ठगी र ब्ल्याकमेलिङको व्यापार गर्ने पसल रोकाया

आइटी ज्ञानको दुरुपयोग गरेर ‘ब्ल्याकमेलिङ’ गर्दै आएका जुम्लाका पसल रोकाया शनिबार इलामबाट पक्राउ परेका छन्।

जुम्ला कनका सुन्दरी गाउँपालिका–७ का २६ वर्षीय उनी केही समय यता युट्युब र फेसबुकमा विभिन्न व्यक्तिका बीच भएका कुराकानी र म्यासेज सार्वजनिक गरी ‘ब्ल्याकमेलिङ’ गर्दै आएका थिए। उनलाई काठमाडौं प्रहरीको सक्रियतामा पक्राउ गरिएको हो।

प्रहरीका अनुसार उनले दर्ताबिना नै ‘कर्णाली आवाज डटकम’ अनलाइन चलाउँदै आएका थिए। ‘यो काम थालेको तीन वर्ष भएको छ। उनले अनलाइन पत्रकारिताका लागि नभई ठगी र ‘ब्ल्याकमेलिङ’का लागि चलाइरहेका थिए,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीलेबिएल नेपाली सेवालाई भने।

उनका अनुसार पसलले अनलाइनसँगै ‘कर्णाली एचडी’ नामक युट्युब च्यानल पनि चलाउदै आएका छन्। 

त्यसका अलबा विभिन्न व्यक्तिहरूसँग रकम माग गर्ने र रकम नदिनेहरुको विषयमा गलत र भ्रमपूर्ण समाचार तयार पार्ने, फोटो जोड्ने, इडिट गरी बिगारेर आफै बाचन गरेर युट्युब च्यानलमा राख्ने लगायतका काम गरेको उनको फेसबुकको प्रोफाइलबाटै थाहा पाउन सकिन्छ।

‘पैसा नपाएपछि झूटा समाचार बनाएर छापिदिने, भिडियो बनाएर ‘ब्ल्याकमेलिङ’ गर्ने, म्यासेन्जरमा भएका कुराकानी सार्वजनिक गर्ने, धम्क्याउने गर्नेगरेको अनुसन्धानमा खुलेको छ,’ एसएसपी ज्ञवालीलेभने।

जिल्ला समन्वय समिति कालिकोटका इन्जिनियरलाई करोडौं रुपैयाँ भ्रष्टाचार गरेको भनी युट्युबमा झूटो समाचार तयार पारेको पाइएको छ। ती इन्जिनियरको फोटो इडिट गरेर उनले ‘करोडौं भ्रष्टाचार गरेकोमा मोसो दलेर निकाला गरिएको’ भनी मोसो लगाएजस्तो बनाएर सार्वजनिक गरेका थिए। सो प्रकरणमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

जसको परिणाम उनले बनाएका भ्रमपूर्ण समाचारबाट पीडित बनेका व्यक्तिहरु उजुरी लिएर प्रहरीकोमा आउने गरेका थिए। उनी पटक–पटक परिसर र अन्य कार्यालयबाट पक्राउ परिसकेका छन्।

रोकाय २०७४ असोज २ गते ठगी मुद्धामा जिल्ला अदालत काठमाडौंमा ५० हजार धरौटी बुझाएर छुटेका व्यक्ति हुन्। त्यसपछि पनि उनीबिरुद्ध धेरै उजुरी परेका छन्। 

२०७५ पुस ४ गते १ लाख रुपैयाँ धरौटीमा जिल्ला अदालत काठमाडौंबाट छुटेका थिए।  

त्यसपछि काठमाडौंमा प्रहरीबाट बच्न उनी एक वर्षअघि दार्जिलिङ गएर उतैबाट ठगी चलाइरहेको अनुसन्धानले देखाएको छ। तथापी उनी काठमाडौं–दार्जिलिङ आउने–जाने गरिरहन्थे। 

