युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले क्रिकेटका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन्। मन्त्री विश्वकर्माले स्थानीय ग्राण्डी अस्पतालमा उपचाररत भण्डारीको अवस्थाबारे आज त्यहाँ पुगेर जानकारी लिएका हुन्।
विश्वकर्माले भण्डारीको स्वास्थ्यलाभको कामना गर्दै उनको उपचारमा सरकारका तर्फबाट आवश्यक सहयोग रहने आश्वासन दिए। भण्डारीको उपचारका विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालसित छलफल गर्ने जानकारी पनि उनले दिए।
उपचारमा संलग्न चिकित्सकका अनुसार भण्डारीले कम्तीमा पनि अझै एक महिना अस्पतालमा बस्नुपर्ने छ। भण्डारीको गत साता हात र खुट्टाको शल्यक्रिया गरिएको थियो। उनी गत साता कञ्चनपुरको झलारीमा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए।
भण्डारीलाई नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार हुन नसकेपछि ग्रान्डी अस्पताल ल्याइएको हो। दुर्घटनामा उनको दायाँ खुट्टा र हात भाँचिएको थियो। भण्डारी राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका बायाँहाते तीव्र गतिका बलर हुन्।