आयआर्जनमा महिला -२

अहिले लाखौंको ‘बिजनेस’ सम्हाल्छिन् पढ्न नपाएकी 'रुपा'

Breaknlinks
Breaknlinks

साविकको शनीगाउँ गाविस रुगाकी रुपा रोकाया ३५ वर्षकी भइन्। २० वर्षको उमेरमा उनले सोही गाविसको फुग्रका नवीन रोकायासँग बिहे गरेकी थिइन्। उनलाई स्कुलसम्म पुग्ने परिस्थिति बनेन।

उनले टाढाबाट स्कुल देखिन्। स्कुलको ढोकासम्म पुगिन्। निधारमा टीका लगाएका जस्ता देखिने गरी लेखिएका स्कुले गेटको सिरानीका अक्षर पनि देखिन्। तर गेटभित्र कहिल्यै छिर्न पाइनन्। माथि नै भनिसकिएको छ, परिस्थिति त्यस्तै थियाे।

उनै रुपा रोकाया आज नामी व्यापारी बनेकी छन्। सिंजा क्षेत्रको मुटु नराकोट बजारमा 'हिमा कर्णाली' नामको भव्य होटल सञ्चालन गरिरहेकी उनीसँग संघर्षको रोचक कथा छ।

माथिल्ला दुई अनुच्छेदमा भनिएको उनले पढ्न नपाउनुको खास परिस्थिति माओवादी युद्ध हो। उनले स्कुलभित्र कहिले छिर्न नपाउनु र 'क' अक्षरसमेत चिन्न नपाउनुको कारण माओवादी युद्धको डर हो। त्यसबेला माओवादीहरु स्वयं उपस्थित भएका थिएनन्। उनीहरु आउनुभन्दा अगाडि डरको तुफान आएको थियो। माओवादीबारे गाउँघरमा अनेक टीकाटिप्पणी हुन्थे। गाउँमा डरको भागदौड सुरु हुँदै थियो।

त्यही भागदौडको म्याराथनमा सामेल हुँदाखेरी रुपाको गोरेटो कहिल्यै पनि स्कुलतिर सोझिएन। त्यसकारण उनले पढ्न पाउने परिस्थिति बनेन।

स्कुल पढेर जागिर खान पाइन्छ, नभए आफूलाई कतैबाट काम लागिजाला भन्ने समेत चेत नभएकी उनलाई पैसा कमाउनुपर्छ भन्ने चेत भने सानैदेखि थियो। त्यसैले सानैदेखि उनले ज्यालादारी मजदुरी रोजिन्।

त्यही यात्रामा उनले व्यापार सिकिन्। वस्तु विनिमय सिकिन्। गाउँबाट आलु लिएर बजारमा चामलसँग साट्न सिकिन्। चोतो कोइरोको व्यापार पनि गरिन्। कोइरो लेकका भेगको अत्यन्तै लाभदायक उत्पादन हो। गोलो, गुलियो, सेतो रंगको सलगम जस्तो देखिने कोइरो लेकका बस्तीका निम्ति आज पनि पूज्य छ।

भारी बोक्नमा उनी माहिर थिइन्। त्यसैले गाउँमा आएका योजनाको लागि उनलाई सबैभन्दा पहिला सम्झिइन्थ्यो। उनी जुम्ला बजारबाट ५० किलाको सिमेन्टको बोरा बोकेर सिंजा पुग्थिन्। त्यो पनि सापीकाँधको ठाडो उकालो लेक काटेर।

'यताबाट रोटी र पीठो बोकी जान्थ्यौँ। बजार पुग्न एकदिन पूरै लग्थ्यो। आउँदा सिमेन्टको बोरा बोकेर आउँथ्यौँ। त्यो पनि एकैदिन पूरा लाग्थ्यो,' उनले भनिन्, 'एकदिन बजार पुग्न र एकदिन भारी बोकेर फर्किनु गरी २४ दिन लगाएर १२ बोरा सिमेन्ट बोकेकी हुँ। छ हजार रुपैयाँ कमाएँ। त्यसरी नै पैसा कमाउने रहर जाग्दै गयो।'

