राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लियो

दिल्ली क्यापिटल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा पुनः उक्लिएको छ।

शारजाहमा शुक्रबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

शारजाह क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थान १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३८ रनमा समेटियो ।

राजस्थानका राहुल टेवाटियाले सर्वाधिक ३८ रन बनाए । यस्तै याशभी जैशवालले ३४ रन जोड्दा कप्तान स्टिभ स्मिथले २४ रन बनाए । जोस बट्लर १३ रनमा आउट भए ।

राजस्थानलाई सस्तैमा समेट्न दिल्लीका कागिसो राबडाले ३ विकेट लिए । यस्तै रविचन्द्र आश्विन र मार्कुस स्टोनिसले २/२ विकेट लिए । अक्षर पटेल र एन्रीच नोर्ट्जेको नाममा १/१ विकेट रह्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।

दिल्लीका लागि शिम्रन हिटमायरले सर्वाधिक ४५ रन बनाए । यस्तै मार्कुस स्टोनिसले ३९ रन जोड्दा कप्तान श्रेयस आयरले २२ रन बनाए ।

ओपनरद्वय पृथ्वी श १९ र शिखर धवन ५ रनमा आउट भए । अक्षर पटेल १७ रन बनाउदा हर्सल पटेलले १६ रन जोडे।

राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए । यस्तै राहुल टिवाटिया, एन्ड्रयु टेइ र कार्तिक त्यागीले १/१ विकेट लिए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ६ खेलमा १० अंक जोडेको छ । दिल्लीको यो पाँचौ जित हो।

राजस्थानको भने यो चौंथो हार हो । राजस्थान ६ खेलमा ४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ।

दिल्लीले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई भने अझै मौका दिएको छैन। सन्दीप लगातार छैटौं खेलमा प्लेइङ सेट बाहिर रहेका हुन्।

अब सातौ खेलमा दिल्लीले आइतबार मुम्बईको सामना गर्नेछ। समान ६ खेल खेलेको मुम्बई ४ जितसहित ८ अंक जोडेर तालिकाको दोस्रो स्थानमा झरेको छ।

प्रकाशित मिति: : 2020-10-09 23:47:57

प्रतिकृया दिनुहोस्