सरकारले कात्तिक ८ गतेबाट क्लिनफिड लागू गर्नेगरि प्रक्रिया अगाडि बढायाे

सरकारले कात्तिक ८ गतेबाट क्लिनफिड लागू गर्नेगरि आवश्यक प्रक्रिया अघि बढाएको छ। 

संसदबाट क्लिनफिड ऐन पारित भएपनि सरकारले समयमै तयारी अघि नबढाएको भनी सरोकारवालाले अशन्तुष्टि जनाएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सक्रियता देखाएको हो।

सन्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले क्लिन फिडबारे चासो व्यक्त गरेपछि मन्त्रालयले सरोकारवालाहरुसँग छलफल गरेको छ।

मन्त्रालयमा भएको छलफलमा क्लिनफिड लागू गर्ने बारेमा प्राविधिक र अन्य तयारीका विषयमा दुवै पक्ष सहमत भएको सन्चार सचिव हरि बस्यालले बताए।

सचिव बस्यालले निर्धारित मितिमा क्लिनफिड पूर्ण रुपमा लागू गर्न सरकार तयार रहेको बताए। 

उनले भने,‘मन्त्रालयमा भएको छलफल सकारात्मक छ। सरकार क्लिनफिड सम्बन्धी ऐन कार्यन्वयन गर्न र विज्ञापन बोर्ड गठन गर्न तयार छ। सरोकारवालाहरुले पनि क्लिनफिड लगाउन सकिन्छ भन्नुभएको छ।’

सचिव बस्यालका अनुसार सरकारले ऐन कार्यन्वयनका लागि नियमावली समेत बनाइरहेको छ। यसबीचमा विज्ञापन बोर्ड पनि गठन हुने तर बोर्ड गठन नभए पनि क्लिनफिड लागू गर्न समस्या नरहेको बताए।

मन्त्रालयमा भएको छलफलमा विदेशी च्यानल वितरक तथा सेवादायकहरुले कात्तिक ८ देखि क्लिनफिड लागू हुनुपर्नेमा सरकारलेनै समयमा तयारी नगरेको विषयमा ध्यानाकर्षण गराएको मेगा म्याक्स टिभी प्रालिका उपाध्यक्ष ध्रुर्व शर्माले बताए।

क्लिनफिड पूर्ण रुपमा लागू गराउन विदेशी तथा नेपाली अवैध ओडिटी एप्सहरु बन्द गराइनुपर्ने माग समेत छलफलमा सरोकारवालाले राखेको शर्माले जानकारी  दिए।

यतिबेलासम्म क्लिनफिड लागू गर्नका लागि आवश्यक उपकरणहरु ल्याइसक्नुपर्नेमा सरकारले अनुमति नदिदा ढिला भएको डिजिटल सिस्टम अफ नेपालका निर्देशक शिव निरौलाले बताए। डिभाइस उपकरण जति चाँडो ल्याउन सकियो त्यतिनै क्लिनफिड निर्धारित समयमा लागू गन सकिने उनले बताए।  

क्लिनफिड लगाइने डिभाइस चाँडो आएको खण्डमा सरकारले पूवृ तयारी तथा अनुगमन गर्न समय पाउने र व्यवसायीले पनि समयमै काम सम्पन्न गर्न सक्ने निरौलाले बताए।

सचिव बस्यालले भने चार पाँच दिनभित्रै च्यानल वितरकहरुले क्लिनफिड लागू गर्न लिखित प्रतिबद्धता जनाउने सहमति भएको र उपकरण आयातका लागि मन्त्रालयले विभागमार्फत अनुमति दिने प्रष्ट पारे। 

उपकरणका कारण क्लिनफिड लागू गर्न नसक्ने अवस्था आउन नदिइने सचिव बस्यालले बताए।

क्लिनफिड सम्बन्धी विज्ञापन ऐन संसदको गत हिउँदे अधिवेशनबाट पारित भएको थियो। सो ऐन कार्यन्वयन कात्तिक ८ गतेबाट हुनुपर्नेछ। ऐन पारित हुने बेला विदेशी च्यानल वितरकहरुले विरोध गरेपनि अहिले उनीहरुनै ऐन कार्यन्वयनका लागि अग्रसर भएका छन्।

क्लिन फिडमा जानका लागि सहमति जनाउँँदै विदेशी सशुल्क च्यानलहरुले पनि सूचना तथा प्रसारण विभागमा पत्र पठाइसकेका छन्। साउनदेखि नविकरण गर्दा सरकारले तोकेको मितिमा क्लिनफिड लागू गर्ने प्रतिबिद्धता सहित उनीहरुले डाउनलिंक अनुमतिपत्र समेत लिइसकेका छन्।

क्लिनफिड लागू भएपछि विदेशी च्यानलको प्रसारणमा विदेशी विज्ञापन हुने छैन। विदेशी कलाकारको आवाजका विज्ञापन समेत अब प्रसारण गर्न पाइदैन।

प्रकाशित मिति: : 2020-09-20 13:41:20

प्रतिकृया दिनुहोस्