डब्ल्यूएचओको दावी– विश्वको १० प्रतिशत जनसंख्या कोरोनाबाट संक्रमित, लापरवाही नगर्न आग्रह

रमेश राज बाँस्तोला

लिजबन (पोर्चुगल)

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वको १० प्रतिशत जनसंख्या कोरोना भाइरसबाट संक्रमित भएको अनुमान गरेको छ। 

डब्ल्यूएचओका कार्यकारी प्रमुख डा. माइकल रेयानले कोरोना भाइरसको विषयमा जानकारी दिँदै विश्वमा १० व्यक्तिमध्ये १ जना संक्रमित भएको दावी गरे। 

उनले सोमबार यसको जानकारी दिने क्रममा भनेका छन्– विश्वको ठूलो जनसंख्या कोरोनाको जोखिममा छ। 

संक्रमणको खतरा शहरी र ग्रामीण क्षेत्रमा नितान्त बेग्लै भएको पनि उनको भनाई छ। हाल विश्वको जनसंख्या ७ अर्ब ६० करोड भएको दावी गरिन्छ।

डब्ल्यूएचओको भनाई अनुसार यसमध्ये ३ करोड ५६ लाख मानव कोरोनाबाट संक्रमित भइसकेका छन्। केही स्वास्थ्य विश्लेषकले यसअघि भन्दै आइरहेका छन्, कोरोनाको विषयमा जति तथ्यांक बाहिर आएको छ, यसको तुलनामा ठूलो मात्रामा मानिसहरू कोरोना संक्रमित छन्। 

डा. रेयानले दक्षिण–पूर्वी एसियामा पछिल्लो समय कोरोना संक्रमित बढेको जानकारी दिएका छन्। यसअघि यो क्षेत्र सुरक्षित स्थानमा पथ्र्यो। रेयानले सतर्कता अपनाउन सकेको खण्डमा कोरोनाबाट मानव जीवनको रक्षा गर्न सकिने जानकारी दिए।

 ‘दक्षिण–पूर्वी एसियामा संक्रमण बढ्दो छ। युरोप र पूर्वी भूमध्य सागरको क्षेत्रमा बढी मानिसले ज्यान गुमाएका छन्। अफ्रिका र पश्चिमी प्रसान्त क्षेत्रमा अवस्था केही राम्रो छ,’ उनले भने। 

डा. रेयानले कोरोनाको भ्याक्सिन बाहिर नआउँदासम्म सावधानी अपनाउन सबैलाई अपील गरेका छन्। उनले चेतावनी दिँदै भनेका छन्, ‘महामारी निरन्तरत फैलिरहेको छ। सावधानी नअपनाउने हो भने अवस्था झन् भयाभह हुनसक्छ।’

‘वर्ल्ड मिटरर्स’ का अनुसार कोरोनाबाट हाल १० लाख ४५ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ। अहिले पनि ७७ लाख मानिस कोरोनाबाट जुधिरहेका छन्। यसमा एक प्रतिशत अर्थात ७७ हजार मानिसको अवस्था गम्भीर छ। 

अमेरिका अहिले पनि कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश हो। यहाँ ७६ लाख मानिस संक्रमित भएका छन्, जसमा २ लाख १५ हजार मानिसको ज्यान गइसकेको छ। यसपछि भारत दोस्रो नम्बरमा छ। 

भारतमा ६६ लाख मानिस संक्रमित छन् भने १ लाख ३ हजारको निधन भइसकेको छ। तेस्रो नम्बरमा रहेको ब्राजिलमा ४९ लाख मानिस संक्रमित छन् र यहाँ अमेरिकापछि दोस्रो नम्बरमा १ लाख ४६ हजारको निधन भइसकेको छ। यी तीनवटा देशमा एक लाखभन्दा बढी मानिसको ज्यान गएको छ। 

यसबाहेक मेक्सिकोमा ७९ हजार मानिसको ज्यान गएको छ। बेलायतमा पनि ४२ हजार मानिसले ज्यान गुमाएका छन्। यी देशहरू कोरोनाका कारण सर्वाधिक मानिस मर्ने देशको सूचिमा शीर्ष–५ भित्र पर्छन।

प्रकाशित मिति: : 2020-10-06 07:42:12

प्रतिकृया दिनुहोस्