। त्यसैले अब आमाको सेवा गर्न आफूले पाउनुपर्छ भन्ने हो।

जब उहाँ बच्चा हुनुहुन्थ्यो उहाँले आमाको भरपुर माया र सेवा पाउनुभयो। आमाले उहाँलाई कुनै कुराको कमी हुन दिनुभएन। आमाले आफू भोकै बसेर पनि सन्तानको पेट भोको रहन दिनुभएन।

श्रीमान तर जब अहिले उहाँ ठूलो हुनु भयो उहाँलाई भने आमाको सेवा गर्ने मौका दिइएन। जब कि आमाले दुई भाइलाई बराबरको माया दिनु भएको थियो भने अब बुढेसकालमा सेवा गर्ने अवसर पनि त दुबै भाइले बराबर गर्न पाउनु पर्‍यो। धन्यवाद।’

वकिलको बयान सुन्ने बित्तिकै एका एक अदालत भित्र सन्नाटा छायो। सबैका अनुहारमा वादल लाग्यो। अब बोल्ने पालो बादी पक्षको वकिलको थियो।

बादी पक्षको वकिलले खड्कप्रसादलाई नै कठघरामा बोलाएर बोल्न लगाए।

‘श्रीमान् मैले अहिलेसम्म आमाको सेवामा कुनै कमि गरेको छैन। मेरी आमा मेरो जिउँदो भगवान हुन्। म जिउँदो रहने बेलासम्म आमाको सेवा गरिरहन चाहन्छु। मबाट मेरी आमा नखोसिदिनुस्। एक पटक आमालाई नै सोध्नुस्। आमालाई कुनै दु:ख छ र उहाँ आफैं जान चाहनु हुन्छ भने मात्रै जान दिनुहोस्। नत्र म बूढो मान्छे माथि दया गर्नुहोस्।’ उनका आँखाबाटा आँसुका धार बग्न थाले। वकिलले आफ्नो खल्तीबाट एउटा सानो रुमाल ल्याएर दिए।

एक हातले चस्मा निकालेर अर्कोहातले आँसु पुछिरहेका न्यायाधीशले हातैको इसाराले आमालाई कठघरामा ल्याउने अनुमति दिए।

कठघरामामा एउटा कुर्सी ल्याएर आमालाई बसालिसकेपछि न्यायाधीश आफैंले रून्चे स्वरमा सोधे, ‘आमा तपाईँ कुन छोरासँग बस्न चाहनु हुन्छ नि?’

‘अब हजुर नै न्यायधीश हो। हजुरले जहाँ भन्नू हुन्छ म त्यहीँ बसुला। म त जुन छोरासँग बसे पनि खुसी नै हुन्छु,’ काप्दै गरेको मसिनो स्वरमा आमाले भनिन्।

निकै सवाल जबाफ भैरहे। जेठाछोराले आफू आमा बिना एक्लै बस्नै नसक्ने बताइरहे। कान्छाले पनि आफ्ना दाजु बूढो भैसकेकोले अब आमा र दाजु दुबैको सेवा गर्न आफू तयार छु भन्न थाले।

निकै समय पछि न्यायधीशले अन्तिम निर्णय सुनाए, ‘अबदेखि आमाको सेवा गर्ने पालो कान्छा छोराको नै हुनेछ। तर जेठा छोराले चाहेको बखत जुन सुकै बेला पनि आमासँग भेटघाट गर्न पाउनेछन्, भेटघाट गराइदिनु पर्नेछ।’

निर्णय पछि खड्कप्रसादको आँखाबाट कर्णाली नदि बगिरहयो। उनको आवाज एकाएक बढेर साउनमा उर्लिएको भेलसरी गर्जीरहयो। उनी भक्कानिरहे।

प्रकाशित मिति: : 2020-09-19 13:27:00

प्रतिकृया दिनुहोस्