उनले ६० रुपैयाँ दैनिक ज्यालाबाट पैसा कमाउन सुरु गरेकी थिइन्। दैनिक पाँच सयसम्म पुर्याइन्। त्यसरी नै काम गर्दै गयो भने पैसा कमाइ हुने उनको सोच थियो। २०६४ सालमा उनले बिहे गरिन्। पाँच वर्ष घरधन्दा गर्दै बिते। कमाइ रोकियो।

व्यापार, व्यवसाय र कामधन्दामा सिपालु रुपालाई पैसा कमाउन पुगेकै थिएन। घरमै बस्दाका पाँच वर्ष उनलाई अहिले पनि ऐँठन लाग्छन्। मेहनतले पैसा कमाउने सोचेकी उनी र उनका श्रीमान् काठमाडौँ गए। त्यहाँ होटल गर्ने उनीहरुको सोच थियो। माइती र घर दुबैतिरका सासूससुरा र आमाबुवा बिरामी थिए। त्यसैले श्रीमान् श्रीमती दुबै गाउँ फर्किए।

समस्या सुल्झिएपछि नराकोटमा होटल सञ्चालन गरे। त्यतिबेला उनीहरुसँग जम्मा २० हजार रुपैयाँ थियो। होटल सञ्चालनको प्रेरणाको स्रोत भने रुपाका श्रीमान् नवीन हुन्।

नवीन १२ पढ्न सुर्खेत गएको बेला ग्यारेजमा काम गर्थे। त्यहाँ आउने ग्राहकलाई साहुले चिया खुब खुवाउँथे। चिया बिक्री भएको देख्दा उनलाई त्यस्तै गरी व्यापार गर्न पाए हुन्थ्याे भन्ने लाग्थ्यो। अर्काको काम गर्नुभन्दा आफ्नै काम गर्नुपर्ने धराणाको विकास भयो।

रुपाका श्रीमान् नवीनले भने, 'सानो एउटा चिया पसल किन नहोस् आफ्नै भयो भने मालिक हुन पाइन्छ भन्ने थियो। त्यही भएर व्यापार गर्न भनी काठमाडौँसम्म गयौँ। परिस्थिति नमिलेपछि फर्कियौँ। सानो भए पनि व्यापार यतै गरौँला भनेर लागेका थियौँ। अहिले त असाध्यै राम्रो छ।'

उनी आफू जता गए पनि श्रीमतीले व्यापार गरोस् भन्ने चाहन्थे। व्यापार राम्रो भयो पनि। सुरुमा नराकोटमा फेन्सी पसल गर्ने भनेर एउटा घरको सटर हेरेका थिए। पछि त्याे सटर अरुले लगिसकेछन्। त्यसले उनीहरुको फेन्सी पसल खोल्ने चाहना पूरा हुन सकेन।

साइडमा अलि भित्र अर्को सटर भेटियो। त्यहाँ फेन्सी पसल चल्नेवाला थिएन। होटल गर्नुपर्छ भन्ने भयो। नजिकै गाविस कार्यालय थियो। चिया भए पनि बेचौँ भन्ने भयो। उनी इन्डिया गएर कमाएकोमा २० हजार नगद घर ल्याएका थिए। त्यही २० हजारले भाँडाकुँडा किने र होटल सुरु भयो।

त्यसबेला भर्खर एसएलसी परीक्षा हुन लागेको थियो। केन्द्र नराकोटमा थियो। टाढाटाढाबाट विद्यार्थी र तिनका अभिभावकसमेत आएका थिए। भिड व्यापारका निम्ति आशा लाग्दो थियो।

रुपाले होटल खोलेको पहिलो दिन सम्झिँदै भनिन्, 'जुन दिन होटल खोलेको हो, त्यही दिन व्यापार असाध्यै राम्रो भयो। सुरुमा पुरी तरकारी गरेका थियौँ। यति धेरै बिक्री भयो कि गन्ती नै छैन। त्यसपछि हामीलाई होटल नचलेको अनुभव कहिले पनि भएन।'

