निर्वाचन विशेष

स्थानीय निर्वाचनमा कांग्रेसले देखाएकाे हर्कतविरुद्ध मेरो उम्मेदवारी: सिजल (अन्तर्वार्ता)

फाइल तस्विर
फाइल तस्विर

दीपेन्द्र कुमार पुन ‘सिजल’ रोल्पा ‘ख’ बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र रुपमा धारा चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा छन्।

रोल्पामा जन्मिएर करिब डेढ दशकदेखि नेकपा (माओवादी केन्द्र)को जिल्ला इन्चार्जका रुपमा काम गरेका उनले भुइँ तहसम्मका कार्यकर्तासँग राम्रो सम्बन्ध बनाएका छन्। सिजलले दश वर्षे जनयुद्धका क्रममा हातसमेत गुमाएका थिए।

०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट लुम्बीनी प्रदेशबाट प्रदेशसभा सदस्य बनेर उनले आफ्नो जिम्मेवार निभाएका छन्।

लामाे समयसम्म माओवादीमा रहेर धेरै संघर्ष गरेका पुनले केही महिनाअघि पार्टीबाट राजीनामा दिएर आम निर्वाचनका लागि रोल्पा ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

हाल चुनावी मैदान सक्रिय रहेका उनै ‘सिजल’सँग निर्वाचनमा केन्द्रित रहेर बिएल नेपाली सेवाका लागि ध्रुव बस्यालले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ–


तपाईं त लामाे समयसम्म माओवादीमा रहेर संघर्ष गर्नुभएकाे मान्छे, पार्टीले टिकट नपाएर स्वतन्त्र उम्मेदवारी दिनुभएकाे हाे?

मैले पार्टीबाट टिकट नपाएर स्वतन्त्र उम्मेदवारी दिएकाे हाेइन। गत स्थानीय तहको निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धन थियो तर नेपाली कांग्रेसले रोल्पामा एमाले र विप्लवसँग तालमेल गरेर माओवादीलाई हराउन लागिपर्याे। र पनि नेपाली कांग्रेसका मान्छेहरुलाई कुनै कारवाही भएन। याे अवस्थामा रोल्पाका कांग्रेसलाई मनलागे जे पनि गर्न मिल्ने रहेछ। त्यसैले हामीले प्रदेशसभा क्षेत्र ‘ख’ मा सहिद परिवार, घाइते, अपाङ्गता, बेपत्ता परिवारले मलाई हाम्रो मान्छेको उम्मेदवार हुनुपर्छ भनेर नेता कार्यकर्ताले दबाब दिँदै अनुरोध गरेका कारण मैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ। मलाई कुनै पद चाहिएर, पार्टीले टिकट नदिएर गठबन्धनका विरुद्ध उम्मेदवारी दिएकाे हाेइन।

हिजोसँगै सहयात्रा गरेका नेताहरुले तपाईंलाई भोट नदिन भन्दै हिँड्नुभएको छ, तपाईंले त भोट नपाउने देखिन्छ नि?

त्यसो पनि नहोला। कसले के भन्दै हिँडेको छ, त्योप्रति मलाई कुनै चासो छैन। रोल्पा जिल्लामा मात्रै गठबन्धनका विरुद्ध मेरो बागी उम्मेदवार हैन, देशभरका धेरै ठाउँमा बागी उम्मेदवारहरु हुनुहुन्छ। जस्तै- चितवन, रुकुमलगायत देशको धेरै ठाउँमा यस्तो देखिएको छ। मेरो उम्मेदवारी अस्वाभाविक हैन।

रोल्पामा मैले मात्र बागी दिएकाले मेरो चर्चा भएको हो। मैले राजीनामा दिएर पार्टीबाट निलम्बित भइसकेपछि स्वतन्त्र उम्मेदवारी दिएको हुँ। अब म एउटा स्वतन्त्र नागरिकको हैसियतले भोट मागिरहेको छु। यो संविधान र लोकतन्त्रमा भएको अधिकार प्रयोग मात्र मैले गरेको हुँ, मौलिक अधिकारको प्रयोग गर्न पाउनुपर्छ। जनताले मलाई भोट हाल्छन्, म ढुक्क छु।

चुनाव जित्नका लागि हो कि आफ्नो असन्तुष्टि प्रकट गर्न तपाईंले उम्मेदवारी दिनुभएको?

कुनै खेल खेल्दा हार-जित त भइहाल्छ, यो खेलको नियम हो। मेरो उदेश्य भनेको यो क्षेत्रबाट निर्वाचन जित्ने नै हो, हार्नलाई कोही मैदानमा उत्रिँदैन। मैले खेलको नियम मात्र पालना गरेको हो। हार्ने नै भनेर मेरो उम्मेदवार हैन। मैले कुनै पद लाभकाे लागि उम्मेदवारी चाहिँ दिएको हैन।

उम्मेदवारीपछि तपाईं र वर्षमान पुनबीच असहमति भएकाे देखिन्छ नि। यस्ताे असहमतिले त राजनीतिक भविष्यमा असर पर्दैन र?

