ल्याब थपिए, परीक्षण थपिएन

रविन भट्टराई

विराटनगर : प्रदेश १ मा पीसीआर परीक्षण मेसिनसहितको ल्याब पर्याप्त भए पनि परीक्षण दर भने क्षमताअनुसार बढेको छैन। यस्ता प्रयोगशाला ६ वटा छन्। ती ल्याबको परीक्षण क्षमता ३ हजार ९ सय ५० छ तर ५ वटामा दैनिक कोरोनाको स्वाब परीक्षण हुन्छ। 

एक हजार क्षमताको एउटा ल्याब सञ्चालन नहुँदासमेत दैनिक २ हजार ९ सय ५० वटा स्वाबको नमुना परीक्षण हुनुपर्ने हो। तर, बढीमा १७ सय स्वाब पनि परीक्षण हुँदैन। न्यूनतम् २ सय ५० क्षमतादेखि एकै पटक एक हजारसम्मको स्वाब परीक्षण गर्ने पीसीआर मेसिन जडान गरेर स्वाबको परीक्षण गरिन्छ। तर, यतिका मेसिन थुपार्दासमेत एउटा स्वाबको रिपोर्ट आउन कम्तीमा चार दिन कुर्नुपर्ने बाध्यता अझै हटेको छैन।

काम भइरहेका पाँच ल्याबमध्ये सबैभन्दा बढी धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबले नमुनाको रिपोर्ट निकाल्ने गरेको सामाजिक विकास मन्त्रालय प्रदेश १ का जनस्वास्थ्य अधिकृत रञ्जु रेग्मीले बताइन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ल्याबको क्षमता दैनिक ६ सय ५० देखि ९ सम्म हो। अन्य ल्याबको तुलनामा यो ल्याबमा बढी स्वाब परीक्षण हुने गरेको सामाजिक विकास मन्त्रालयअन्तर्गतको ‘कोभिड—१९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समितिको सचिवालय’ का संयोजक डा. सरोज विशाल बताउँछन्।

प्रकाशित मिति: : 2020-09-20 12:03:45

प्रतिकृया दिनुहोस्