पछिल्लो पटक विद्युतीय अपराध तथा ठगीको जाहेरी परेपछि महानगरीय प्रहरी काठमाडौंको टोली रोकायाको पछि लागेर पक्राउ गरेको थियो।  यसै क्रममा उनी शनिबार इलाममा पक्राउ परेका थिए।

प्रहरीले रोकायाले चलाएको ठगी शृङ्खलाको लामो फेहरिस्त सार्वजनिक गरेको छ। जसमा जागिर लगाइदिने, लोक सेवाको परीक्षामा पास गराइदिने, नर्सिङ काउन्सिलको परीक्षामा नाम निकालिदिने लगायतका ठगी छन्।

उनले लामो समय तत्कालीन निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीको चरित्र हत्यामा बिताए। भण्डारीले सरुवाका लागि ब्ल्याकमेल गरेको, एक हजार महिलालाई बलात्कार गरेको भनी भिडिओ बनाएर आफ्नो युट्युब च्यानलमा पोस्ट गरेका थिए। त्यो मुद्दा अनुसन्धानकै क्रममा छ।

त्यस्तै तत्कालीन एमाले जुम्लाका नेता देविलाल थापा र तिर्थ बुढाले मान्छे मारेर सुन लुटेको भनी बनाएको भिडियो सामाजिक संजालमा पोष्ट गरेका थिए।

प्रहरीका अनुसार उनले नर्सिङ काउन्सिलको परीक्षामा एक युवतीलाई उत्तीर्ण गराइदिन्छु भनी सत्तरी हजार रुपैयाँ मागे। रकम नदिएपछि पीडितको फोटो इटिड गरे। फेक आइडी खोलेर ब्ल्याकमेल गरे। ती युवतीले विद्युतीय अपराध शीर्षकमा जाहेरी दिएकी छिन्।

उनले सामाजिक सञ्जालको दुरूपयोग गरी नर्सिङ काउन्सिलका विभिन्न पदाधिकारी तथा अन्य व्यक्तिहरूको नाम तथा फोटो प्रयोग गरी सामाजिक सञ्जालमा नक्कली आइडी बनाएर पैसा असुल्ने गरेका थिए। पैसा नदिनेसँग गरिएको च्याटको स्क्रिनसट राखेर आफ्नो अनलाइनमा  समाचार बनाउँथे। युट्युबमा भिडिओ पोस्ट गरेर चरित्र हत्या गर्‍थे। 

काउन्सिल सदस्य जीता बरालले तीन लाख रुपैयाँ मागेको फेसबुक कुराकानी सार्वजनिक भएपछि विवादमा तानिएकी थिइन्। यसै प्रकरणमा पर्यटनमन्त्री योगेश भट्टराईकी श्रीमती तथा काउन्सिलका रजिस्ट्रार विन्दा घिमिरेको नामसमेत जोडिएको थियो।

‘साइबर अपराध धेरै देखिन्छ। मानिसको चरित्र हत्या गर्ने र पैसा माग्ने गरेको पीडितहरुले जानकारी दिएका छन्,’ एसएसपी ज्ञवालीले भने।

रोकायाविरूद्ध नेपाल मेडिकल काउन्सिलले समेत ठगीको जाहेरी दिएको छ। सो जाहेरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा विचाराधीन छ। सो मुद्दामा रोकाया फरार थिए।

उनले ठगी धन्दा यतिमा मात्रै सिमित छैन। 

सिसिइभिटीको परीक्षामा पास गराइदिन्छु भनी एक पीडितबाट ७० हजार रुपैयाँ ठगेको निवेदन पनि परेको छ। 

