ग्राउन्ड ह्याडलिङ विवाद: हिमालयलाई दिइँदा नेपाल एयरलाइन्सको टाउको किन दुख्यो?

देशसञ्चार

काठमाडौँ –

हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको अधिकार दिने निर्णयपछि यसले नेपालको उड्डयन सेवा क्षेत्रमा तरङ्ग देखिएको छ।

नागरिक उड्ड्यन प्राधिकरणले नेपाली एयरलाइन्सको हकमा नेपाल एयरलाइन्सको एकाधिकार तोड्दै हिमालयन एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको अधिकार दिएको थियो।

आफ्नो आय स्रोतको एक हिस्सा गुम्ने भन्दै राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको असन्तुष्टी जनाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरणसँग वास्तविकताबारे प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। तत्काललाई उक्त निर्णय कार्यान्वयन नगर्न भनिएको छ। सेल्फ ग्राउन्ड ह्यान्डलिङको अधिकार दिने अधिकार प्राधिकरणलाई छ, कानुनत:।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलतर्फ थाई एयर र एयर इन्डियाले मात्र सेल्फ ग्राउन्ड ह्यान्डलिङको अधिकार पाएका छन्। अन्य सबै एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङको व्यवस्थापन नेपाल एयरलाइन्सले गर्छ । आफूबाहेक अन्यको गरिने ग्राउन्ड ह्यान्डलिङलाई कमर्सियल ग्राउन्ड ह्यान्डलिङ भनिन्छ। नेपाल एयरलाइन्सले सेल्फ ग्राउन्ड ह्यान्डलिङ पनि गर्छ।  ग्राउन्ड ह्यान्डलिङ गरेबापत नेपाल एयरलाइन्सले वार्षिकरुपमा ठूलो रकम आम्दानी गर्छ।

के हो ग्राउन्ड ह्यान्डलिङ ?

विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा भन्नाले यात्री, ब्यागेज, कार्गो चेक इन गर्ने, तिनलाई विमानसम्म पुर्‍याउने तथा विमानबाट ल्याउने, तिनको सुरक्षा प्रकृया गर्ने, विमान सफा गर्ने आदि सेवा हो । यी सेवा सम्बन्धीत एअरलाइन्स आफैले अथवा अरु सेवाप्रदायकमार्फत गर्ने गराउने विश्वव्यापी अभ्यास रहेको छ ।

आफ्नो थोरै उडान तथा यात्री संख्या भएमा एअरलाईन्सले सामान्यतया यी काम अन्य सेवा प्रदायकबाट गराउँछ। आफ्नो उडान तथा यात्री संख्या धेरै भएमा एअरलाइन्सले सामान्यतया यी सेवा आफैले सन्चालन गर्दछ । नियमक निकायले यी सेवा सन्चालनका सिलसिलामा हवाई सुरक्षा तथा नागरिक उडड्यन सुरक्षा प्रत्याभुत गर्न नियमन गर्दछ ।

प्राधिकरणले कानुन अनुसार नै हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको अधिकार दिइएको बताएको छ। सातामा कम्तीमा ३५ वटा नियमित उडान गर्ने एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको अधिकार दिइने व्यवस्था छ। हिमालयले यो मापदण्ड पूरा गरेको छ।

प्रकाशित मिति: : 2020-10-05 14:13:32

प्रतिकृया दिनुहोस्