हामीमा त्यस्तो असहमति केही छैन। वर्षमान पुनसँग प्रतिस्पर्धाका लागि मेरो उम्मेदवारी हैन। उहाँ प्रतिनिधिसभा र म प्रदेशसभा सदस्यको उम्मेदवार हो। विगतका दिनहरुमा पनि राजनैतिक दलका मान्छेहरु स्वतन्त्र उम्मेदवार भएकै हुन्, फेरि निर्वाचनपछि पनि कुनै दलसँग जोडिएकै छन्।

वर्षमानसँग व्यक्तिगत असमझदारीभन्दा पनि स्थानीय तहको निर्वाचनमा कांग्रेसले जुन प्रकारको हर्कत देखायो, त्यसको प्रतिविम्ब नै मेरो उम्मेदवारी हो। वर्षमान र माओवादीसँग मेराे कुनै मतभेद हैन। मेरो उम्मेदवारी स्वाभाविक रुपले लिनुपर्छ।

पदेशसभामा त तपाईं आफ्नै लागि भोट माग्दै हुनुहुन्छ, प्रतिनिधिसभामा चाहिँ कसलाई भोट माग्नु हुनुहुन्छ?

अहिलेको परिवेशमा म स्वतन्त्र हो, म मेरो लागि भोट माग्छु। प्रतिनिधिसभामा मेरो उम्मेदवार हुनुहुन्न। मैले आफ्नो विवेकले मतदान गर्नेछु। कसैको लागि भोट मागेको छैन।

तपाईं पार्टीको नियमविपरीत जाँदा माओवादीका नेता-कार्यकर्ताहरु असन्तुष्ट छन्, के तपाईंले चुनाव जित्नु हाेला त?

उहाँहरुको सन्तुष्टि-असन्तुष्टि होला, त्यो कुरा मलाई देखाउनु भएको छैन। उहाँहरु जे जति बोल्नुभएको छ, त्यो सबै गठबन्धनको भाषामा बोलिरहनु भएको छ। त्यो उहाँको धर्म हो। मैले स्वतन्त्र रुपमा भोट मागिरहेको छु, यो मेरो धर्म हो। त्यसकारण मलाई अन्यथा छैन।

अहिले म स्वतन्त्र रुपमा धारा चुनाव चिन्हमा भोट मागिरहेको छु। म लगातार चुनावी अभियानमा रुन्टिगढीदेखि सुरु गरेर कोर्चाबाङसम्म पुगेको छु। जनताले सकारात्मक सुझाव दिनुभएको छ। जित्ने भनेर नै उम्मेदवार भएको हाे, मेराे जित सुनिश्चित छ।

पूर्व माओवादीसँग धेरै अपेक्षा गरेको छु, मलाई नै मतदान गर्नुहुन्छ। सहिद परिवार, घाइते, अपाङ्गता र युद्धकालीन आम जनताकाे भोट हाल्ने प्रेरणा पाएर नै मैले उम्मेदवार दिएको हुँ।  मेरो चुनाव चिन्ह धारामा भारी मत आउँछ। मैले कम्तिमा न्यूनतम ५ देखि बढीमा ७ हजार मतको अन्तरले चुनाव जित्ने अपेक्षा गरेको छु।

तपाईंको चुनावी एजेण्डा के के हुन्, चुनाव जितेर रोल्पाका लागि के गर्नुहुन्छ?

म गत ०७४ को निर्वाचनमा निर्वाचत भएको थिएँ। त्यतिबेला मैले गरेको काम जनतालाई अवगत नै छ। ती बाँकी रहेका योजना पूरा गर्नेछु। शिक्षा, स्वाथ्य, खानेपानी, यातायात व्यवस्थान, रोजगारलगायत सबै तहकाे विकास गर्ने छु।

अन्त्यमा, आफ्ना मतदातालाई के भन्न चाहनुहुन्छ?

मेरा मतदाता तथा नेपालीजनहरुमा दिप्रन्द कुमार पुन सिजल भनेर चिन्ने/नचिन्ने सबैलाई मेरो निर्वाचन चिन्ह धारामा मतदान गरेर मंसिर ४ गतेको निर्वाचनमा अत्यधिक बहुमतले विजयी गराइदिनुहुन अनुरोध गर्दछु।

प्रकाशित मिति: : 2022-11-16 06:23:00

प्रतिकृया दिनुहोस्