उनले सामान्य व्यक्तिदेखि भीआपीसम्मलाई पीडित बनाएका छन्। तीमध्ये त्यस्ता पीडित पनि छन्, जसलाई रोकायाले तिमीसँग बिहे हुनुभन्दा तिम्रो श्रीमतीसँग मेरो सम्बन्ध थियो, भगाइदिन्छु भनेर सामाजिक सञ्जालमा पोस्ट गरेर पीडित बनाए। पीडितका घर–परिवार समेतलाई डर, त्रास देखार धाकधम्की दिएका थिए।

अर्की एक युवतीलाई बिहे गर्ने बहानामा शारीरिक सम्बन्ध राख्दा उनले भिडिओ खिचेर सार्वजनिक गरि युवतीलाई पीडित बनाए। सो जाहेरी पनि प्रहरीमा विचाराधीन छ। उनले यतिसम्म गरे कि श्रीमान–श्रीमतीबीचको सम्बन्धमै उतारचढाव ल्याइदिए। 

अनुसन्धानकै क्रममा रोकायाले राष्ट्रिय अनुसन्धानको सहायक अनुसन्धान अधिकृतमा जागिर लगाइदिने भनी एक जनाबाट चार लाख र अर्काबाट दुई लाख रुपैयाँ ठगी गरेको पत्ता लागेको छ। 

सिसिइभिटी तथा नर्सिङमा नाम निकालिदिन्छु भनेर उनले यौन दुर्व्यवहार समेत गरेको फेला परेको छ। नक्कली आइडी बनाएर पनि ब्ल्याकमेल गर्ने,  ती आइडीमा उच्च पद हासिल गरेका व्यक्तिहरूको फोटो राख्ने लगायतका कामा माहिर रहेको एसएसपी ज्ञवालीले जानकारी दिए। 

‘उनी चिनजान भएजसरी आफैं च्याट गर्ने, च्याट देखाएर सम्बन्धित व्यक्तिलाई प्रभावमा पार्न खोज्ने, त्यसको विरोध गर्नेलाई सामाजिक सञ्जालमार्फत् चरित्र हत्या गर्ने गर्थे,’ उनले भने, ‘यस्तो कामधन्दा गर्न थालेको तीन वर्षमात्र भएको छ, तीन वर्षमा यतिका ठगी र अपराध गर्नु सानो अपराध होइन।’ 

रोकायाउपर विचाराधीन रहेका सबै जाहेरी पल्टाएर ठगी, साइबर अपराध लगायतमा अनुसन्धान थालिएको छ। 

‘यदि उनले आफूसँग भएको ज्ञानलाई सही सदुपयोग गरेको भए राम्रो व्यक्ति हुने थिए। तर, दुर्भाग्य उनले सीपको दुरुपयोग गरे। उनी विरुद्ध कारवाही गर्न बाध्य छौं,’ एसएसपी ज्ञवालीले भने।

उनी शुभलक्ष्मी अस्पतालको अध्यक्ष पनि हुन्। संविधान कलेज हालसालै दर्ता गरेका छन्। जसमा नर्सिङ, हेल्थ असिस्टेन्ट, फार्मेसी लगायतको पढाइ गराइने भनिएको छ भने उनले खिरिस निर्माण सेवा र संविधान निर्माण सेवा पनि आफ्नो नाममा दर्ता गरेका छन्। ती कम्पनीमार्फत् उनी ठेक्कापट्टा पनि गर्थे। 

पहिलो पटक भेट हुनेका लागि जुम्लाका पसल रोकाया सूचना प्रविधिमा दख्खल राख्ने एक इमान्दार, ‘मेहनती’ र सफल व्यक्ति हुन्। तर, केही वर्ष संगत गरिसकेकाहरुका लागि भने रोकायाको परिचय एक ‘बहुरुपी साइबर ठग’ भएको प्रहरीको दाबी छ।

उनले ठगीबाट मात्र विभिन्न बैंकमा दुई करोड रुपियाँ राखेको अनुसन्धानबाट खुलेको छ।

प्रकाशित मिति: : 2020-10-06 13:38:24

प्रतिकृया दिनुहोस्