फेरिँदै रानीपोखरीको मुहार, पानीले जलमग्न भयो (भिडियोसहित)

सुदीक्षा खड्का

भिडियोः शनि शाक्य

२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको ऐतिहासिक रानी पोखरी (न्हू पुखु) को पुनर्निर्माण लगभग सकिएको छ।

पाँच वर्षसम्म पानीविहीन पोखरी शनिबारदेखि जलमग्न भएको छ। वर्षौंसम्म झारपातले भरिएको पोखरीमा पानी भरेपछि निकै सुन्दर देखिएको छ। वर्षौदेखि खण्डहर देखिँदै आएको रानीपोखरीले पुनर्जीवन पाएको छ।

कुरूप भइसकेको रानीपोखरी अहिले लोभलाग्दो भएसँगै यसको बाटो भएर हिँड्ने जो कोहीले आहा! भन्न थालेका छन्।

पहिलो भूकम्प दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले यसको पुनर्निर्माणको शिलान्यास गरेकी थिइन्। त्यसपछि काठमाडौं महानगरले जिम्मा लिएर यसलाई अलपत्र पारेको थियो । पछिल्लो समय निकै लामो विवादपछि पुनः परम्परागत तरिकाले कालोमाटोको प्रयोग गरि पोखरीमा पानी अडिने बनाइएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हाल रानीपोखरीमा पानी भरिरहेको छ।

सुन्दरीजलबाट वाग्मतीको पानी ल्याएर हाल रानीपोखरी भर्ने काम भइरहेको छ।

सुन्दरीजलबाट लाजिम्पाट पानीपोखरीस्थित  केयुकेएलको पानी ट्याकंमा पानी जम्मा गरेर त्यहीँको ट्यांकबाट पाइपलाइनमार्फत रानीपोखरीमा पुर्‍याइएको सीएम कन्सट्रक्शनका प्रवन्ध निर्देशक शान्त कुमार श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार रानीपोखरी पानी भर्न ३ करोड २२ लाख लिटर आवश्यक हुन्छ।

प्राधिकरणले स्वामित्व पाएपछि उपभोक्ता समिति अन्तर्गत सीएम कन्सट्रक्शनले जिम्मा पाएको छ। उसले भक्तपुरका दक्ष जनशक्तिको परिचालन गरि रानीपोखरीको पोखरी र पर्खालका काम भएको थियो। पोखरीमा पानी अड्याउन कालो माटो लगाएर त्यसमाथि माअप्पा राखेर फेरि कालो माटो राख्ने काम गरिएको थियो। केही समयपछि भक्तपुरबाट आउने जनशक्तिले काम गर्दा धेरै समय लाग्ने देखेर पछि डोजरबाट कालो माटो बिछ्याइयो।

कोरोना कहर नभएको भए पुनर्निर्माणको काम वैशाखमा नै सकिने थियो। तर कोरोना संक्रमणका कारण पुनर्निर्माणको काम केही ढिला हुन गएको निर्देशक श्रेष्ठले जानकारी दिए।

सरकारले लागू गरेको लकडाउन र निषेधाज्ञाबीच पनि स्वास्थ्य मापदण्ड लागू गरेर पुनर्निर्माणको काम भइरहेको छ।  अहिले करिब ९५ प्रतिशत काम सकिएको छ।

हाल रानीपोखरी पानीले जलमग्न देखिएको छ भने पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको निर्माण समेत अन्तिम चरणमा पुगेको छ।

यसपटक तिहारमा सर्वसधारणका लागि रानीपोखरी खुल्ने प्राधिकरणले जनाएको छ।

हेर्नुहोस् रानीपोखरीमा पानी भरिएपछि......

प्रकाशित मिति: : 2020-09-20 18:38:00

प्रतिकृया दिनुहोस्