पप्पु कन्ट्रक्सनको हुलाकी सडकमा बदमासीः कतै पिच सडक भत्किएर धुलाम्य, कतै पिच माथि पिच!

हुलाकी सडक योजना अन्तर्गत वीरगन्ज-ठोरी सडक खण्ड मध्ये ३० किलोमिटर सडक निर्माणको जिम्मा लिएको पप्पु कन्ट्रक्सनले गुणस्तरहिन काम गरेको पाइएको छ।

वीरगजको लक्ष्मणवाचौकदेखि जिराभवानीको चमरीटोलसम्म ३० किलोमिटर सडक विस्तार गर्ने जिम्मा पाएको पप्पु कन्ट्रक्सनले सडक विग्रिएको स्थानमा काम गरेको छैन भने राम्रो कालोपत्रे सडकलाई भत्काएर लथालिङ्ग पारेपछि ठेकेदारको चरमलापरवाही भएको भन्दै स्थानीय आक्रोशित भएका छन्। 

हुलाकी सडक योजना अन्तर्गत पर्साको बहुवर्वाभाटादेखि चमरी खोलासम्म निर्माणाधिन सडक स्तरोन्नती नगरी वीरगज-पोखरिया सडक खण्ड मध्ये बहुवर्वाभाटादेखि तिवाले पुलसम्मको गुणस्तरीय कालोपत्रे भत्काएर पुन कालोपत्र गर्न लागेको देखेर स्थानियहरु आक्रोशित भएका हुन्। 

२०७४ सालमा सडक विभागलाई हस्तारण भएको सडकलाई नै पप्पु कन्ट्रक्सनले अहिले भत्काएर घुलाम्य बनाएको स्थानीयको आरोप छ। 

सडक नबनेको ठाउँमा बनाउनुको साटो राम्रो सडकलाई  पनि भत्काएर पप्पु कन्ट्रकसले गलत प्रक्रिया अपनाएको बिन्दावासीका स्थानीय युवा नेता नरेश गुप्ताले जानकारी दिए।

‘बनेको सडक भत्काएर विजोग बनाएको छ। तर हुलाकी सडक खण्ड अन्तर्गत जिर्ण अवस्थामा रहेको सडकतर्फ भने पप्पुले ध्यान दिएको छैन’, गुप्ताले भने।

पप्पुले जिम्मा पाएको तिलावे नदीको पुल ७ वर्ष वितिसक्दा पनि बन्न नसक्दा जनताले सास्ती खेपेका छन्। गत वर्ष असार मसान्तमा लक्ष्मणवा चोकदेखि रामगढवासम्म पप्पुले पिचमाथि पिच गरेको कारण सिर्सिया खोला नजिकै ५ सय मिटर कालोपत्रे भत्किएर जिर्ण भएको छ। 

हुलाकी सडक निर्माणका लागी पपु कन्ट्रक्सनले २०७२ सालमा लिएको अन्तिम म्याद २०७७ पुस १३ सम्म रहेको र सो अवधिमा सडक निर्माण सम्पन्न गर्ने लक्षण नदेखिएको यस विषयमा हुलाकी सडकका भारतीय कन्सलटेन्ट बप्पुन बोहराले  दाबी गरे। बोहराका अनुसार ५ वर्षमा पप्पु कन्ट्रक्सनले ३० प्रतिशत मात्र काम गरेको छ। त्यो पनि न्यून गुणस्तरीय देखिएको छ।

प्रकाशित मिति: : 2020-10-01 13:14:55

प्रतिकृया दिनुहोस्