ठगीका च्याम्पियन खेलबहादुर जसले लुटेरै काठमाडौंमा २ रोपनी जग्गा किने

ठगी आरोपमा जेल परेका खेलबहादुर १ वर्षपछि २०६५ सालमा छुटे। धरौटीको १२ लाख रूपैयाँ बुझाएपछि एक वर्ष कारागारमा बिताएर उनी निस्किएका थिए।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले २०६४ चैतमा खेलबहादुरलाई ठगी अभियोगमा समातेको थियो। त्यसपछि उनी कहाँ गएर केही पत्तो भएन।

१२ वर्षपछि फेरि उनी उसैगरि समातिए। २०७७ असोज ९ गते उनलाई प्रहरीले पुनः ठगी अभियोगमा भक्तपुरबाट नियन्त्रणमा लियो।

उनीसँगै प्रहरीले थप चार जनालाई पनि नियन्त्रणमा लियो। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका १ बस्ने वर्ष ३६ वर्षीय खेल बहादुर तामाङ, रेल बहादुर तामाङ, श्याम बहादुर तामाङ, रामकृष्ण तामाङ र कान्छी तामाङ छन्।

डलर देखाएर ठगी गर्ने क्रममा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरी अनुसन्धानका क्रममा प्रक्राउ परेका खेलबहादुर १२ वर्षअघि जेलबाट छुटे पनि उनको ठगी गर्ने अपराधको नशा भने छुटेको रहेनछ। बरू झनै संगठित रूपमा लागेको देखियो।

उनीसँगै पक्राउ परेका रेलबहादुर तामाङलाई पनि ठगीमा सामेल गरेको खुल्यो। रेलबहादुर खेलबहादुरका आफ्नै भाइ हुन्। त्यसो त यअघि पक्राउ पर्दा उनकी दिदी समेत समातिएकी थिइन्। तर उनले कारागार बस्नु परेन। अदालतको आदेशमा धरौटी बुझाएर निस्किइन्।

प्रहरीका अनुसार खेल बहादुरको यो पटको ठगी लिष्ट लामै देखियो।

‘१२ वर्षको अवधिमा पछिल्ला घट्नामा मात्र ७५ लाख रुपैयाँभन्दा बढी लुटेको देखियो। उनले काठमाडौंदेखि धादिङसम्म पुगेर लुटेको खुलेको छ, एकदमै धेरै उजुरी आइरहेको छ। भोजपुरदेखि धादिङसम्मबाट उजुरी आउन थालेको छ’, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुवास बुढाथोकीले बिएल नेपाली सेवालाई जानकारी दिए।

त्यस्तै मंगलबार फेरि प्रहरीले उस्तै घटनामा दुई जनालाई नियन्त्रणमा लियो। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी थिए। उनीहरुले भक्तपुर नगरपालिका १० कमलविनायक वसपार्कस्थितमा दोलखा घर भई हाल सूर्यबिनायक बस्ने एक व्यक्तिलाई डलर देखाई ५ लाख रुपैंया लुटेका थिए। प्रहरीले घटनाको अनुसन्धान गर्दै जाँदा उनीहरू खेलबहादुर समूहका भएको खुलेको हो।

‘यो १२ वर्षको अवधिमा खेलबहादुरले लुटको लागि ठूलै समूह खडा गर्न भ्याइसकेका रहेछन्। उनको समूहले युवतीको प्रयोग गर्नेदेखि विभिन्न बहानमा व्यापारी, ठेकेदार तथा विदेशबाट फर्किएकासम्मलाई लुट्ने गरेको देखिन्छ। यो ठूलो समूह नै रहेछ। उनीहरुले विभिन्न तरिका अपनाएर लुटेको देखिन्छ’, प्रहरी निरीक्षक बुढाथोकीले भने।

उनीहरुले विभिन्न मानिसलाई सस्तोमा डलर साट्ने भन्दै ठगी गर्ने गरेको देखिएको छ। उनको समूहले एक पटकमा ११ लाख रुपैयाँसम्म लुटेका छन्। २०७६ कात्तिक २ गते बनेपाबाट ११ लाख रुपैयाँ लुटिएको छ। सोही समूहले २०७३ भदौ १३ धादिङ नौविसमा तीन लाख रुपैयाँ र  २०७२ असोज १० गते काभ्रेपलान्चोक पाँचखालबाट ८ लाख रुपैयाँ लुटिएको उजुरी परिसकेको छ। त्यस्तै पछिल्लो समय लुटेका घटना पनि धेरै छन्।

उनले यसरी लुटेको रकमले काठमाडौंमा जग्गा किनेको देखिएको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा ३६ आना जग्गा श्रीमतीको नाममा किनेको देखिएको छ। त्यस्तै समूहका अन्यले भने विलाशी जिवनको लागि खर्च गरेको देखिएको हो।

प्रकाशित मिति: : 2020-10-02 16:12:56

प्रतिकृया दिनुहोस्