युट्युबर

गोरखापत्र

काठमाडौँ

सोमराज पोखरेल

‘अस्ट्रेलियामा दिउँसो बैङ्कको जागिर खान्थेँ । बिहान–बेलुका घण्टाको ३० डलर पाइने काम पनि गर्थें तर त्यहाँ मन रमाउन सकेन । यी सब छाडेर ड्रोन, तीनवटा क्यामेरा र लाइभ स्ट्रिमका सामग्री बोकेर नेपाल फर्किएँ ।’
युट्युबर राजु सुवेदीले आफ्नो युट्युब च्यानल सुरु गर्दाका क्षण सम्झँदै भन्नुभयो, अस्ट्रेलियामा युट्युबले निकै चर्चा बटुलेको देखेँ । अनि नेपालमा पनि युट्युबबाट सूचना सम्प्रेषण गर्न सकिन्छ भन्ने लाग्यो । पत्रकार सुकदेव चापागाईंले टीभी अन्नपूर्ण अनलाइन दर्ता गर्नुभएको रहेछ । सन् २०१२ मा त्यही किनेर ‘बाइङ’मार्फत चलाउन थालेँ तर सोचेजस्तो भएन । इन्टरनेटको क्षमता कम थियो । दुई मिनेटको भिडियो अपलोड गर्न दुई घण्टा लाग्थ्यो । पैसाको पनि अभाव भयो । फेरि अस्ट्रेलिया गएँ ।’
सुवेदीको रहर त्यसै खेर गयो तर हिम्मत आफ्नै त हो नि ।
‘अस्ट्रेलियामा केही समय काम गरेँ । २०१४ को अगस्टमा फेरि नेपाल फर्कें । त्यसपछि ठूलो लगानी गरेर ‘पेइङ गेस्ट’ र ‘बाइङ गेस्ट’मा एकैपटक युट्युब च्यानल चलाएँ ।’ सुवेदी थप्नुहुन्छ, बाइङमा प्रत्यक्ष प्रसारण हुन्छ । एकैपटक पाँच हजार जनाले हेर्छन् तर महिनाको २२ हजार रुपियाँ तिर्नुपर्छ । पहिले त ६५ हजार रुपियाँ तिर्नुपथ्र्याे । यसमा राखेबापत प्रतिलिपि अधिकार लाग्दैन । चौबिसै घण्टा प्रत्यक्ष प्रसारण हुन्छ, टेलिभिजनले गरेजस्तै । पेइङमा भने युट्युबको भिडियो ‘भ्यु’अनुसार सिङ्गापुरबाट डलर आम्दानी हुन्छ ।
हो त, परिश्रमको फल मीठो हुन्छ । सुवेदी अहिले मासिक दुई सयदेखि सात सय अमेरिकी डलर कमाइ हुने बताउनुहुन्छ । टीभी अन्नपूर्ण डट कममार्फत सूचना विभागमा दर्ता भएरै चलाएका हौँ । टीभी अन्नपूर्णमार्फत भिडियो हाल्छौँ । कोरोना महामारीले आम्दानी घटे पनि दशैँका बेला युट्युबबाट आएको पैसाले साथीहरूलाई बाँड्न पुग्छ भन्नेमा ढुक्क छौँ । पाँच÷सात लाख रुपियाँ त जगेडा पनि छ ।
यसलाई व्यावसायिक बनाएर लैजाने अठोट त छ तर यो सफलताका बीच पनि युट्युबरलाई मूलधारको पत्रकारिताले नस्वीकारेको तीतो अनुभव चाहिँ उहाँसँग छ ।

प्रकाशित मिति: : 2020-09-26 09:13:10

प्रतिकृया दिनुहोस्