सुशान्त मृत्यु प्रकरण: रियाप्रति गरिएको शंकाविपरीत आयो भिसेरा रिपोर्ट

एजेन्सी

मुम्बई

भारतीय अभिनेता सुशान्त सिंहलाई विष खुवाएर मारिएको भन्ने उनको परिवारको आरोपविपरीत भिसेरा रिपोर्ट आएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार एम्स अस्पतालले सुशान्तको शरीरमा कुनै विष नदेखिएको भिसेरा रिपोर्ट, घटना अनुसन्धान गरिरहेको सिबिआईलाई बुझाएको हो।  एम्सका चिकित्सकले यसबाट सुशान्तलाई कुनै विष नदिइएको पुष्टि भएको बताएका छन्।  

अभिनेता सुशान्त सिंह गत जुन १५ तारिख बान्द्रास्थित आफ्नै फ्ल्याटमा मृत फेला परेका थिए।  

यसलाई प्रहरीले आत्महत्या बताए पनि सुशान्तका बुबाले आफ्नो छोराको हत्या भएको दाबी गर्दै सुशान्तकै प्रेमिका अभिनेत्री रिया चक्रवर्तीविरुद्ध उजुरी दिएका थिए। सुशान्तको परिवारले मृत्युअघि सुशान्तलाई रियाले नै विष (लागुऔषध) दिएको आरोप लगाएको थियो। तर उक्त रिपोर्टले यसलाई गलत साबित गरिदिएको छ।  

घटनाका मुख्य आरोपित रिया २२ दिनदेखि हिरासतमा छिन्। अहिले उनीविरुद्ध तीनवटा एजेन्सीले अनुसन्धान गरिरहेको छ। रियाविरुद्ध सुशान्तका लागि लागुऔषध खरिद गरिदिने गरेको आरोप छ।

भिसेरा रिपोर्टले सुशान्तको शरीरमा कुनै विष नदेखिएको पुष्टि गरे तापनि यसअघि उनको शव पोस्टमार्टम गर्ने मुम्बईस्थित कपुर अस्पतालकालाई भने अझै सफाइ दिइएको छैन। 

त्यहाँका चिकित्सकले सुशान्तको शरीरमा कुनै चोट नभएको पोस्टमार्टमा रिपोर्ट दिएका थिए। यहाँसम्म कि मृत्युको निश्चित समयसमेत उल्लेख गरेका थिएनन्। जुन पोस्टमार्ट रिपोर्टप्रति आशंका गर्दै सिबिआईले यसको जाँच गर्ने जिम्मा एम्सलाई दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रकाशित मिति: : 2020-09-29 14:28:41

प्रतिकृया दिनुहोस्