पापी मास्टर

शिलापत्र

काठमाडौँ

लक्ष्मण गाम्नागे

\ईश्वराले अलि बढी नै गर्न थाली । ऊ अनेक बहाना गरेर बिहान बेलुका आइरहन थाली । कहिले हरिया मकै लिएर, कहिले दही-मोही लिएर, कहिले गोलभोडा लिएर । साथीहरूसँग पढ्न आएका बेला पनि उसको पढाइभन्दा बढी मतिर ध्यान हुन्थ्यो ।

पढ्न बस्ने बेलामा पनि ऊ मेरा छेउमा बस्न रुचाउँथी । बहाना बनाइबनाइ मलाई स्पर्श गरिरहन्थी । म सकेसम्म थाहा नपाएजस्तो गरिरहन्थेँ । अरु केटीहरू उसलाई हेरेर आँखा तर्थे । एक दिन ईश्वराले भनी, 'सर अबदेखि हाम्राँ खाना खान आउनु है, सविताकाँ नजानू । यो घर पनि हाम्रो मामाको हो । हाम्ले भनेको पनि मान्न पर्‍यो नि । सरलाई खाना खुवाउनै नसक्नी त हैनौँ नि हामी पनि ।' 

म बसेको घर ईश्वराका मामाको रहेछ भन्ने पनि त्यही दिन थाहा भो । ख्यालै गरेको रहेनछु । ईश्वराले अप्रत्यक्ष धम्की दिई । हाम्रो मामाघरमा बसेर हामीले भनेको नमान्ने ? भनेर । राम्रो घर थियो । घरमा एक्लै आनन्दले बस्नुको मजा त्यस्तै थियो । ईश्वराका मामा काठमाडाैं सहरमा घर बनाएर बसाइँ सरेका रहेछन् र खाली बसेको । नत्र कसैका घरको कुनै एउटा कुनामा एउटा खाटलाई डेरा बनाउनु पर्ने हुन्थ्यो । 

ईश्वराकोमा खाना नखाइदिए त घरनिकाला पो गर्छे कि जस्तो भएपछि मैले उसकोमा खाना खान मन्जुर गरेँ । यसो गर्दागर्दै मेरो इच्छाअनुसार खाना बनाउने, खाने स्वतन्त्रता हनन भयो । म बसेको घर र ईश्वराको घरको दूरी पाँच-छ मिनेटको थियो । खाना खाएर फर्कँदा राती हुन्थ्यो । ईश्वरा 'सरलाई डर लाग्छ, म पुर्‍यार आउँछु' भन्दै अघि लाग्थी । 

प्रकाशित मिति: : 2020-09-25 21:02:16

प्रतिकृया दिनुहोस्