बुटवलमा कोरोना सङ्क्रमणबाट थप दुईको मृत्यु

बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। 

मृत्यु हुनेमा पश्चिम नवलपरासी र कपिलवस्तुका पुरुष रहेका छन् । दुबै जनाको अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन तथा कोरोना अस्पतालका स्रोत व्यक्ति डा. सुदर्शन थापाका अनुसार गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका– ३ का ४९ वर्षीय पुरुषको आज बिहान ४ बजे मृत्यु भएको हो । उनी कलेजो र मिर्गौलाका दीर्घ रोगी थिए ।

त्यस्तै असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको आजै बिहान ७ बजे मृत्यु भएको छ । उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेको डा. थापाले बताए।

प्रकाशित मिति: : 2020-09-24 13:41:49

प्रतिकृया दिनुहोस्