टिप्पणी

नेपाली कांग्रेसको इतरपक्ष भेलाको अन्तर्य

नेपाली कांग्रेसको इतर (शेखर–गगन) पक्षले बुधबार काठमाडौंमा भेला गरे। संसदीय दलमा नेता चयन कै बेलादेखि इतर समूह विभक्त थियो। 

सरकारमा कांग्रेसका तर्फबाट मन्त्री पठाउने निर्णयमा यो समूह फेरि टुक्रियो। पछिल्लो समय कोशी प्रदेशमा सरकार बन्दा इतर पक्षीय नेताहरू गगन थापा र डा.शेखर कोइरालाबीच दूरी बढ्यो। 

यतिबेला राष्ट्रिय सभामार्फत भागवण्डाको विषयलाई केन्द्र बनाएर इतर पक्षले भेला गरेको बुझिन्छ। हुन त महासमिति बैठक र कार्यसम्पादनको बैठकअघि ती विषयलाई पनि मुद्दा बनाइनु सवाभाविक हो। 

तर भेला एक दिन सर्‍यो  महामन्त्री थापा र नेता डा. कोइरालाबीचको बढ्दो दूरी इतर पक्षको मूल समस्या हो। कांग्रेस नेता अर्जुननरसिंह केसीले (ज्वाँई) महामन्त्री थापा र नेता डा.कोइरालालाई डिनरबाट जोड्ने प्रयास गरे। 

डेलिसियस डिनरमा के–के थियो। त्यो ज्ञात छैन तर के.सीको यो प्रयासले पञ्चायतकालको अवसान सँगैको एक साँझको झल्को दिलायो। 

प्रसँग यसरी अघि बढेको थियो।

केशव कुमार बुढाथोकी लेख्छन्– एक दिन अर्जुननरसिंहकै घरमा रक्सी खाने कार्यक्रम आयोजना भयो।

अर्जुननरसिंहले कांग्रेस प्रवेश गर्नु पहिलेका विषय पुस्तकमा उल्लेख छन्। एक दिन अर्जुननरसिंहकै घरमा ड्रिङ्कस कार्यक्रम बन्यो। त्यसअघि अर्जुननरसिंहले बुढाथोकीलाई ‘नयाँ पार्टी बनाउनुपर्छ, अहिले कतै नलाग्नू। म दिल्ली पुगेर आएपछि सल्लाह गरौँला’ समेत भनेका रहेछन्।

बुढाथोकीले आफ्नो पुस्तकमा सविस्तार लेखेका छन्, ‘नेवि संघबाटै राजनीति शुरू गरेको भए पनि पञ्चायतमा पसेपछि उनी कडा मण्डलेसरह बनेका थिए। २०४६ सालमा गणेशमान सिंह नजिकमा भएको कांग्रेसको भेलामा सहभागी हुन भारतबाट आएका चन्द्रशेखर बसेको होटलमै उनका विरोधमा कालो झन्डा देखाउन केही पञ्च र मण्डलेहरूको नेतृत्व गर्दै उनीसमेत पुगेका थिए। मलाई लाग्यो उनी पक्कै कांग्रेसमा जाँदैनन्। एउटा राम्रै टीम भएर राप्रपा बनाइए ठिकै होला भनेर म पनि उनलाई पर्खेर बस्दो भएँ। उनी त अस्ति कहिले दिल्लीबाट आएर मलाई खबरै नगरी कांग्रेसमा पसेछन्। लेखक थप्छन– ‘उनलाई देख्नेबित्तिकै मेरो पारो चढिहाल्यो। भनाभन हुँदाहुँदै मैले हात छोडिहालेँ। साथीहरूलाई छुट्याउन पनि निकै साह्रो पर्‍यो। केको पार्टी न सार्टी। सन्केकै सुरमा म तल झरेँ र आफ्नो गाडी लिएर हिँडेँ।’– (पृष्ठ २९५)