त्यसबेला खानाको एक सय रुपैयाँ पर्थ्याे। नास्ताको ५० रुपैयाँ। स्कुलले पनि खाजा अर्डर गर्‍यो। लाखौँ कमाएजस्ताे अनुभूति भएको नवीनले सुनाए। उनले भने, 'पछि श्रीमतीले चप र समोसा बनाउन सिकिन्। त्यो पनि लाष्टै फेमस भयो। पछि चाउमिन पेल्ने मेसिन ल्यायौँ। चाउमिन उमाल्दै खुवाउँदै गर्न थाल्यौँ। जे बनाए पनि बिक्री भयो। नाफा दिन दुईगुना र रात चौगुना हुँदै गयो।'

होटलमै भविष्य देखेका उनीहरुले एक जना कुक ल्याए। कुकले परौठा बनाउन थाले। त्याे पनि निकै राम्रो व्यापार भयो। रुपा र नवीन दुबैको मनमा मेहनत गरेर पैसा कमाउनुपर्छ भन्ने थियो। एकैनासे सोच भएको यो जोडीले व्यापारबाट अपार सफलता हात पार्‍यो।

त्यहीबेला गाउँमा एनजीओहरुको आगमन भयो। उनीहरुले सफा बेड भएको कोठा भए सुत्न, बस्न सजिलो हुने सुझाए। ग्राहकको मागअनुसार उनीहरुले होटल खोले। खाना, खाजाको व्यापार, बासको प्रबन्ध मिलाउने गरी विस्तार भयो। जसरी रुपा दिनभर अविराम भारी बोक्थिन्, त्यसरी नै उनले होटलमा अथक मेहनत गरिन्।

२०७५ सालमा उनीहरुको सफलताले मूर्त रुप लियो। नराकोट बजारमा दुई तलाको पक्की भवन ठड्याए। त्यहीँ सुरु भयो नराकोट बजारको भव्य होटल। जसको नाम छ, 'होटल हिमा कर्णाली।'

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलगायत ठूला नेताहरु नराकोट आइरहन्छन्। उच्च पदस्त कर्मचारीहरु सिंजा सभ्यता विकास गरेको ठाउँमा घुम्न आउँछन्। होटल ठूला नेतादेखि पर्यटकसम्मलाई लक्षित गरेर खोलियो। त्यतिको होटेल नराकोटमा अर्को छैन। यस्तो होटल सञ्चालन गर्नुमा उनीहरुले दिनरात एक गरी गरेको मेहनत प्रमुख हो।

धन कमाउनलाई ठेक्कापट्टा, घुसखोरी, भ्रष्टाचार गरिने वर्तमान समयमा रुपा र नवीन एक उदाहरण पात्र हुन्। उनीहरुको उदाहरणीय कदमले नवीनलाई जिम्मेवारीको काँध भरिलो भएको छ भने रुपाले भव्य रुपमा आर्थिक स्वतन्त्रता हासिल गरेकी छन्।

होटेलमा चार वटा डिलक्स रुम छन्। अरु बाँकी अटेज र सादा रुम छन्। बीस हजारबाट सुरु भएको रुपा र नवीनको व्यवसायिक यात्रा करोड बढीको कारोबारमा कुदिरहेको छ भने वार्षिक ३० लाख बढीको कारोबार सजिलै धानिरहेका छन्। जसबाट १० देखि १५ लाख बराबरको वार्षिक आम्दानी लिइरहेका छन्।

यो यात्रामा रुपा बलियो पिलर बनेर उभिएकी छन्। श्रीमान घर नभएको समयमा पनि आनन्दले ग्राहक पन्छाउन सक्छिन्। हाँसेर सेवा दिने उनको संघर्षले मूर्त रुप लिएको छ।

'क' अक्षर पनि नपढेकी रुपाले खुलेर हाँस्दै अंग्रेजीमा भनिन्, 'जिरोबाट स्टार्ट गरेको व्यवसाय हो, हाम्रो। नाफाबाट यहीँ घर बनाएका छौँ। केटाकेटी पढाएका छौँ। सुविस्ताले बसेका छौँ। यसैमा आनन्द छ।'



 

प्रकाशित मिति: : 2024-01-20 20:00:00

प्रतिकृया दिनुहोस्

    जुन मान्छेलाइ दुख पर्छ ,त्यले केहिन केही आफ्नो रोजि रोटि सहज तरिकाले खायर जिउने आधार बनायकै हुन्छ,धन्यबाद साली रुपा र नबिन

    • 3 महिना अगाडि
    • नन्द बहादुर रावल