पोलार्ड र पान्ड्याको आक्रामक ब्याटिङमा मुम्बईको दोस्रो जित

काइरन पोलार्ड र हार्दिक पान्ड्याको आक्रामक ब्याटिङमा मुम्बई इन्डियन्ससले इन्डियन प्रिमियर लिग (आइपीएल)मा दाेस्राेे जित निकालेकाे छ।

अबुधाबीमा बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पञ्जाबलाई ४८ रनले पराजित गर्दै मुम्बईले दोस्रो जित निकालेको हो। मुम्बईले दिएको १ सय ९२ रनको लक्ष्य पछ्छाएको पञ्जाब निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १४३ रनमै समेटियो।

पञ्जाबका लागि निकोलस पूरनले सर्वाधिक ४४ रन बनाए। उनले २७ बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए।

यता मंयक अग्रवाल २५, कृष्णा गौथम २१,  लोकेश राहुल १७ रनमा आउट भए। अन्य खेलाडीले भने दोहोरो अंक छुन सकेनन्।

मुम्बईका जस्प्रित बुम्राह, राहुल चाहर र जेम्स प्याटीनसनले २/२ विकेट लिए।

यसअघि शेख जायद आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९१ बनाएको थियो। 

मुम्बईका कप्तान रोहित शर्माले सर्वाधिक ७० रनको योगदान दिए रोहितले ४५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। रोहितले आइपीएलमा ब्यक्तिगत पाँच हजार रन पूरा गरेका छन्। 

विराट कोहली र सुरेश रैनापछि आइपीएलमा पाँच हजार रन पूरा गर्ने रोहित तेस्रो खेलाडी हुन्।

काइरन पोलार्ड २० बलमा ३ चौका र ४ छक्का ४७ रनमा अविजित रहे। हार्दिक पान्ड्या ११ बलमा ३ चौका र २ छक्का सहित ३० रनमा अविजित रहे। पाँचौ विकेटका लागि पान्ड्या र पोलार्डले मात्र ३.५ ओभरमा ६७ रनको अविजित साझेदारी गर्दै विशाल योगफलमा पुर्याए।

२०औँ ओभरमा कृष्णप्पा गोथामको बलमा पोलार्डले लगातार तीन छक्का प्रहार गरे। त्यस ओभरमा पान्ड्याले पनि एक छक्का प्रहार गरे। 

१९औँ ओभरमा मोहम्मद सामीलाई पोलार्डले लगातार तीन चौका प्रहार गरेका थिए। त्यस ओभरमा पान्ड्याले पनि एक चौका हिर्काए। मुम्बईले अन्तिम पाँच ओभरमा मात्र ८९ रन जोड्यो। 

यता इशान किशन २८ रनमा क्याच भए। किशनले ३२ बलमा १ चौका र १ छक्का प्रहार गरे। सूर्यकुमार यादवले १० रन बनाए।

पञ्जाबका सेल्डोन कोट्रेल, मोहमद शामी र क्रिश्नापा गोथामले एक/एक विकेट लिए।

प्रकाशित मिति: : 2020-10-01 23:43:50

प्रतिकृया दिनुहोस्