यो विगतलाई यतिबेला डा.कोइराला र महामन्त्री थापालाई डिरमा निम्त्याएको प्रसङ्ग सम्झन लायक छ।

कांग्रेसको इतर पक्षमा आगामी महाधिवेशनमा को सभापति लडने, संसदीय चुनाव जिते को प्रधानमन्त्री बन्ने भन्ने कुरामा विमति छ। महामन्त्री थापा मिसन पीएम (प्रधानमन्त्री) लिएर अघि बढेका छन् भने डा.कोईराला सभापतिको अर्जुन दृष्टि लिएर हिंडेका छन्। 

सामान्यतया कांग्रेसमा संसदीय दलको नेता प्रधानमन्त्री बन्ने परम्परा छ (केही अपवाद बाहेक)। त्यसको अभ्यास महामन्त्री थापाले संसदीय दलमा चुनाव लडेर थालनी गरिसकेका पनि छन्।

आखिर नेता के.सीको प्रयासमा यी दुई नेताबीच के विषयमा सहमति भयो त इतर पक्ष नै अनभिज्ञ रहेको श्रोत बताउँछ। तर दुई नेताहरू एक ठाउँमा उपस्थि भएर गरेको भेलामा इतर पक्ष सहज महशुस गरेको देखिन्छ।

महामन्त्री थापा र नेता डा.कोइरालाबीचको अविश्वासको खाडल पुरिएकै हो त? मूल प्रश्न यही हो। यो प्रश्नको उत्तर इतर पक्षले खोजिरहेका त छन् तर दुवै नेतालाई कसैले सोध्न भने सकिरहेका छैनन्।

इतर पक्ष निर्वाचन अघि गठबन्धन गर्नुहुँदैन भन्ने मुद्दामा भने एक साथ देखिन्छन्। त्यसो भए के राष्ट्रिय सभाको आसन्न निर्वाचनमा यो कुरा लागु होला त? यो इतर पक्षका लागि नैतीक प्रश्न हो। त्यसकारण धर्मसंकटमा छ कांग्रेस इतर पक्ष। 

यदि त्यसो हुने हो भने कांग्रेसले राष्ट्रिय सभामा पाउने सिट संख्या कति होला त? अथवा सत्तारुढ दलहरूले गरेको भागवण्डामा इतर पक्ष सहभागी हुने हो भने उनीहरूको मुद्दामा इतर पक्षको सहभागिताले चुनाव अघि गठबन्धन नगर्ने भन्ने मुद्दा समाप्त हुनेछ। 

इतर पक्षका केही अनुहारहरू पनि राष्ट्रिय सभामा स्थान पाउने अपेक्षामा दौडधुप गरि नै रहेका छन्। चुनाव त राष्ट्रिय सभाको पनि चुनाव नै हो। न केवल स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा मात्रै। 

तर इतर पक्षको भेलामा राष्ट्रियसभामा अघिल्ला चुनाव हारेका व्यक्तिहरूलाई लैजान नहुने र समानुपातिकको बन्द सूचीमा नाम रहेकाहरूलाई अवसर नदिने भन्ने विषयमा छलफल केन्द्रीत रह्यो।

अब रह्यो महासमिति बैठकको विषय। यो विषयमा सभापति शेरबहादुर देउवा बैठक सार्ने पक्षमा रहेको समाचार आइरहेका छन्। यदि साँच्चिकै त्यसो हो भने इतर पक्षको आधिकारिक धारणा कार्य सम्पादन समिति र केन्द्रीय समितिमा राख्नु पर्ने देखिन्छ।

कांग्रेसमा संस्थापन पक्ष र इतर पक्ष सदावहार गुट हुन्। तर यो पटक इतर पक्ष पनि विभक्त देखिन्छ। यो अवस्थामा पार्टीको नियमित क्यालेण्डर र संगठनका काममा समेत दीर्घकालीन असर पुग्ने देखिन्छ।

प्रकाशित मिति: : 2023-12-14 15:11:00

प्रतिकृया दिनुहोस्